बीमा कम्पनीहरूको व्यवसाय १६.४८% ले बढ्यो, जीवनको भन्दा निर्जीवन वृद्धिदर बढी



काठमाडौं । बीमा व्यवसायमा निर्जीवन बीमा व्यवसायको वृद्धिदर बढी देखिएको ।

बीमा समितिका अनुसार निर्जीवन बीमा व्यवसाय २३.५६ प्रतिशत र जीवन बीमा व्यवसाय १४.६३ प्रतिशतले बढेको छ ।

जीवन र निर्जीवन बीमा कम्पनीहरूले गत आर्थिक वर्ष २०७८/७९ मा १ खर्ब ७७ अर्ब ८१ करोड ४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । यो अघिल्लो आवको तुलनामा १६.४८ प्रतिशतले बढी हो ।

कम्पनीहरूले आर्थिक वर्ष २०७७/७८ मा १ खर्ब ५२ अर्ब ६५ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए ।

गत आवमा १९ जीवन बीमा कम्पनीहरूले १ खर्ब ३८ अर्ब ६४ करोड ५ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा कम्पनीहरूले १४.६३ प्रतिशतले व्यवसाय बढाएका हुन् । अघिल्लो आवमा कम्पनीहरूले १ खर्ब २० करोड ९५ करोड रूपैयाँ संकलन गरेका थिए ।

निर्जीवन बीमा कम्पनीहरूले ३९ अर्ब १६ करोड ९९ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसाय २३.५६ प्रतिशतले बढेको हो । अघिल्लो आवमा निर्जीवन बीमा कम्पनीहरूले ३१ अर्ब ७० करोड रूपैयाँ संकलन गरेका थिए ।

जीवन कम्पनीहरूले १ करोड ३० लाख ९९ हजार ६३२ वटा बीमालेख बिक्रि गरेका छन् । निर्जीवन कम्पनीहरूले २७ लाख ८८ हजार १८ वटा बीमालेख बिक्री गरेका छन् ।

गत आवमा जीवन बीमा कम्पनीहरूमा ८६ लाख १२ हजार ८५० वटा र निर्जीवन बीमा कम्पनीहरूमा २७ लाख ३१ हजार ७७३ वटा बीमालेख जारी भएका थिए ।

समितिका अनुसार बैदेशिक रोजगार बीमालेखको संख्या २९.७८ प्रतिशतले बढेर ८ लाख ९१ हजार ११३ वटा बिक्री भएका छन् ।

तथ्यांकअनुसार गत आवमा म्यादी, लघु म्यादि र बैदेशिक रोजगार जीवन बीमालेखसहित ५ प्रतिशत घटाएर लिएको बीमालेख संख्या १ करोड २४ लाख ८९ हजार २०६ वटा रहेको छ । अघिल्लो आवमा यस्तो बीमालेखको संख्या ८२ लाख १६ हजार ५४० वटा थियो ।

२०७९ असारसम्म बीमा कम्पनीहरुको कार्यालय संख्यामा १४.७६ प्रतिशतको वृद्धि हुँदै ३ हजार ३६६ वटा पुगेको छ । २०७८ असारसम्ममा २ हजार ९३३ वटा थिए ।

यस्तै, बीमा कम्पनीहरूमा कार्यरत कर्मचारीको संख्या ११ हजार ८६१ जना रहेको छ । जुन अघिल्लो आवको तुलनामा १०.३१ प्रतिशतले बढेको हो । अघिल्लो आवमा कम्पनीहरूमा कार्यरत कर्मचारीको संख्या १० हजार ७५२ जना थियो ।

तथ्यांकअनुसार म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखबाहेक बीमाको दायरामा आएको जनसंख्या प्रतिशत १६.६२ प्रतिशत छ । यस्तै, म्यादी, लघु म्यादी र वैदेशिक रोजगार जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ४१.२० प्रतिशत छ । भने, म्यादी र लघु म्यादी जीवन बीमालेखसहित बीमाको दायरामा आएको जनसंख्या प्रतिशत ३८.२६ प्रतिशत छ ।


क्लिकमान्डु