वाणिज्य बैंकको ‘बिग मर्जर’ले चुक्ता पुँजीका आधारमा फुच्चे भयो पूर्वाधार विकास बैंक
काठमाडौं । अहिले ग्लोबल आइएमई बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ छ । बैंक अफ काठमाण्डू (बिओके) सँग मर्जरमा जाने सम्झौता गरेको ग्लोबलको चुक्ता पुँजी ३४ अर्ब ४१ करोड रुपैयाँ हुने छ । जुन वाणिज्य बैंकहरुमा सबैभन्दा बढी हो ।
नेपाल बंगलादेश (एनबी)लाई गाभेपछि नबिल बैंकको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ । एनबीलाई १००ः४३ को स्वाप रेसियोले गाभेको नबिल बैंकले स्वाप अन्तरबाट आउने रकमलाई लाभांश बाँड्न मिल्ने हुँदा चुक्ता पुँजी साढे २८ अर्ब रुपैयाँ पुग्छ ।
नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकको चुक्ता पुँजी न्यूनतम ८ अर्ब रुपैयाँ हुनुपर्ने व्यवस्था गरेको छ । वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्ब भएको बेला पूर्वाधार विकास बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ राखिएको थियो ।
२ अर्ब रुपैयाँसमेत बैंकहरुले पुँजी पुर्याउन कठिन भएको बेला २० अर्ब रुपैयाँको चुक्ता पुँजी पूर्वाधार विकास बैंकको राखिएको थियो । जुन त्यो समयमा निकै ठूलो रकम थियो ।
२०७२ साउनमा राष्ट्र बैंकले २ अर्बबाट चुक्ता पुँजीलाई ८ अर्ब रुपैयाँ बनाउने निर्णय लियो । त्यसपछि बैंकहरुले बोनस, हकप्रद तथा मर्जर तथा एक्विजेशनबाट चुक्ता पुँजी ८ अर्ब रुपैयाँ बनाए । वाणिज्य बैंक र वाणिज्य बैंकको बिग मर्जरले चुक्ता पुँजी ८ अर्ब रुपैयाँभन्दा निकै बढी हुनपुग्यो । जसले २० अर्ब रुपैयाँ चुक्ता पुँजी राखेर खुलेको पहिलो पूर्वाधार विकास बैंकको चुक्ता पुँजी वाणिज्य बैंकको भन्दा हुने भयो ।
राष्ट्र बैंकले बासेल ३ अनुसार लगाएको न्यूनतम ११ प्रतिशतको पुँजीकोष अनुपातले बैंकहरुलाई व्यवसाय गर्नको लागि पुँजीको अभाव नै हुने देखिएको छ । यसले आगामी दिनमा वाणिज्य बैंकको चुक्ता पुँजी अझै बढ्ने देखिन्छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्ट वाणिज्य बैंकको चुक्ता पुँजी २ अर्ब रुपैयाँ भएको बेला कल्पना गरिएको २० अर्ब रुपैयाँको चुक्ता पुँजी अहिले कम देखिएको बताउँछन् ।
‘२ अर्ब चुक्ता पुँजी भएको बेला २० अर्ब रुपैयाँको चुक्ता पुँजी निकै बढी थियो, अहिले २० अर्ब चुक्ता पुँजी भएको बैंक भएपछि पूर्वाधार विकास बैंकको पुँजी सानो देखिएको हो,’ भट्टले क्लिकमाण्डूसँग भने ।
राष्ट्र बैंकले मौद्रिक नीतिमा पूर्वाधार विकास बैंकको चुक्ता पुँजी कम भएको र बढाउने संकेत गरेको छ ।
‘पूर्वाधार क्षेत्रमा लगानी गर्ने गरी स्थापित नेपाल पूर्वाधार विकास बैकको लगानी क्षमता अभिवृद्धिका लागि पूर्वाधार क्षेत्रमा नै लगानी गर्ने गरी स्थापना भई संचालनमा रहेका अन्य वित्तीय संस्थासँग मर्जर तथा प्राप्तिमार्फत् चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहित गरिनेछ,’ राष्ट्र बैंकले मौद्रिक नीतिमा भनेको छ ।
मौद्रिक नीतिमा राष्ट्र बैंकले राखेको उद्देश्य निफ्रा र जलविद्युत तथा विकास कम्पनी (एचआइडिसीएल)लाई मर्जर गराउने संकेत हो । निफ्रामा सरकारको १० प्रतिशत सेयर स्वामित्व छ ।
एचआइडिसीएलमा सरकार तथा सरकारी कम्पनी गर्दा ८० प्रतिशतजति सेयर स्वामित्व रहेको छ । २० अर्ब चुक्ता पुँजीमा खुलेको निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड छ । एचआइडिसीएलको चुक्ता पुँजी २३ अर्ब ४९ करोड छ । ठूला पूर्वाधार क्षेत्रमा लगानी गर्न खोलिएका निफ्रा र एचआइडिसीएलले कोषमा भएको पैसा वाणिज्य बैंकको मुद्दति निक्षेपमा राखेर कम्पनी चलाउने काम गरेका छन् ।
राष्ट्र बैंकले दुई संस्थालाई गाभेर ५० अर्ब रुपैयाँको पूर्वाधार विकास बैंक बनाउने योजना अगाडि सारेको छ । औपचारिकरुपमा भने योजना अगाडि ल्याएको छैन ।
बिग मर्जरले गर्दा निफ्राको भन्दा चुक्ता पुँजी बढी हुनेमा नबिल बैंक र ग्लोबल आइएमई बैंकमात्र हुने छैनन् । आधा दर्जन वाणिज्य बैंकको चुक्ता पुँजी निफ्राको भन्दा बढी हुनेछ ।
नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी अहिले १८ अर्ब ३० करोड छ । नेपाल इन्भेष्टमेन्ट बैंकले मेगासँग १००ः९० को अनुपातले मर्जरमा जाने सम्झौता गरेको छ । मेगासँगको मर्जरपछि नेपाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी ३२ अर्ब ८० करोड हुन्छ ।
यस्तै हिमालयन बैंकको अहिले चुक्ता पुँजी १२ अर्ब ९६ करोड रहेको छ । हिमालयन बैंकले सिभिललाई १००:८१ को अनुपातले गाभ्ने सम्झौता गरेको छ ।
सिभिललाई गाभेपछि हिमालयन बैंकको चुक्ता पुँजी २० अर्ब ३० करोड रुपैयाँ हुन्छ । स्वापबाट आउने अनुपातले बोनस सेयर दिएपछि हिमालयनको चुक्ता पुँजी निफ्राको भन्दा बढी हुन्छ । प्रभु बैंकले सेञ्चुरी बैंकलाई १:१ को अनुपातले गाभ्ने निर्णय गरेको छ । सेञ्चुरीलाई गाभेपछि प्रभुको चुक्ता पुँजी २२ अर्ब ४२ करोड हुने छ । जुन निफ्राको भन्दा बढी हो ।