निर्जीवन बीमा कम्पनीले गरे ५४ अर्ब लगानी, घरजग्गा र पूर्वाधार बैंकको मुद्दती निक्षेपमा शून्य



काठमाडौं । गत आर्थिक वर्षमा निर्जीवन बीमा कम्पनीहरूले ५४ अर्ब रूपैयाँ लगानी गरेका छन् ।

बीमा समितिले प्रकाशित गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका २० निर्जीवन बीमा कम्पनीहरूले तोकिएका विभिन्न क्षेत्रमा गत आवमा ५३ अर्ब ९१ करोड ९२ लाख रूपैयाँ लगानी गरेका हुन् ।

कुल लगानीको ८१.५७ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा केन्द्रित हुँदा घर जग्गा र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा कम्पनीहरूको लगानी शून्य देखिएको छ ।

२० निर्जीवन बीमा कम्पनीहरूले कुल लगानीको ८१.५७ प्रतिशत अर्थात ४३ अर्ब ९८ करोड ३९ लाख रूपैयाँ लगानी नेपाल राष्ट्र बैंकबाट इजाजत पत्र पाएका बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

कम्पनीहरूले यस अवधिमा क वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ३७ अर्ब ५९ करोड ९८ लाख रूपैयाँ घ बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ५ अर्ब ४९ करोड ३६ लाख रूपैयाँ र ग बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ८९ करोड ५ लाख रूपैयाँ गरी सो बराबरको लगानी गरेका हुन् ।

सूचीृकत पब्लिक कम्पनीको शाधारण सेयरमा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ६२ करोड ८१ लाख रूपैयाँ लगानी गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरूको कुल लगानीको ४.८७ प्रतिशत हो ।

सूचीकृत पब्लिक कम्पनीको डिबेन्चरमा १ अर्ब ५१ करोड १८ लाख रूपैयाँ, क, ख, ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्र १ अर्ब ४८ करोड ५५ लाख रूपैयाँ, कृषि पर्यटन र जलस्रोत लगायतका पूर्वाधारमा ३० करोड ७१ लाख रूपैयाँ लगानी गरेका छन् ।

यस्तै, कम्पनीहरूले नेपाल सरकारको बचतपत्रमा २३ करोड ५३ लाख रूपैयाँ र म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ४१ करोड ९१ लाख रूपैयाँ लगानी गरेका छन् ।

समितिद्धारा जारी बीमकको लगानी निर्देशिका, २०७५ बमोजिम निर्जीवन बीमा कम्पनीहरूले घर जग्गामा बढीमा ५ प्रतिशत र नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशतसम्म लगानी गर्न पाउनेछन् ।

कम्पनीहरूले क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा १० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढीमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढीमा २० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था निर्देशिकाले गरिदिएको छ ।

यस्तै, उक्त निर्देशिकाअनुसार निर्जीवन बीमा कम्पनीहरूले कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढीमा २० प्रतिशत, म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढीमा ५ प्रतिशत, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।


क्लिकमान्डु