बीमितले पाएनन् साढे ४ अर्ब, नेपाल लाइफको मात्रै १ अर्ब ७१ करोड बाँकी, कुनको कति ?



काठमाडौं । बीमा समितिले दाबी भुक्तानी प्रक्रियालाई छिटो, छरितो, पारदर्शी तथा व्यवस्थित बनाइ बीमितको हित रक्षा गर्न भन्दै बीमा दाबी भुक्तानी मार्गदर्शन जारी गरि कार्यान्वयनमा ल्याएको छ ।

बीमा समितिद्वारा दाबी भुक्तानी मार्गदर्शनमा बीमालेख परिपक्व भएको मितिले १५ दिनभित्र सक्कल बीमालेख तथा परिचय खुल्ने कागजातहरू लिइ भुक्तानी लिन आउन सूचना जारी गर्नुपर्ने उल्लेख छ ।

कागजातहरू पेस गरेमा बीमकले आवश्यक जाँचबुझ गरी निवेदन दर्ता भएको ७ दिनभित्र दाबी भुक्तानी दिनु पर्छ । यो शर्त परिपक्व भएका बीमालेखको हकमा लागू हुने छ ।

बीमालेखको अवधि समाप्त हुनु अगावै बीमितको मृत्यु भएमा निजले इच्छाएको व्यक्ति भए निजले र कसैलाई पनि इच्छाएको नभए सबैभन्दा नजिकको हकवालाले त्यस्तो बीमा रकम लिनको लागि निवेदन दिनुपर्छ ।

निवेदन प्राप्त भएपछि बीमकले आवश्यक छानबिन गरी आवश्यक भए अन्य कुराहरूसमेत बुझि त्यस्ता कागजातहरू प्राप्त भएको मितिले १५ दिनभित्र दायित्व निर्धारण गरी दाबी भुक्तानी लिन आउनको लागि निवेदकको नाममा दाबी फर्छौट पुर्जा जारी गर्नुपर्ने मार्गदर्शनमा उल्लेख छ ।

तर कम्पनीहरूले समयमा नै भुक्तानी नगर्दा भुक्तानी गर्नुपर्ने रकम वर्षेनी थपिँदै गएको छ ।

जीवन बीमालेख खरिद गरेका बीमितहरूले कम्पनीहरूबाट साढे ४ अर्ब रूपैयाँ भुक्तानी पाउन सकेका छैनन् ।

गत आवमा १९ जीवन बीमा कम्पनीहरूबाट बीमालेख खरिद गरेका बीमितले कुल ४ अर्ब ५३ करोड ९६ लाख ३ हजार रूपैयाँ भुक्तानी नपाएका हुन् ।

कम्पनीहरूले प्रकाशित गरेको वित्तीय विवरणअनुसार १९ जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफ एक्लैले बीमितलाई १ अर्ब ७१ करोड ५२ लाख ६० हजार रूपैयाँ भुक्तानी दिन बाँकी छ । जुन कम्पनीहरूमा भुक्तानी हुन बाँकी दाबी रकमको ३७.७८ प्रतिशत हो ।

अघिल्लो आवमा नेपाल लाइफले २ अब ५५ करोड ५१ लाख ९० हजार रूपैयाँ भुक्तानी दिन बाँकी थियो । अघिल्लो आवको तुलनामा कम्पनीमा भुक्तानी हुन बाँकी रकम ३२.८७ प्रतिशतले घटेको हो ।

नेशनल लाइफको भुक्तानी हुन बाँकि दाबी रकम ९६ करोड १७ लाख २६ हजार रूपैयाँ छ । अघिल्लो आवको तुलनामा इन्स्योरेन्सको भुक्तानी हुन बाँकी दाबी रकम ३३.५३ प्रतिशतले बढेको हो ।

गत आवमा मेट लाइफले ७१ करोड ६७ लाख रूपैयाँ भुक्तानी गर्न बाँकी छ । अघिल्लो आवको तुलनमा इन्स्योरेन्सले भुक्तानी हुन बाँकी रहेको दाबी रकम २३.६१ प्रतिशतले घटाएको हो । अघिल्लो आवमा इन्स्योरेन्समा भुक्तानी हुन बाँकी दाबी रकम ९२ करोड ९५ लाख ५६ हजार रूपैयाँ थियो ।

गत आवमा सिटिजन लाइफ इन्स्योरेन्सले ३६ करोड ३ लाख रूपैयाँ भुक्तानी हुन बाँकी छ । अघिल्लो आवको तुलनामा सिटिजनको भुक्तानी गर्न बाँकी दाबी रकम २०७४.८४ प्रतिशतले बढेको हो । अघिल्लो आवमा इन्स्योरेन्समा भुक्तानी हुन बाँकी दाबी रकम १ करोड ६५ लाख ६८ हजार रूपैयाँ थियो ।

एलआइसी नेपालको भुक्तानी हुन बाँकि दाबी रकम ३३ करोड ५४ लाख रूपैयाँ, रिलायन्स लाइफको २६ करोड ४४ लाख रूपैयाँ, एशियन लाइफको ५ करोड ८६ लाख रूपैयाँ, ज्योति लाइफको ४ करोड १७ लाख रूपैयाँ, आइएमई लाइफको २ करोड १९ लाख रुपैयाँ,महालक्ष्मी लाइफको २ करोड रूपैयाँ छ ।

सानिमा लाइफ, राष्ट्रिय बीमा संस्थान र रिलायबल नेपाल लाइफको भने भुक्तानी हुन बाँकी दाबी रकम शून्य छ ।

प्रभु लाइफको भुक्तानी हुन बाँकी दाबी रकम १ करोड ६२ लाख, प्राइम लाइफको १ करोड ४६ लाख, यूनियन लाइफको ७० लाख २१ हजार, सूर्या लाइफको ६७ लाख ७ हजार, सन नेपाल लाइफको ३३ लाख १६ हजार र गुराँस लाइफको २० लाख ८२ हजार रूपैयाँ छ ।


क्लिकमान्डु