जीवन बीमा कम्पनीहरूको लगानी ४ खर्ब ७३ अर्ब, मुद्दती निक्षेपमा ७७%, कुन क्षेत्रमा कति ?



काठमाडौं । गत आर्थिक वर्षमा जीवन बीमा कम्पनीहरूको कुल लगानी ४ खर्ब नाघेको छ ।

बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार गत आवमा सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीहरूले ४ खर्ब ७३ अर्ब १६ करोड ३४ लाख रूपैयाँ लगानी गरेका गरेका हुन् ।

जीवन बीमा कम्पनीहरूको कुल लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा केन्द्रित भएको छ ।

कुल लगानीको ७७.०२ प्रतिशत लगानी बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा रहेको छ ।

जीवन बीमा कम्पनीहरूले कुल लगानी मध्ये ६६.९६ प्रतिशत वाणिज्य बैंकहरूको मुद्दती निक्षेपमा लगानी गरेका छन् ।

यस्तै विकास बैंकहरूको मुद्दती निक्षेपमा जीवन बीमा कम्पनीहरूले कुल लगानीको ८.९७ प्रतिशत, फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा १.०४ प्रतिशत र नेपाल पूर्वाधार बैंकको निक्षेपमा ०.०५ प्रतिशत गरी गरी ७७.०२ प्रतिशत लगानी गरेका हुन् ।

समितिको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरूले वाणिज्य बैंकको मुद्दती निक्षेपमा ३ खर्ब १६ अर्ब ८१ करोड ४१ लाख रूपैयाँ, विकास बैंकहरूको मुद्दती निक्षेपमा ४२ अर्ब ४४ करोड २१ लाख रूपैयाँ, फाइनान्स कम्पनीहरूको मुद्दती निक्षेपमा ४ अर्ब ९४ करोड ३८ लाख रूपैयाँ र नेपाल पूर्वाधार बैंकको निक्षेपमा २५ करोड रूपैयाँ लगानी गरेका छन् ।

कृषि तथा पर्यटन क्षेत्रमा ७ अर्ब १४ करोड ८५ लाख रूपैयाँ र खघरजग्गामा ३६ करोड २४ लाख रूपैयाँ लगानी गरेका छन् ।

जीवन बीमा कम्पनीहरूले सेयर बजारमा ६३ अर्ब ९४ करोड २९ लाख रूपैयाँ मात्रै लगानी गरेका छन् । जुन कुल लगानीको १३.५१ प्रतिशत मात्रै हुन आउँछ ।

जीवन बीमा कम्पनीहरूले शेयर बजारसँग सम्बन्धित क्षेत्र सूचीकृत पब्लिक कम्पनीहरूको साधारण सेयरमा, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेन्चर, सरकारी बचतपत्र तथा ऋणपत्र, म्युचुअल फण्ड तथा नागारिक लगानी कोष लगायतमा सो बराबरको रकम लगानी गरेका हुन् ।

जीवन बीमा कम्पनीहरूले सूचीकृत पब्लिक कम्पनीहरूको साधारण शेयरमा ८ अर्ब ६ करोड ८६ लाख रूपैयाँ, बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर तथा ऋणपत्र ३० अर्ब ९७ करोड ४६ लाख रूपैयाँ, सूचीकृत पब्लिक सुरक्षित डिबेन्चरमा २१ अर्ब ८७ करोड १ लाख रूपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा २ अर्ब ४ करोड ५३ लाख रूपैयाँ, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ९८ करोड ४१ लाख रूपैयाँ गरी सो बराबरको रकम लगानी गरेका हुन् ।

समितिद्वारा जारी बीमकको लगानी निर्देशिकाअनुसार जीवन बीमा कम्पनीहरूले नेपाल सरकारका बचपत्रमा न्यूनतम ५ प्रतिशत, क वर्गको बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा न्यूनतम ४० प्रतिशत, घर जग्गामा बढीमा ५ प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।

यस्तै, सूचीकृत पब्लिक कम्पनीको साधारण सेयरमा बढीमा २० प्रतिशत, क, ख र ग बर्गको बैंक तथा वित्तीय संस्थाको सेयर र ऋणपत्रमा बढिमा २० प्रतिशत, सूचीकृत पब्लिक कम्पनीको सुरक्षित डिबेञ्चरमा बढिमा २० प्रतिशत, कृषि, पर्यटन र जलश्रोत लगायतका पूर्वाधारमा बढिमा २० प्रतिशत लगानी गर्न सक्छन् ।

जीवन बीमा कम्पनीहरूले म्युचुअल फण्ड र नागरिक लगानी कोषमा बढीमा ५ प्रतिशत, ख बर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा २० प्रतिशत र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा बढीमा १० प्रतिशत लगानी गर्न सक्ने व्यवस्था छ ।


क्लिकमान्डु