बीमा कम्पनीले निर्देशिका अनुसार लगानी गरेनन्, कुल लगानी साढे ५ खर्ब नाघ्दा ७७% मुद्दती निक्षेपमा



काठमाडौं । बीमा समितिले बीमकको लगानी निर्देशिका २०७५, जारी गर्दै कम्पनीहरूलाई घरजग्गा व्यवसाय, जलस्रोत, कृषि, पर्यटन, सामूहिक लगानी कोषलगायतका क्षेत्रमा लगानी गर्न सक्ने बाटो खोलिदिएको थियो ।

समितिले लगानीको दायरा फराकिलो बनाए पनि सो व्यवस्थाअनुसार कम्पनीहरूको लगानी भने विविधिरण हुन सकेको छैन ।

लगानीको दायरा फराकिलो भए पनि बीमा कम्पनीको लगानी भने अझै पनि बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा मात्रै सीमित भएको हो ।

बीमा कम्पनीहरूमा लगानीयोग्य रकम थुप्रिँदै गएपछि लगानीका क्षेत्रहरू पनि विस्तार गर्नुपर्ने कम्पनीहरूले माग गर्दै आएका थिए । सोहीबमोजिम समितिले लगानी निर्देशिका नै जारी गरेको थियो ।

तर, लगानी निर्देशिका जारी भएको ३ वर्ष वित्दा पनि सो बमोजिम कम्पनीहरूमा लगानी विविधीकरण हुन नसकेको हो ।

बीमितबाट संकलित बीमाशुल्कलाई कम्पनीहरूले उद्योग, व्यवसाय, बैंकको निक्षेपलगायत अन्य विभिन्न क्षेत्रमा लगानी गर्छन् । त्यसबाट हुने प्रतिफल नै बीमा कम्पनीहरूको मुख्य आम्दानी हो ।

समितिले सार्वजनिक गरेको गत आवको तथ्यांकअनुसार बीमा कम्पनीहरूको कुल लगानीको ७७.८६ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा सीमित छ ।

७७ प्रतिशत रकम बैंक तथा वित्तीय संस्थामा केन्द्रित हुँदा प्राथमिकताका क्षेत्रमा बीमा कम्पनीहरूले लगानी गरेका छैनन् ।

४१ वटा बीमा कम्पनीहरूले ५ खर्ब ५३ अर्ब २७ करोड रूपैयाँ कुल लगानी गरेका छन् ।

कुल लगानीमध्ये कम्पनीहरूले यस अवधिसम्ममा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४ खर्ब ३० अर्ब ७९ करोड ६१ लाख रूपैयाँ लगानी गरेका छन् । जुन कुल लगानीको ७७.८६ प्रतिशत हो ।

जसमध्ये कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ६७.८३ प्रतिशत, विकास बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ८.९३ प्रतिशत, फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा कुल लगानीको १.०५ प्रतिशत र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कुल लगानीको ०.०५ प्रतिशत लगानी गरेका छन् ।

कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ३ खर्ब ७५ करोड २९ लाख रूपैयाँ, विकास बैंकको मुद्दती निक्षेपमा ४९ अर्ब ४१ करोड ९२ लाख रूपैयाँ र फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा ५ अर्ब ८३ करोड ४३ लाख रूपैयाँ लगानी गरेका छन् ।

यस अवधिमा पुनर्बीमा कम्पनीहरूले बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८५.३९ प्रतिशत, जीवन बीमा कम्पनीले ७७.०२ प्रतिशत र निर्जीवन बीमा कम्पनीहरूले ८१.५७ प्रतिशत लगानी गरेका छन् ।

अन्य क्षेत्रको तुलनामा बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा गरिएको लगानी सुरक्षित हुने हुनाले कम्पनीहरू यसैतर्फ केन्द्रित हुने गरेको सरोकारवालाहरू बताउँछन् ।

समितिद्धारा जारी लगानीसम्बन्धि निर्देशकाअनुसार बीमा कम्पनीहरूले घर जग्गामा कुल लगानीको न्यूनतम ५ प्रतिशतसम्म लगानी गर्न पाउँछन् ।

तर, ४१ बीमा कम्पनीमध्ये एउटा कम्पनीले मात्रै घर जग्गामा लागानी गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सले मात्रै घर जग्गामा लगानी गरेको हो । तेस्रौ त्रैमाससम्मको अवधिमा नेशनल लाइफले ३६ करोड २४ लाख रूपैयाँ लगानी गरेको छ । जुन कम्पनीहरूले गरेको कुल लगानीको ०.०७ प्रतिशत मात्रै हो ।

लगानी निर्देशिकाअनुसार कम्पनीहरूले नेपाल सरकारको बचतपत्रमा न्यूनतम ५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था छ । तर, कम्पनीहरूले कुल लगानीको ०.४७ प्रतिशत मात्रै लगानी गरेका छन् ।

नेपाल पूर्वाधर बैंकको मुद्दती निक्षेपमा कम्पनीहरूलाई न्यूनतम ४० प्रतिशत लगानी गर्नु पर्ने व्यवस्था समितिले गरिदिएको छ । तर, निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीले भने यस क्षेमा लगानी नै गरेका छैनन् ।

समितिले प्रत्येक कम्पनीलाई सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशतसम्म लगानी गर्न पाउने सीमा तोकिदिएको छ ।

यस अवधिमा कम्पनीहरूले कुल लगानीको १.९५ प्रतिशत लगानी गरेका छन् ।

क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा कम्पनीहरूले कुल लगानीको ६.२९ प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा ४.२३ प्रतिशत, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा १.३५ प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा ०.२७ प्रतिशत र अन्य लगानीमा ७.५२ प्रतिशत लगानी गरेका छन् ।


क्लिकमान्डु