मर्जर पारित गर्न सानिमा जनरल र जनरल इन्स्योरेन्सले बोलाए विशेष साधारणसभा



काठमाडौं । एक आपसमा मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सले विशेष साधारणसभा बोलाएका छन् ।

यी दुवै कम्पनीले असोज ११ गते बिहान ११ बजे विशेष साधारणसभा बोलाएका हुन् । सानिमा जनरल इन्स्योरेन्सले सभा कुण्डलीनी दरबार बैङक्वेट, चण्डोल, काठमाडौँमा र जनरल इन्स्योरेन्सले अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बोलाएका हुन् ।

सभाले एक आपसमा गाभ्ने/गाभिने, मर्जरपश्चात् बन्ने निर्जीवन बीमा व्यवसाय गर्ने कम्पनीको नाम सानिमा जिआइसी इन्स्योरेन्स कायम गर्ने, डिडिएका आधारमा निर्धारण गरिएको सेयर अनुपात १ बराबर १ कायम गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

गाभिएपश्चात संस्थापक तथा सर्वसाधारण सेयरधनीको अनुपात ५१:४९ कायम गर्ने, प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितलाई अख्तियारी दिने लगायतका प्रस्तावहरू पारित समेत सभाले पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि यी दुबै कम्पनीले असोज ६ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले सो सभामा सहभागिता जनाउन सक्नेछन् ।

हाल सानिमा जनरल र जनरल इन्स्योरेन्सको चुक्ता पुँजी १/१ अर्ब रूपैयाँ छ । नयाँ बन्ने कम्पनीको संयुक्त चुक्ता २ अर्ब रूपैयाँ पुग्ने छ । बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई आगामी चैत मसान्तभित्रमा साढे २ अर्ब रूपैयाँ पुँजी कायम गर्न निर्देशन दिएको छ । नियामकले तोके बमोजिमको पुँजी कायम गर्न यी कम्पनीहरूलाई अझै ५० करोड रूपैयाँ पुँजीको आवश्कता देखिन्छ ।

बीमा समितिले पुँजी वृद्धि गर्न निर्देशन दिएपछि यी दुबै कम्पनीले असार २९ गते मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।


क्लिकमान्डु