गभर्नर अधिकारी सार्फीको उपाध्यक्ष चयन



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी एशिया रिजनल फाइनान्सियल इन्क्लुजन इनिसिएटिभ (सार्फी) को उपाध्यक्ष चयन भएका छन् ।

जोर्डनको डेड सीमा आयोजित ‘ग्लोबल पलिसी फोरम, २०२२’मा सहभागी हुन गएका अधिकारी सार्फीको उपाध्यक्ष चयन भएका हुन् । सेप्टेम्बर ७ मा आयोजित एक समारोहबीच सार्फीको औपचारिक सुरुवात भएको थियो ।

सो समारोहमा एलाइन्स फर फाइनान्सियल इन्क्लुजन (एएफआई) मा आवद्ध केन्द्रीय बैंक तथा अन्य संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।

उक्त कार्यक्रमबाट अधिकारी उपाध्यक्ष चयन भएका हुन् । माल्दिभ्सका केन्द्रीय बैंकका गभर्नर अलि हसिम अध्यक्ष चयन भएका छन् ।

सार्फीको औपचारिक शुभारम्भको अघिल्लो दिन सेप्टेम्बर ६ मा आयोजित समारोहमा माल्दीभ्स मनिटरी अथोरिटी र नेपाल राष्ट्र बैंकका गभर्नर, स्टेट बैंक अफ पाकिस्तान र बङ्गलादेश बैंकका डेपुटी गभर्नर तथा एलायन्स फर फाइनान्सियल इन्क्लुजनका कार्यकारी निर्देशक डा. अल्फ्रेड ह्यानिङले ‘सार्फी चार्टर’मा हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा बङ्गलादेशको माइक्रो क्रेडिट रेगुलेटरी अथोरिटी, रोयल मनिटरी अथोरिटी अफ भुटान र सेन्ट्रल बैंक अफ श्रीलङ्काका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।

दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको प्रवद्र्धनका निम्ति नीतिगत व्यवस्थाको तर्जुमा र सोको कार्यान्वयनलाई सबल बनाउने सामूहिक अभ्यासस्वरूप सार्फीको शुभारम्भ भएको जनाइएको छ।

सार्फीअन्तर्गत क्षेत्रीयस्तरमा ज्ञान आदानप्रदान, क्षमता अभिवृद्धि र संयुक्त सिकाइ अभ्यास, प्राविधिक सहायताको कार्यान्वयन, विश्वव्यापी र क्षेत्रीयस्तरका असल अभ्यासको अनुकरण गर्दै सबै वर्गमा वित्तीय समावेशीकरणलाई प्रवद्र्धन गर्नेलगायतका रणनीतिक स्तम्भहरू तय भएका छन् ।

यसअन्तर्गत दक्षिण एसिया क्षेत्रमा वित्तीय समावेशीकरणको प्रवद्र्धनका निम्ति सन् २०२३ – २०२५ सम्म कार्यान्वयन गर्नेगरी विभिन्न कार्ययोजनाहरू प्रस्ताव गरिएका छन् ।

‘ग्लोबल पलिसी फोरम’ को उद्घाटन जोर्डनका प्रधानमन्त्री डा. बिशेर अल–खसानेहले गरेका थिए ।


क्लिकमान्डु