भैंसेपाटीमा ५२ वटा युनिटको हाउजिङ बनाउँदै सीजी हिल्स, ४३ प्रतिशत काम सकियो



काठमाडौं । सीजी हिल्स प्रालिले भैंसेपाटीमा ५२ वटा युनिटको हाउजिङ निर्माण गरिरहेको छ । सीजी ग्रुपअन्तर्गतको सीजी हिल्सले ‘सीजी प्रिमियम हिल्स’ नाममा भैंसेपाटीमा हाउजिङ निर्माण गरिरहेको हो ।

कम्पनीले सन् २०१८ देखि आयोजना शुरु गरेको थियो । कम्पनीले सन् २०२२ सम्ममा ४३ प्रतिशत भौतिक प्रगति गरिसकेको छ । अहिले १४, १५ युनिट हाउजिङको सब-सर्फेसडकाे कार्य अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ ।

कम्पनीले ग्राहकले गरेको बुकिङ र भुक्तानीको आधारमा निर्माण कार्य अगाडि बढाउने गर्छ । त्यसैले, करिब ५० प्रतिशत काम ग्राहकले गरेको भुक्तानीबाट हुने भएकाले सोहीअनुसार निर्माण कार्य हुने गरेको कम्पनीको भनाइ छ ।

त्यस्तै, पछिल्लो समय निर्माण सामग्रीको मूल्यवृद्धि र समयअनुसार आयोजनाको मूल्य २० प्रतिशत बढेको र यसले गर्दा आयोजना निर्माणमा असर पारेको कम्पनीले जनाएको छ ।

चौधरी ग्रुपको सीजी डेभलपर प्रालिको ५० प्रतिशत हिस्सा रहेको कम्पनीले यसअघि काठमाडौं रेसिडेन्सी, माउन्ट भ्यू रेसिडेन्सी र सीजी हिल्स हात्तिगौंडामा निर्माण कार्य सम्पन्न गरिसकेको छ ।

कम्पनीले निर्माण गरिरहेको आयोजनाको मूल्य २० प्रतिशत वृद्धि भएकाले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ९० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ८५ करोड रुपैयाँ अर्थात् एबीबी र अल्पकालीन कर्जाका लागि ५ करोड रुपैयाँ अर्थात् एफोरको रेटिङ गराएको छ ।

कम्पनीले यसअघि ६० करोड रुपैयाँको रेटिङ गराएको थियो ।


क्लिकमान्डु