नेपाल फर्कने तरखर गरिरहेको बताएका सन्दीप कहाँ छन् ?



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू नेपाल फर्कने तयारीमा रहेको बताएका छन् ।
आइतबार राति सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै आफूविरुद्धको उजुरी डटेर सामना गर्न नेपाल फर्किने तरखरमा रहेको उल्लेख गरेका हुन् ।

लामिछानेले आफूविरुद्ध उजुरी परेकोबारे एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आएको र पक्राउ पुर्जी जारी भएको समाचार र जाहेरी सार्वजनिक हुनुले आफूलाई मानसिक रुपमा विछिप्त बनाएको उल्लेख गर्दै के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था आफ्नो नरहेको उल्लेख गरेका छन् ।

उनले भनेका छन्, ‘यी सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबीको कारणले मैले मलाई आइसोलेसनमा राखेर बसेको छु । झुट्टा जाहेरीकै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तरखरमा छु ।’

तर सन्दीपले आफू कहाँ छु भन्नेबारे भने केही खुलाएका छैनन् । आफूले कानुन व्यवसायीसँग परामर्श गरिरहेको र छिट्टै नेपाल फर्किने उनले बताएका छन् ।

नाबालिग बलात्कार आरोपमा जाहेरी परेसँगै प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो । राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बनमा परेका कप्तान सन्दीप नेपाल फर्कने भने पनि त्यसपछि सम्पर्कविहीन बनेका हुन् । १७ वर्षीया एक किशोरीले लामिछानेविरुद्ध भदौ २१ मा जबर्जस्ती करणीको कसुरमा प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । काठमाडौं जिल्ला अदालतले त्यही दिन लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

यस्तो छ सन्दीपको स्टेटस

१६ वर्षको उमेरमा राष्ट्रिय क्रिकेट टिममा समावेश हुन पाउनु मेरो सौभाग्य हो। त्यो मेरो थोरै मेहनत, परिश्रमले आर्जन गर्न सकिने कुरा थिएन । सकारात्मक सोच, अथक मेहनत र आफुलाई सुधार्न गरिएको निरन्तर प्रयासका साथै मलाई साथ सहयोग गर्नु हुने मेरा परिवार, साथिभाई र अग्रजहरु लगायत मेरो पुरै क्रिकेट टिमको साथ, सहयोग र आर्शिवादले म आजको अवस्था सम्म पुग्न सकेको हुँ ।

म सदैव विश्व क्रिकेट जगतमा नेपालको नाम उच्च राख्ने प्रोरणाले अघि बढेको छु । मैले आफ्नो मेहेनतले नेपालको नाम चिनाउन पाउँदा गौरवान्भित महसुस गर्दछु। मविरुद्ध भदौ २१ गते परेको जाहेरी मैले भदौ २२ गते थाहा पाएँ । म विरुद्द परेको झुट्टा जाहेरीको विषयमा विद्युतिय सञ्चार माध्यम र समाजिक सञ्जालमा एकलौटी तरिकाले, सत्य तथ्य नबुझि झुट्टा जाहेरी मात्रको आधारमा मेरो चरित्रमा गम्भिर आँच आउने गरी समाचारहरु आए । मेरो नाउँमा वारेण्ट जारी भएको समाचार र मविरुद्ध परेको जाहेरी सार्वजनिक हुनुले मलाई मानसिक रुपमा विछिप्त बनायो, के गर्ने के नगर्ने भन्ने सोच्न सक्ने अवस्था मेरो रहेन ।

यी सब कुराले मलाई एकातिर मानसिक असर गर्यो भने अर्को तिर म बिरामी अवस्थाबाट गुज्रिन पर्यो र मानसिक तनाव र स्वास्थ्य खराबिको कारणले मैले मलाई Isolation मा राखेर बसेको छु। झुट्टा जाहेरी कै भरमा अपराधीको चित्रणले मलाई मानसिक र शाररीक रुपमा प्रभावित भई असन्तुलित अवस्थामा पुगि डाक्टरहरुको सरसल्लाहामा आफुलाई सामान्य अवस्थामा ल्याउँदै आएको छु र मेरो स्वास्थ्यमा क्रमिक सुधार आउँदै छ र जति सक्दो चाँडो नेपाल फर्किएर म विरुद्दको झुट्टा उजुरीको डटेर प्रतिवाद गर्न नेपाल फर्किने तर्खरमा छु ।

क्रिकेटप्रति सानै देखि जुनुन भएको म एउटा सामान्य परिवारको मानिस हुँ। मेरो लागि जीवनमा क्रिकेट र मेरो देश मात्रै प्राथमिकतामा रहे। मलाई लाग्छ नेपाली क्रिकेटलाई अन्तराष्ट्रिय रुपमा चिनाउन मेरो पनि भूमिका रहेको छ चाहे त्यो खेलाडीको रुपमा होस् वा चाहे कप्तानको रुपमा। राष्ट्रको लागि दीलो ज्यानले खेलिरहेको म एउटा इमान्दार क्रिकेट खेलाडी आज एउटा गम्भीर षडयन्त्रको सिकार भएको महसुस भएको छ ।

मेरो अनुपस्थितीमा मलाई अपराधी सावित गराउने झुट्टा झुट्टा जाहेरी प्रपञ्चहरुको मैले कानुनी लडाइँ लड्ने छु। मैले बुझे सम्म नेपालको संविधानले कसूर प्रमाणित नभए सम्म कसूरदार नमानिने व्यवस्था गरेको छ साथै संविधानले सम्मानपूर्वक बाँच्न पाउने, यातना विरुद्दाको हक, गोपनीयताको हक, स्वास्थ्य सम्बन्धीको हक र मेरो कानून व्यवसायीसँग कानूनी परामर्श गर्न पाउने हक समेत रहेको बुझेको छु ।

म र नेपाली क्रिकेट प्रति सद्भाव राख्ने आदरणीय बुवा आमा, दाजुभाइ, मित्रहरु र क्रिकेटप्रेमीहरु, मेरा समर्थकहरु प्रति आभार व्यक्त गर्दछु र म वा मविरुद्ध अफवाह फैलाउने समाचारहरु सम्प्रेषण नगरी दिन हुन सम्पूर्णमा विनम्र अनुरोध गर्दछु ।


क्लिकमान्डु