तरलता अभाव बढ्दोः बैंकहरुले बिहीबारसम्म लिए १५ खर्ब बढी एसएलएफ सुविधा



काठमाडौं । बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) अभाव हुँदा वाणिज्य बैंकहरुले भदौ २३ गतेसम्म १५ खर्ब ४ अर्ब ९ करोड ७५ लाख रुपैयाँ स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् ।

राष्ट्र बैंककाअनुसार बैंकहरुले साउन १ देखि भदौ २३ गतेसम्म उक्त रकम अल्पकालीन सापटी लिएका हुन् । ८५० कारोबारबाट बैंकहरुले उक्त रकम एसएलएफ सुविधाबापत लिएको केन्द्रीय बैंकले जनाएको छ । बिहीबार नै बैंकहरुले ५२ अर्ब ७६ करोड १५ लाख एसएलएफ सुविधा लिएका छन् ।

यो अवधिमा सबैभन्दा बढी भदौ १२ गते ६४ अर्ब ४९ करोड ७५ लाख रुपैयाँ बैंकहरुले सुविधा लिएका छन् । यस्तै साउन २ गते ६१ अर्ब ७४ करोड, भदौ १८ गते ५० अर्ब ४० करोड भदौ २३ गते ५२ अर्ब ७६ करोड १५ लाख रुपैयाँ यस्तचो सुविधा लिएका छन् ।

बैंकहरुले नगद व्यवस्थापन गर्न धौं धौं परेपछि राष्ट्र बैंकमा सरकारी ऋणपत्र (ट्रेजरी बिल्स) धितोमा राखेर थोरै समयका लागि यस्तो कर्जा लिने गरेका छन् ।

अहिले राष्ट्र बैंकले बैंकहरुलाई ५ दिन अवधिका लागि एसएलएफ सुविधा दिने गरेको छ । बैंकहरूले सरकारी ऋणपत्रमा गरेको लगानीको बढीमा ९० प्रतिशतसम्म एसएलएफ सुविधा लिन सक्ने व्यवस्था रहेको छ । यसको ब्याजदर ८.५ प्रतिशत रहेको छ ।

बढी ब्याज पर्ने भएकाले सामान्य अवस्थामा बैंकहरुले एसएलएफ सुविधा लिँदैनन् । तरलताको चरम अभाव भएपछि बैंकहरुको अन्तिम विकल्प एसएलएफ सुविधा हुने गरेको छ । अहिले अन्तर बैंक ब्याजदर ८.५० प्रतिशत पुगेको छ ।


क्लिकमान्डु