बीमा कम्पनीको ४८.४४% व्यवसाय बाग्मती प्रदेशमा मात्रै



काठमाडौंं । बीमा समितिले ग्रामिण क्षेत्रमा जान निर्देशन दिए पनि बीमा कम्पनीहरू भने अझै पनि सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका छन् ।

बीमा कम्पनीहरूको व्यवसाय बाग्मती प्रदेशमा मात्रै सीमित रहेको तथ्यांकले देखाएको छ । बीमा समितिले सार्वजनिक गरेको गत आवको असार महिनाको तथ्यांकअनुसार जीवन तथा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायको ४८.४४ प्रतिशत हिस्सा बाग्मती प्रदेशमा छ ।

गत आर्थिक वर्षको असार महिनामा बाग्मती प्रदेशबाट बीमा कम्पनीहरूले ११ अर्ब १२ करोड २२ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यो कुल बीमाशुल्कको ४८.४४ प्रतिशत हो ।

बाग्मती प्रदेशबाट जीवन बीमा कम्पनीहरूले ७ अर्ब ६ करोड ४९ लाख रूपैयाँ र निर्जीवन बीमा कम्पनीहरूले ४ अर्ब ५ करोड ७३ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

सो अवधिमा कम्पनीहरूले २२ अर्ब ९६ करोड ८ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

गत आवको असार महिनामा जीवन बीमा कम्पनीहरूले १७ अबै ६७ करोड ४५ लाख र निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब २८ करोड ६३ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बाग्मती प्रदेशपछि लुम्बिनी प्रदेशबाट २ अर्ब ९६ करोड ३ लाख रूपैयाँ बीमाशुल्क आर्जन गरेको छन् । यो कुल बीमाशुल्कको १२.८९ प्रतिशत हो ।

लुम्बिनी प्रदेशबाट जीवन बीमा कम्पनीहरूले २ अर्ब ६२ करोड ९०लाख रूपैयाँ र निर्जीवन बीमा कम्पनीले ३३ करोड १३ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको समितिले जनाएको छ ।

यस्तै, लुम्बिनी प्रदेशपछि बीमा व्यवसायमा प्रदेश १ को योगदान बढी छ । प्रदेश नम्बर १ बाट बीमा कम्पनीहरूले २ अर्ब ६८ करोड ३० लाख रूपैयाँको व्यवसाय गरेका छन् ।

यस अवधिमा प्रदेश १ बाट जीवन बीमा कम्पनीहरूले २ अर्ब ३५ करोड २३ लाख रूपैयाँ र निर्जीवन बीमा कम्पनीले ३३ करोड ६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

बीमा व्यवसायमा मधेश प्रदेशको योगदान ९.७३ प्रतिशत, गण्डकी प्रदेशको योगदान ८.८७ प्रतिशत, सुदुरपश्चिम प्रदेशको योगदान ४.७३ प्रतिशत र कर्णाली प्रदेशको योगदान ३.६५ प्रतिशत छ ।

बीमा कम्पनीहरूले गत आवको असार महिनामा मधेश प्रदेशबाट गण्डकी प्रदेशबाट २ अर्ब २३ करोड ४८ लाख रूपैयाँ, गण्डकी प्रदेशबाट २ अर्ब ३ करोड ६८ लाख रूपैयाँ, सुदुरपश्चिम प्रदेशबाट १ अर्ब ८ करोड ५१ लाख रूपैयाँ र कर्णाली प्रदेशबाट ८३ करोड ८३ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको समितिको तथ्यांक छ ।


क्लिकमान्डु