सेयर बजारमा टिकेन हरियाली, कारोबार रकममा भने सुधार



काठमाडौं । सेयर बजारमा बुधबार देखिएको हरियाली एक दिन पनि टिक्न सकेन । दशैं नजिकीएसँगै बजारमा सुधार देखियो भनेपनि बिहीबार भने बजारमा त्यो सुधार टिक्न सकेन । बजार घटेपनि कारोबार रकम भने बढेको छ ।

बजार मापन गर्ने सूचक ५७ अंकले घटेर परिसूचक १९२४.४८ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सूचक ११.२३ अंकले घटेर ३७४.१३ बिन्दुमा रोकिएको छ ।

यो दिन २३२ कम्पनीको ६९ लाख ४० हजार ५९६ कित्ता सेयर २ अर्ब १२ करोड ५६ लाख ५५ हजार ७८७ रुपैयाँको सेयर किनबेच भएको छ ।

बुधबार सबै समूहको उपसूचकमा हरियाली छाएको भएपनि बिहीबार सबै समूहको उपसूचक राताम्मे भएको छ । बैंकिङ समूहको उपसूचक २४.३२, विकास बैंक समूहको १६९.३८, वित्त कम्पनीको ९०.९१, जलविद्युत १००.४०, जीवन बीमा १७७.१२, उत्पादन तथा प्रशोधन १५९.०७, माइक्रोफाइनान्स १३९.५९, निर्जीबन बीमा समूहको उपसूचक १९६.६८ अंकले घटेको छ ।

बजार राताम्मे बन्दा सिटिजन म्यूचुअल फण्ड–२ मिर्मिरे माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२, सनराइज ब्लुचिप फण्डका लगानीकर्ताले कमाएका छन् भने एनआईसी एसिया फ्लेक्स क्याप फण्ड, समृद्धि फाइनान्स, स्वेत गंगा हाईड्रोपावर, अपरसोलु हाईड्रो, लिबर्टी इनर्जीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमका आधारमा लक्ष्मी बैंक अग्रस्थानमा रहेको छ । बैंकको २१ करोड ५० लाख ३३ हजार १९० रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा रिडी पावर कम्पनी र दोस्रो स्थानमा अपी पावर कम्पनी रहेका छन् ।


क्लिकमान्डु