४ बीमा कम्पनीले सार्वजनिक गरे नयाँ बोनसदर, नेशनलका बीमितले सर्वाधिक पाउने



काठमाडौं । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् ।

अमेरिकन लाइफ इन्स्योरेन्स (मेट लाइफ), एशियन लाइफ, नेशनल लाइफ र ज्योति लाइफ इन्स्योरेन्सले नयाँ बोनसदर सार्वजनिक गरेका हुन् ।

आर्थिक वर्ष २०७७/७८ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन बीमा समितिबाट स्वीकृत भएपश्चात् यी कम्पनीहरूले बीमितलाई दिने बोनसदर सार्वजनिक गरेका हुन् ।

नयाँ बोनसदर सार्वजनिक यी ४ बीमा कम्पनीमध्ये नेशनल लाइफका बीमितले सर्वाधिक बोनसदर पाउने भएका छन् । नेशनल लाइफले आव २०७७/७८ का लागि बीमितलाई अधिकतम प्रतिहजार ८५ रूपैयाँ बोनसदर दिने घोषणा गरेको छ ।

मेट लाइफ इन्स्योरेन्सका बीमितले न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनस दर पाउने भएका छन् । ज्योति लाइफका बीमितले न्यूनतम २० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म बोनस दर पाउने भएका छन् । यस्तै, एशियन लाइफका बीमितले प्रतिहजार न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म पाउने छन् ।

मेट लाइफ

कम्पनीकाअनुसार बीमितले न्यूनतम ४५ रूपैयाँदेखि अधिकतम ८० रूपैयाँसम्म बोनसदर पाउने भएका छन् । कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत् बीमा अवधि अनुसार प्रति हजार न्यूनतम ६० रूपैयाँदेखि अधिकतम ८० रूपैयाँ बोनसदर कायम गरेको छ ।

यस बीमा योजनामा २१ वा सो भन्दा माथि बीमा अवधिका लागि ८० रूपैयाँ बोनसदर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

१ देखि ५ वर्ष बीमा अवधिका बीमालेखमा कम्पनीले प्रति हजार ६० रूपैयाँ र १६ देखि २० वर्षे बीमा अवधिका बीमालेखमा प्रति हजार ७० रूपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले अग्रिम भुक्तानी सावधिक बीमालेखमा बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ४५ रूपैयाँ रअधिकतम ६५ रूपैयाँ बोनसदर कायम गरेको छ । यस बीमा योजनामा २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि कम्पनीले ६५ रूपैयाँ बोनसदर निर्धारण गरेको छ ।

सावधिक बीमालेखमा १६ देखि २० वर्षे बीमा अवधिका लागि ७० रूपैयाँ र २१ वा सो भन्दा माथिका बीमा अवधिका लागि ८० हजार रूपैयाँ बोनसदर कायम भएको छ ।

ज्योति लाइफ

ज्योति लाइफ इन्स्योरेन्सले सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले २५ र सोभन्दा माथिका बीमा अवधिका लागि ७५ रूपैयाँ बोनसदर कायम गरेको छ ।

कम्पनीले सावधिक जीवन बीमालेखअन्तर्गत बीमा अवधिअनुसार प्रति हजार न्यूनतम ४३ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ बोनसदर कायम गरेको छ ।

यस बीमा योजनामा २५ वा सो भन्दा माथि बीमा अवधिका लागि ७५ रूपैयाँ बोनसदर कायम गरिएको कम्पनीले जानकारी दिएको छ ।

९ वर्षे बीमा अवधिमा ४३ रूपैयाँ, १० देखि १४ वर्षे बीमा अवधिमा ४५ रूपैयाँ र १५ देखि २४ वर्षे बीमा अवधिमा ५५ रूपैयाँ बोन दर कायम भएको छ ।

सावधिक तथा आजीवन बीमालेखअन्र्तगत ९ वर्षे बीमा अवधिका लागि ४३ रूपैयाँ र १० देखि १४ वर्षसम्म ४५ रूपैयाँ बोनसदर निर्धारण गरिएको छ अग्रिम भुक्तानी बीमा योजनामा बीमितिले १० देखि १४ वर्ष अवधिमा ४३ रूपैयाँ, १५ देखि १९ वर्षे अवधिमा ४५ रूपैयाँ र २० देखि २४ वर्षे बीमा अवधिमा ५० रूपैयाँ बोनसदर पाउने छन् ।

यस्तै, ज्योति ईजी पे जीवन बीमा योजना अन्र्तगत कम्पनीले न्यूनतम २० रूपैयाँदेखि अधिकतम ३० रूपैयाँ बोनसदर कायम गरेको छ ।

यस बीमा योजनामा १० देखि १४ वर्षे बीमा अवधिका लागि इन्स्योरेन्सले २० रूपैयाँ, १५ देखि १९ वर्षे बीमा अवधिका लागि २५ रूपैयाँ र २० देखि २४ वर्षसम्म ३० रूपैयाँ बोनसदर निर्धारण गरेको छ ।

एशियन लाइफ

एशियन लाइफको सावधिक तथा आजीवन बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ५० रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँ, बालबालिका सावधिक जीवन बीमामा न्यूनतम ४० रूपैयाँदेखि अधिकतम ६० रूपैयाँ, सावधिक जीवन बीमालेखमा न्यूनतम ४० रुपैयाँदेखि ६० रूपैयाँ र अग्रिम भुक्तानी सावधिक जीवन बीमा योजनामा ५० रूपैयाँ देखि ७० रूपैयाँ बोनस पाउने भएका छन् ।

यस्तै कम्पनीको नवरन्त, जीवन संजीवनी, दाम्पत्ति सुरक्षा प्लस, एशियन वार्षिक धन लाभमा पनि बीमा अवधिको आधारमा बीमितले न्यूनतम ४० रूपैयाँदेखि ६० रूपैयाँसम्म बोनसदर पाउने भएका छन् ।

नेशनल लाइफका बीमितले ८५ रूपैयाँसम्म पाउने

नेशनल लाइफे आर्थिक वर्ष २०७७/०७८ का बीमितलाई बीमाअवधिअनुसार प्रतिहजार न्यूनतम ६३ रूपैयाँदेखि अधिकतम ८५ रूपैयाँसम्म बोनस दर दिने घोषणा गरेको छ ।

सावधिक जीवन बीमालेखमा बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि, १० देखि १४ वर्ष अवधिको लागि, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६४ रुपैयाँ बोनस दर दिने भएको छ ।

२१ देखि २५ वर्षे बीमा अवधिका लागि इन्स्योरेन्सले प्रतिहजार ७० रूपैयाँ र २६ देखि २९ वर्षे बीमा अवधि र ३० वा सो भन्दा माथिका बीमा अवधिका लागि ८५ रूपैयाँ बोनस दर कायम गरेको छ ।

कम्पनीले सावधिक तथा आजीवन बीमालेखमा ० देखि ९ वर्ष अवधिको लागि, १० देखि १४ वर्ष अवधिको लागि, १५ देखि २० वर्ष अवधिको लागि प्रति हजार ६४ रूपैयाँ बोनसदर दिने भएको छ ।

२१ देखि २५ वर्षे बीमा अवधिका लागि इन्स्योरेन्सले ७० रूपैयाँ बोनसदर दिने भएको छ । २६ वा सो भन्दा माथिका बीमा अवधिका लागि इन्स्योरेन्सले प्रति हजार ८५ रूपैयाँ बोनसदर कायम गरेको छ ।

यस्तै, अग्रिम भुक्तानी सावधिक जीवन बीमालेखमा कम्पनीले ० देखि ९ वर्ष अवधिको लागि र १० देखि १४ वर्ष अवधिको लागि ६३ रूपैयाँ बोनस दर दिने भएको छ ।

भने सोही बीमाले अन्र्तगत १५ देखि १९ वर्ष अवधि र २० देखि २५ वर्षे बीमा अवधिको लागि कम्पनीले प्रति हजार ६४ रूपैयाँ बोनसदर दिने भएको छ ।

कम्पनीकाअनुसार बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुने छ ।

बीमा समितिबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्मको लागि कम्पनीहरूले भुक्तानी गर्ने दाबीहरूमा पनि यहि बोनस दर कायम हुने कम्पनीले जनाएका छन् ।

जीवन बीमा कम्पनीले बीमितहरूलाई भुक्तान गर्ने प्रतिफललाई बोनसदर भनिन्छ । बीमा कम्पनीहरूले आर्जन गरेको मुनाफाको आधारमा प्रतिवर्ष बोनसदर निर्धारण गरिन्छ ।


क्लिकमान्डु