माटो बचाऊ अभियानमा लागेका महर्जनको ‘उचित जैविक मल उद्योग’को नालीबेली
विराटनगर । यतिखेर हिउँदेबाली लाउने सिजन शुरु भएको छ । हिउँदेबालीका लागि बजारमा विभिन्न कम्पनीका मलहरू बिक्री वितरण भइरहेछन् । त्यसरी बिक्री वितरण भइरहेका मलहरू कत्तिको गुणस्तरयुक्त छन् भन्ने विषयमा सबै उपभोक्ताहरू सचेत र जानकार छैनन् । कुनै मल गुणस्तरको होलान् त कुनै गुणस्तरहीन पनि ।
उपभोक्ताहरू मल नपाएर समस्यामा परेको बेला उनीहरू जस्तोसुकै मल किन्न पनि बाध्य हुन्छन् । सरकारले नै मल अभावको दीर्घकालीन समाधान गर्न चाहेको देखिँदैन । त्यसका लागि सरकारले अहिलेसम्म पनि एउटा गतिलो र आधुनिक प्रविधियुक्त मल कारखाना खोल्न सकेको छैन । सरकार त विदेशबाट रासायनिक मल खरिद गर्नमा नै उद्दत छ । बरु मलको खाँचो टार्न निजी क्षेत्रबाट सानातिना प्रयासहरू जारी छन् ।
मोरङमा पनि धेरै ठाउँमा कम्पोष्ट वा जैविक मलको उत्पादन हुने गरेको छ । ग्रामथान, हरैंचा, पथरी-शनिश्चरे लगायतका ठाउँहरूमा भिन्नभिन्न निजी कम्पनीहरूले गैररासायनिक (जैविक वा कम्पोष्ट) मल उत्पादन गर्दै आएका छन् । तिनैमध्ये पथरीशनिश्चरे २ कालापानीमा उचित जैविक उद्योग सञ्चालनमा छ ।
यो उद्योग प्रदेश १ को राजधानी विराटनगरबाट ५४ किमिको दूरीमा छ । पूर्वपश्चिम राजमार्गदेखि डेढ किमी दक्षिणमा पर्दछ । राजमार्गबाट दक्षिण लाग्दा बोक्रे चोक लेखिएको पक्की प्रवेशद्वारा भेटिन्छ । सो द्वारबाट पस्नेबित्तिकै चौतारी सामुदायिक वन छ । त्यही वनको बाटो भएर जाने क्रममा सेल्फी रोड भेटिन्छ । जहाँ सालका विरूवा बाक्लै गरी हुर्किरहेको देख्न सकिन्छ ।
सेल्फीरोड कट्ने बित्तिकै एउटा सुन्दर गाउँ देख्न सकिन्छ । सो वस्तीको दायाँबायाँ केही एक÷डेढ तले पक्की र टिनले छाएका घरहरू पनि छन् । त्यहाँका बासिन्दाहरूले प्रायःजसो खेतीकिसानी र पशुपालना पेशा अँगालेका छन् । खेतमा हरियाली हुने गरी लहलह धानबाली हुर्किरहेको छ । तीे धान खेतमा कतिपयले रासायनिक मल हालेका छन् त कतिपयले जैविक वा कम्पोष्ट मल ।
त्यही गाउँको केही तल कालापानी भन्ने ठाउँ छ । त्यो ठाउँपुगेपछि मूल सडकबाट पूर्वपट्टिी शाखा कच्ची सडक छ । त्यही कच्ची सडक केहीबेर हिँडेपछि उचित जैविक उद्योगको साइनबोर्ड बिजुली लाइनको ट्रान्सफर्मरको खम्बामा झुण्ड्याइएको देख्न सकिन्छ ।
त्यहाँ पुग्दा उद्योगका सञ्चालक एवं प्राविधिक कृष्णचन्द्र महर्जन भेटिए । उनी सोही उद्योगको परिसरमा एउटा सानो टिनले छाएको पक्की घरमा बस्दै आएका छन् । सो उद्योग २०७३ मा पथरी-शनिश्चरे नगरपालिकाका प्रमुख दिलीपकुमार राईले शिलान्यास गरेका थिए । त्यसको एक वर्षपछि प्रदेश १ सरकारका मुख्यमन्त्री शेरधन राईले सो उद्योगको उद्घाटन गरे । यो उद्योगले १ बिघा क्षेत्रफल जमिन ओगटेको छ । सो जमिन १५ वर्षका लागि लिजमा लिएको छ । ५ वर्षसम्म वार्षिक २५ हजार रूपैयाँ जग्गा भाडा तिर्ने शर्त रहेछ । त्यसपछि प्रत्येक ५ वर्षपछि पाँच हजार रूपैयाँ थपिने सम्झौता भएको छ ।
यस उद्योगको अधिकृत पूँजी ३ करोड रुपैयाँ र चालु पूँजी १ करोड ५० लाख रुपैयाँ छ । यसमध्ये उद्योग संरचना तयार गर्न १ करोड रुपैयाँ खर्च भइसकेको छ ।
‘यो उद्योग खोल्नुको मूल उद्देश्य माटो, बचाउनु हो, माटो जोगाउनु हो,’ उद्योग सञ्चालक मर्जनले क्लिकमाण्डूसँग भने ‘यही सिलसिलामा मेचीमहाकाली हिँड्ने क्रममा यहाँका कृषक समूह र कृषि सहकारीहरूसँग भेट भयो । उहाँहरूले माग गरेका कारण यहाँ शाखा उद्योग खोलिएको हो ।’
यस शाखाको मुख्य उद्योग ललितपुरको गोदाबारी थेचोमा छ । पथरी–शनिश्चरे शाखा उद्योगसँग १५ वटा कृषि सहकारी र २ वटा कृषि समूहहरूले ५ वर्षअघि सम्झौता गरेका थिए ।
महर्जनका अनुसार यस उद्योगले सरकारी अनुदान लिएको छैन । एकपटक प्रदेश १ सरकारले डेढ करोड रुपैयाँ अनुदान दिने भनेर उसको रातो किताबमा यस उद्योगको नाम किटेरै उल्लेख गरेको थियो । तर, त्यो रकम पाउन मन्त्रालय धाउँदाधाउँदा त्यहाँका कर्मचारीले टिप्पणी नै उठएनन् । मुख्यमन्त्री राईले अहिले होइन पछि गरौंला भनेर रोकेको कर्मचारीबाट थाहा भयो । त्यसपछि त्यो रकम हामीलाई नदिएर मल किनेर किसानलाई अनुदान दिनु भन्ने प्रस्ताव पनि राख्दा पनि सुनुवाई भएन ।
उत्पादन क्षमता
यस उद्योगले प्रतिघण्टा १ टन मल उत्पादन क्षमता राख्छ । तर, बजारको माग अनुसार उत्पादन गर्नुपर्दा वार्षिक ४ देखि ५ सय टन उत्पादन हुन्छ । सरकारी सहयोबिना एक्लो प्रयासका बावजुद थोरै मल उत्पादन गर्नु परेको उनको गुनासो छ । यस उद्योगबाट उत्पादित मल प्रतिकिलोग्राम १०० रुपैयाँ पर्दछ । सरकारले नेपाली किसानलाई नेपालमा उत्पादित मल प्रयोग गर्न प्रोत्साहन गर्नुको सट्टा विदेशी मल खरिदमा जोड दिएको उनको आरोप पनि छ।
अरु मल बजारमा ३५ रुपैयाँ केजीमा बिक्री भइरहेको भन्ने प्रश्नमा उनी भन्छन् ‘मलको गुणस्तर मुख्य कुरा हो, हामीले उत्पादन गरेको मल जसले प्रयोग गरेको छ उसले सजिलै खरिद गर्दछ । यो मलबाट जुनसुकै फसल दोब्बर उत्पादन गर्न सकिन्छ ।’
कुन-कुन तत्वको मिश्रण ?
यो मल अरूभन्दा महँगो हुनुमा धेरै कारणहरू रहेका छन् । यस मलमा तोरी र चिउरीको पिना, कृषि चुन, हड्डीको धुलो ब्राण्ड (ढुटो) र जीवाणु गरी ९ वटा तत्व मिसाएको छ । यसको अलवा प्रेस मड पनि प्रयोग हुन्छ । प्रेस मड चिनी मिलबाट ल्याइन्छ । यो १ टिप गाडीको १ लाख २० हजार रूपैयाँ पर्दछ । १ लाख २० हजार रूपैयाँमा २१ टन अर्थात २१ हजार किलोग्राम हुन्छ ।
कृषि चुन धादिङ, चिउरीको पिना चितवन र तोरीको पिना काठमाण्डौंबाट ढुवानी गरिन्छ । चिउरीको पिना ३५ रूपैयाँ, तोरीको पिना ४५ देखि ५५ रूपैयाँ र कृषि चुन १५ रूपैयाँ खरिद मूल्य पर्दछ । मल बनाउने यी कच्चा पदार्थको ढुवानीका लागि दूरी टाढा भएका कारण पनि महँगो भएको उनको भनाइ छ ।
उनको भनाइमा सरकारले विदेशबाट खरिद गर्ने युरिया दाना मलको मूल्य प्रतिकिलोग्राम १ सय १२ रूपैयाँ पर्दछ । तर, अनुदानमा किसानलाई २० रूपैयाँ बेचिन्छ । यासो गर्दा सरकारलाई ९२ रूपैयाँ घाटा हुन्छ । युरिया मल रासायनिक हो र यसले माटोको उर्बर शक्तिमा ह्रास ल्याउँछ ।
‘हाम्रो चुनौति भनेको रासायनिक मलसँगको हो, हामी रासायनिक मल विस्थापन गर्न चाहन्छौं,’ महर्जनले भने ।
जैविक मल हालेर रासायनिक मलको प्रयोग हटाइ माटो बचाउनु भन्ने सन्देश लिएर कृषिमन्त्री, कृषि सामग्री संस्थानको निर्देशकसँग भेटेर कुरा राख्दा पनि सुनुवाइ नभएको उनको गुनासो छ ।
प्रयोग विधि र भण्डारण
सर्वप्रथम त जैविक मल छरेर खनजोत गर्नु पर्दछ । त्यसरी तयारी अवस्थाको माटोमा धान, गहुँ तोरीजस्ता फसल लगाउन सकिन्छ । एक कठ्ठा जमिनमा ८ किलोग्राम जैविक मल हाल्नु पर्छ । फरक फरक बालीहरूमा जैविक मल लगाउने तरिका पनि फरक हुन्छ ।
धानबालीको लागि बीउ राख्दा वा रोप्दा जैविक मल छर्नु पर्छ । छरेको मललाई सबैतिर बराबरी हुने गरी जोतेर वा खनेर हिल्याइन्छ । हिल्याएको १ देखि २ घण्टासम्म खेतको पानी नकटाई राखिन्छ । त्यसपछि बीऊ छर्ने वा धान रोप्ने गर्नु पर्छ ।
तर, सुख्खा खेतबारीमा गहुँ, तोरी, फापरजस्ता बाली लगाउनुभन्दा ५ देखि ७ दिन अगाडि जैविक मल लगाइ खनजोत गरी छोड्नु पर्दछ । त्यो समय पूरा भएपछि बीऊ छर्ने वा बाली लगाउने गर्नु पर्दछ ।
जैविक मलमा जीवाणुहरू हुन्छन् । प्याकेटमा सुसुप्त अवस्थामा रहेको जैविक मलको जीवाणुहरू बाहिरी हावाको सम्पर्कमा आएपछि पूर्णरूपमा सक्रिय हुन्छन् । यस अवस्थामा बीऊ वा बिरुवासँग प्रत्यक्ष सम्पर्कमा हुँदा त्यसलाई पचाउन सक्दैन । जसले गर्दा बीऊ नउम्रिने र बिरुवा मर्ने हुन्छ । यसबाट बच्न जैविक मल पूर्णरुपमा माटो र माटोमा भएको प्राङ्गारिक पदार्थसँग घुलनशील भएपछि मात्र बीऊ वा बिरुवाहरूले लिन सक्दछ ।
तरकारी र फलफूलमा भिन्न प्रयोग विधि
बोट बिरुवामा जैविक मल गोलो घेरामा लगाउनु पर्छ । जस्तै तरकारी बालीमा बेर्ना सार्नुअघि खाल्डोमा कम्पोष्ट मलसँगै जैविक मल लगाउनु पर्दछ । त्यसलगत्तै बिरुवामा पानी लगाउनु पर्दछ । तरकारी बालीको ३ देखि ४ इन्च टाढा गोलो घेरा गरेर जैविक मल प्रत्येक ७ देखि १० दिनमा लगाउनु पर्दछ ।
फलफूलमा अलिक फरक तरिका अपनाउनु पर्दछ । प्रत्येक वर्ष बिरुवामा पालुवा लाग्नुभन्दा अगाडि बोटको झाङ अनुसार गोलो खाल्डो खनेर कम्पोष्ट मलसँगै जैविकक मल लगाउनु पर्छ । त्यसपछि पानी लगाउनु पर्छ । यसरी प्रयोग गरेको मल गोठे मलभन्दा २ गुणा बढी प्रभावकारी हुन्छ ।
जोडर्नका रूपमा प्रयोग
जैविक मलाई जोर्डनका रूपमा पनि प्रयोग गर्न सकिन्छ । गाई–भैंसीको गोबर, बाख्राको जुतो, बंगुर–सुँगुरको लिदी, कुखुराको सुली र सड्ने गल्ने झारपात, पतिङ्गरहरू १ सय किलोग्राम बराबर १ किलोग्राम जैविक मल जोर्डनको रूपमा प्रयोग गरी सुधारिएको कम्पोष्ट मल बनाउन सकिन्छ ।
जैविकबाटै झोल मल पनि
जैविक मलको मिश्रणबाट झोल बनाउन पनि सकिन्छ । सर्वप्रथम त गाई–भैंसी, बाख्रा, बंगुर– सुँगुरको पिसाब एउटै भाडोमा जम्मा गर्नु पर्दछ । जम्मा गरिएको सो पिसाब १ सय लिटर बराबर १ सय ग्राम जैविक मल मिसाइ झोल मल बनाउन सकिन्छ । यसरी बनाइएको १ लिटर झोल मल बराबर ५ लिटर पानी मिसाएर बालीहरूमा प्रयोग गर्न सकिन्छ ।
जैविक मलमा पाइने खाद्य तत्व
जैविक मलमा विभिन्न किसिमका खाद्य तत्वहरू पाइन्छन् । जसमा ८.७२ प्रतिशत नाइट्रोजन, ३.१४ फस्फोरस, १.५ प्रतिशत र ६.६ प्रतिशत पिएच हुन्छ । जैविक मलमा विभिन्न किसिमका सुक्ष्म जीवाणुहरू हुन्छन् । जसमा प्रकाश सश्लेषण व्याक्टेरिया, नाइट्रोजन फिक्सिङ व्याक्टेरिया, इस्टर्न र ल्याक्टिक रहेका हुन्छन् ।
भण्डारण अवधि कति ?
जैविक मल उत्पादन गर्नुको मूल उद्देश्य माटो जोगाउनु नै हो । उत्पादनमा ह्रास आउन नदिन अनि उत्पादन भएका बढी स्वास्थ्यकर र बढी भण्डारण गर्न सकिने हुन्छ । सामान्यतया यो मल उत्पादन गरेको मितिले २ वर्षसम्म भण्डारण गरेर राख्न सकिन्छ । राम्रोसँग सुरक्षितसँग राख्न सकियो भने ५ वर्षसम्म भण्डारण गर्न सकिने सञ्चालक महर्जनको भनाइ छ ।
बजार कहाँ ?
यस उद्योगबाट उत्पादित मल प्रदेश १ को विभिन्न जिल्लामा जान्छ । यसको अलवा काठमाडौं, सुर्खेत, बुटवल, कैलाली लगायतसम्म पनि ढुवानी गरिन्छ । यो मल कृषि समूह, कृषि कम्पनी र सहकारी संस्थाहरूले लान्छन् । उनीहरूमार्फत् किसानलाई वितरण गरिन्छ । त्यस्तै कृषि ज्ञान केन्द्रहरूले पनि लान्छन् ।
कृषि सहकारी संस्थाहरूले कृषि क्षेत्रमा न्यून लगानी गरेका कारण पनि देशको कृषि बालीमा मल–बीऊको उचित ओसारप्रसार कार्य सहीरूपमा सञ्चालन हुन नसकेको महर्जनको अनुभव छ । ९५ प्रतिशत कृषि सहकारीहरूले ऋण तथा बचतको काम गरेका छन् । बाँकी ५ प्रतिशतले मात्र वास्तविक कृषिसम्बन्धी काम गरेको अभियनका कदौरानमा उनको भोगाइ छ ।
जैविक मलका चुनौति
बजारमा पाइने सस्तो दाम र कम गुणस्तरका रासायिक तथा जैविक मल बिक्री वितरण हुनु मुख्य चुनौति हो । संघीय सरकारले स्वदेशी उत्पादनलाई बढावा दिनुको सट्टा विदेशी कम्पनीका रासायनिक मल खरिद गर्नु हो । त्यसो गर्दा सरकारले कमिशन पाउँछ । भारतीय कम्पनीले उत्पादन गरेका कम गुणस्तरका रासायनिक मल तस्करी गरेर वा सेम्पलको नाममा बजारमा भित्रिनु अर्को चुनौति हो । स्थानीय वा प्रदेश सरकारले जैविक मलको प्रयोगलाई प्रोत्साहन र प्राथमिकता नदिनु पनि चुनौति नै हो ।
कामदार अभाव
यस उद्योगमा काम गर्न कामदार पाउन निकै मुस्किल छ भन्छन् सञ्चालक महर्जन । केही समय काम गरेर अनुभव बटुली सकेका कामदारहरू विदेश पलायन हुने अवस्था छ । त्यसो हुनुमा विदेशिने हुटहुटीले पनि हो । अनि यो उद्योग बाह्रै महिना सञ्चालनमा नआउनु पनि कामदार अभाव हुनु मुख्य समस्या हो । मलको माग भएको सिजनमा मात्र उत्पादन गर्नुपर्ने हुन्छ अरू बेला बन्द हुन्छ ।
खासगरी, बर्खे र हिँउदे बाली लगाउने बेलामा मलको माग हुने हो । अहिले उद्योगमा चार जना कामदार कार्यरत छन् । उनीहरू उद्योगमा आइपर्ने सबै काम गर्न पछि पर्दैनन् । बोरा बोक्ने, मिक्सिङ गर्ने, मेसिन चलाउने, प्याकेजिङ गर्नेलगायतका काम गर्न सक्षम छन् ।
उद्योगमा भेटिएकी अञ्जना श्रेष्ठ भन्छिन्, ‘यति धेरै दुःख गरेर उत्पादन गरेको मलको भाउ चाहिं कति थोरै राखेको होला । म चाहिं यो उद्योगको मालिक भए १ किलोग्रामको १ सय होइन २ सय रूपैयाँ मलको मूल्य राख्थेँ ।’
उनीहरूले त्यहाँ काम गरेवापत दैनिक ४ सय रूपैयाँ ज्याला पाउँछन् । ‘ज्याला कम भयो भनेर पनि कामदार आउन मान्दा रहेनछन्’ कामदार कल्पनाले भनिन् ।’
हुन त यस उद्योगमा सञ्चालक महर्जन पनि उत्तिकै खटिन्छन् । अबको ५ वर्षभित्र प्रदेश १ लाई २५ प्रतिशत जैविक मल उपलव्ध गराउने उनको सोच छ । दिगो उत्पादन, दिगो कृषि बन्न मल, बीउ गुणस्तर र उन्नत हुनु पर्दछ भन्ने उनको मान्यता छ । नेपालको माटो ५ प्रतिशत अर्गानिक हुनुपर्नेमा रासायनिकक मलको प्रयोगले १ प्रतिशत पुगेकोमा उनी चिन्तित पनि छन् ।
उद्योग छेउमै जैविक मल हालेर धान रोपिएका छ । त्यसको साँधमा रासायनिक मल हालेको धान पनि रोपिएको छ । जैविक मलको तुलनामा रासायनिक मल हालेको धानको गावा निकै अग्लो देखिन्छ । कुन गावामा धान राम्रो फल्ने हो, त्यो भने हेर्न बाँकी नै छ । किनकि अहिले नै त्यहाँ रोपिएको धान पाक्ने बेला भएको छैन ।
प्रयोगशाला परीक्षण
यस उद्योगले उत्पादन गरेको मल हिउँदे र बर्खे गरेर दुई बाली नै सरकारी प्रयोगशालामा परीक्षण गर्नु पर्दछ । तर, विदेशी मल बिनापरीक्षण शक्ति र पहुँच हुनुले प्रयोगमा ल्याइरहेको सञ्चालक महर्जनको आरोप छ ।
नाफामा छैन उद्योग
स्वपूँजीमा सञ्चालित यो उद्योगले मल बिक्री गरेको पाँच वर्ष पुग्न लागेको छ । मल बेचेर अहिलेसम्म नाफा निकाल्न नसकिएको उनको भनाइ छ । त्यही भएर अहिलेसम्म ढुवानी गर्ने सवारी किन्न नसकेको उनले बताए ।
सहजीकरणमा जोड
यस उद्योगले नाफालाई मात्र बढवा दिएको देखिँदैन । कृषकहरूलाई कृषिमा जैविक र रासायनिक मलका फाइदा र बेफाइदाका बारेमा सचेतना जगाउने काम पनि गर्दछ । त्यसका लागि कृषि समूह र सहकारीकर्मीहरूलाई प्रशिक्षण पनि दिने गरेको छ ।
उद्योगमा आर्थिक लगानी बढाउन सके राम्रो बजारीकरण गर्न सहज हुने महर्जनको भनाइ छ । लगानी बढेसँगसँगै स्थानीय तह र प्रदेश सरकारहरूको सहयोग र सहजीकरण त्यत्तिकै महत्वपूर्ण हुने उनी बताउँछन् ।
महर्जनले यो पेशा अँगालेको २०५४ सालदेखि हो । उनी २०४८ सालमा जर्मन गएका थिए । त्यहीँबाट माटोको बारेमा पढे र जैविक मलसम्बन्धी ज्ञान हासिल गरेका हुन् । २०६९ सालदेखि उचित जैविक उद्योगमा निरन्तर कार्यरत छन् । माटोलाई नबुझी दिंदा उनी निकै दुःखी हुन्छन् अनि मलको प्रयोग गरेर यति फाइदा भयो भनेर अरु कसैले भनि दिँदा निकै नै खुसी हुन्छन् ।
प्रयोगकर्ताको चिन्ता
जैविक मलको प्रयोगबारे पथरी-शनिश्चरे १० को उत्साहित साना किसान संस्था लिमिटेडकी अध्यक्ष विन्दु राईले सरकारी अनुदान नहुँदा किसानले खरिद गर्न गाह्रो भएको छ भन्छिन् ‘मैले पनि थोरै ठाउँमा जैविक मल प्रयोग गरेको नतिजा राम्रो दियो ।’
उनका अनुसार, यो मल किसानले लगातार तीन वर्ष प्रयोग गरेपछि राम्रो फाइदा भएको बताएका छन् । यसको प्रयोग गरेको पहिलो वर्ष चाहिं युरिया डिएपी हालेजत्तिको पनि फल्दैन । दोस्रो वर्ष युरिया डिएपी हालेसरह फल्छ । तेस्रो वर्षदेखि उत्पादन दोब्बर हुन्छ । माटो उर्बर बन्दै जान्छ अनि मलको मात्रा पनि घटाउँदै लैजानु पर्छ ।
तर, जैविक मलको ठीक उल्टो रासायनिक मल हरेक वर्ष मात्रा बढाउँदै लानु पर्दछ ।
‘हामीले अर्गानिक अभियान पनि सञ्चालन गर्यौं । तर अझै पनि किसानको विश्वास जित्न सकिएको छैन । पहिलो वर्ष जैविक मलको प्रयोग गरेको किसान बाली केही पहेँलो भएको देख्नेबित्तिकै हरियो बनाउन रासायनिक मल हालिदिन्छन् ।’ उनले सुनाए।
अघिल्लोपल्ट स्थानीय पालिकाले किसानलाई ६० प्रतिशत अनुदान दिएको थियो । यसपटक एक रूपैयाँ पनि छुट्याएन । त्योबेला हाम्रो संस्थाले पनि १० लाख रूपैयाँ पाएको थियो । त्यही पैसाले ४० प्रतिशत किसानसँग रकम लिएर उचित जैविक मल किनेर किसानलाई बाँडियो ।
अहिले अनुदान नपाउँदा पनि अधिकांश किसान निराश छन् । आर्थिक अवस्था कमजोर भएका किसानले सय रूपैयाँ किलोग्रामको मल हाल्न सक्दैनन् । स्थानीय नारायण पाण्डेले जैविक मल प्रयोग गरेको ३ वर्ष भयो । उनी निकै उत्साहित छन् । छिमेकीले रासायनिक मल हालेको धान हावाले लडेको छ । उनले जैविक मल हालेकोले लडेन । रासायनिक मल हालेको धानको बालामा भुस भेटिन्छ, रोग पनि छिटो लाग्छ तर जैविक मलबाट उत्पादित धानमा रोग कम लाग्छ, भुसै हुँदैन, बाला झरिलो पनि हहुने उनको अनुभव छ ।
किसानलाई चाहिने यो जैविक उद्योग बचाउन गाह्रो भएको सहकारी संस्थाकी अध्यक्ष राईको भनाइ छ । यस उद्योगकको मल खपत भएन भने बन्द पनि हुन सक्छ । माटोको उर्बर शक्ति बनाएर उत्पादन राम्रो र प्रभावकारी भएको अवस्थामा राज्यको ध्यान जैविक मल उत्पादनतर्फ अभियानकै रूपमा जानुपर्ने उनको तर्क छ ।
आगामी योजना
यस उद्योगको विशेषता भनेको जीवाणु पनि आफैं उत्पादन गर्नु हो । बढीभन्दा बढी ठाउँहरूमा सचेतना फैलाउनु, प्रत्येक प्रदेश सरकारसँग सहयोग र सहकार्य गर्न प्रस्ताव राख्ने, अर्गानिक प्रदेशको घोषणा गरेको कर्णाली प्रदेशमा जाने योजना बनेको महर्जनको भनाइ छ । त्यस प्रदेशका किसानहरूबीच चेतना फैलाउने र बजारीकरण गर्ने सोच छ । त्यसका लागि वडा कार्यालय, कृषि समूह, कृषि सहकारी र ज्ञान केन्द्रसँग सहकार्य हुने उनले बताए । यी कार्य गर्नलाई लगानी पनि बढाउनुपर्ने उत्तिकै चुनौति पनि छ ।