ब्याजदर नियन्त्रण गर्न राष्ट्र बैंकले चौथोपटक किन्यो ट्रेजरी बिल्स



काठमाडौं । नेपाल राष्ट्र बैंकले ब्याजदर नियन्त्रणका लागि लगातार चौथो पटक ट्रेजरी बिल्स आफैं खरिद गरेको छ । राष्ट्र बैंकले सोमबार नवीकरण अन्तर्गत १२ अर्ब २३ करोडको ट्रेजरी बिल्स खुल्ला बोलकबोल प्रक्रिया अन्तर्गत बिक्री गर्न खोजेको थियो ।

सोमबार २८ दिनको २ अर्ब,९१ दिनको २ अर्ब २३ करोड,१८२ दिनको ६ अर्ब तथा ३६४ दिनको २ अर्ब रुपैयाँको ट्रेजरी बिल्स बिक्री खुल्ला गरेको थियो ।

२८ दिन र ९१ दिनको ट्रेजरी बिल्स बैंक तथा वित्तीय संस्थाले खरिद गरेपनि १८२ दिन र ३६४ दिनको ट्रेजरी बिल्स अधिकाशं राष्ट्र बैंक आफैंले किनेको छ । राष्ट्र बैंकले १८२ दिनको ५ अर्ब ८५ करोड तथा ३६४ दिनको १ अर्ब ५० करोडको ट्रेजरी बिल्स आफैं किनेको हो ।

सोमबार नवीकरण अन्तर्गत ट्रेजरी बिल्सको ७.९९ देखि ९.८४ प्रतिशत ब्याजदरसम्ममा बिक्री भएको छ ।

सोमबार ट्रेजरी बिल्स खरिदका लागि २८ दिनको लागि १३, ९१ दिनको लागि १२ वटा संस्थाले बोलकबोलमा भाग लिएका थिए । यस्तै १८२ दिनको लागि १७ तथा ३६४ दिनको लागि १६ वटा संस्था सहभागी भएका थिए ।

सरकारले अल्पकालिन समयको लागि लिने ऋणलाई ट्रेजरी बिल्स भनेर भनिन्छ ।


क्लिकमान्डु