निर्जीवन बीमाको व्यवसाय ३९ अर्ब १६ करोड, कुन कम्पनीको कतिले बढ्यो ?



काठमाडौं । गत आर्थिक वर्षको अन्त्यसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरूले २७ लाख ८८ हजार १८ वटा बीमालेख सो रकम संकलन गरेका हुन् । यो अघिल्लो आवको तुलनामा २३.५६ प्रतिशतले धेरै हो ।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७० करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवमा कम्पनीहरूमा २७ लाख ३१ हजार ७७३ वटा बीमालेख बिक्री भएका थिए ।
२० निर्जीवन बीमा कम्पनीमध्ये सार्वाधिक बीमाशुल्क संकलन गर्ने कम्पनीको सूचाीमा शिखर इन्स्योरेन्स परेको छ । शिखरले गत आवमा ५ अर्ब ९२ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्ममा ३ अर्ब ९७ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

धेरै बीमाशुल्क संकलन गर्ने कम्पनीको दोस्रो नम्बरमा सगरमाथा इन्स्योरेन्स परेको छ । सगरमाथाले गत आवमा ३ अर्ब १० करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेको इन्स्योरेन्सले २ अर्ब ८५ करोड, राष्ट्रिय बीमा कम्पनीले २ अर्ब ६४ करोड, सिदार्थ इन्स्योरेन्सले २ अर्ब ६१ करोड, एनएलजी इन्स्योरेन्सले २ अर्ब २७ करोड, प्रिमियर इन्स्योरेन्सले २ अर्ब १४ करेड र हिमालयन जनरल इन्स्योरेन्सले २ अर्ब ६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् ।

बीमा समितिले सार्वजनिक गरेको तथ्यांकअनुसार युनाइटेड इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, ओरेन्टल इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, आइएमइ जनरल, प्रभु इन्स्योरेन्स, लुम्बिनी जनरल, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, प्रभु इन्स्योरेन्स र सानिमा जनरलले गत आवमा १ अर्ब रूपैयाँभन्दा माथि बीमाशुल्क संकलन गरेका छन् ।

नेशनल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनीको व्यवसाय भने करोडमा नै सीमित छ ।

सबैभन्दा कम बीमाशुल्क संकलन गर्नेमा जनरल इन्स्योरेन्स परेको छ । गत आवमा इन्स्योरेन्सले ९० करोड १२ लाख रूपैयाँ मात्रै कुल बीमाशुल्क संक्लन गरेको छ ।

राष्ट्रिय बीमा कम्पनीले व्यवसाय ६२.४० प्रतिशतले बढ्यो
गत आवमा राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ६२.४० प्रतिशतले बढेर २ अर्ब ६४ करोड ७१ लाख रूपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षको यही अवधिमा कम्पनीले १ अर्ब ६३ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

सानिमा जनरल इन्स्योरेन्सको बीमाशुल्क ६०.६६ प्रशिशतले बढेर १ अर्ब ४० करोड रूपैयाँ पुगेको छ । अघिल्लो आवमा सानिमाले ६५ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

सबैभन्दा कम बीमाशुल्क बढ्ने कम्पनीमा प्रभु इन्स्योरेन्स परेको छ । प्रभुको बीमाशुल्क ०.५५ प्रतिशतले बढेर १ अर्ब ३५ करोड ७४ लाख रूपैयाँ पुगेको छ । अघिल्लो आवमा कम्पनीले १ अर्ब ३५ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।


क्लिकमान्डु