कात्तिकमा हुँदै छ रोजगारी खोज्ने ‘सीएनआई रोजगार तथा सीप मेला’




काठमाडौं । नेपाल उद्योग परिसंघले रोजगारदाता र रोजगारी खोजिरहेकाबीच समन्वयन गर्ने हेतुले ‘सिएनआई रोजगार तथा सीप मेला २०७९’ आयोजना गर्ने भएको छ ।

परिसंघले कात्तिक १७ देखि २० गतेसम्म काठमाडौं, भृकुटिमण्डपमा उक्त मेला गर्न लागेको हो ।

परिसंघका अनुसार सीएनआई रोजगार तथा सीप मेला २०७९ ले विभिन्न कम्पनी तथा कामको खोजिमा रहेकाहरुलाई एकै ठाउँमा आवद्ध गर्न पुलको काम गर्ने छ ।

यस्तै, रोजगारदाताको आवश्यकता, सीपयुक्त कर्मचारीको मागको परिपूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहत छलफल हुनेछ ।

मुलुकमा हरेक वर्ष ५ लाख व्यक्तिहरु रोजगारीको खोजिमा हुन्छन् । चालकदेखि व्यवस्थापन तहसम्मका विभिन्न कम्पनीहरुले कर्मचारीहरु माग भइरहेको हुन्छ ।

एकातर्फ आवश्कताअनुसार कम्पनीहरुले कर्मचारी पाउन सकिरहेका छैनन् भने अर्कोतर्फ रोजगारीको खोजिमा रहेका व्यक्तिहरु आवेदन दिन र सम्बन्धित कम्पनीको सम्पर्कमा जान सकिरहेका छैनन् ।

के कारणले रोजगारदाता र सम्भावित कर्मचारीबीच समन्वय हुन सकिरहेको छैन ? निजी क्षेत्र, सरकारी निकायहरुको कस्तो भूमिका आवश्यक पर्छ ? भन्ने विषयमा केन्द्रित रहेर नेपाल उद्योग परिसंघको शिक्षा परिषद् र रोजगारदाता परिषद्को संयोजनमा उक्त मेला गर्न लागिएको हो ।

यस मेलाले बजारमा सीपको उपलब्धता र सीपको आवश्यकताबीचको अन्तर बुझ्दै सम्भावित कर्मचारी र रोजगारदाताबीचको खाडल कम गर्ने विश्वास लिइरहेको छ ।

मेलामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरुको सहभागिता रहने छ । साथै, मोलामा सीप विकास सम्बन्धी विभिन्न विषयमा वृहत छलफल, सीपको विषयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरुबाट प्रस्तुति र आफ्नो क्षमता अनुसारको कामका लागि कम्पनीहरुसँग सम्पर्क/छलफल गर्न सकिने छ ।

तीन दिने मेलामा दुई सयभन्दा बढी कम्पनीहरु सहभागि हुने परिसंघले जनाएको छ । कर्पोरेट हाउस, नवप्रवर्तन, शैक्षिक संस्थाका विद्यार्थीहरु, सेवा तथा उत्पादनमुलक उद्योगहरु, निजी, सार्वजनिक तथा सरकारी अधिकारीहरुसमेत गरी ५० हजारभन्दा बढी व्यक्तिहरुले मेलाको अवलोकन गर्ने अपेक्षा परिसंघको छ ।


क्लिकमान्डु