तीन अर्ब लगानीमा मोतीलाल दुगडले बिराटनगरमा सेञ्चुरियन होटल खोल्ने, रेडिसनले व्यवस्थापन गर्ने



काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार समेत रहेका मोतिलाल दुगडले बिराटनगरमा ३ अर्ब लगानीमा सेञ्चुरियन मल सञ्चालन गर्ने भएका छन् ।

डेढ विघा क्षेत्रफलमा फैलिने उक्त मलमा पाँच तारे होटल सेञ्चुरियनसँगै कर्पोरेट, कमर्सियल, सपिङ मल, मनोरञ्जन लगायतका सुविधा समेत उपलब्ध हुनेछन् ।

सेञ्चुरियन होटलको व्यवस्थापन भने अन्तर्राष्ट्रिय चेन होटल रेडिसनले गर्नेछ । यसका लागि सोमबार राजधानीमा सम्झौता समेत भएको छ । होटल १८ महिनापछि सञ्चालनमा आउनेछ ।

मलमा केएफसी तथा पिज्जाहट समेत उपलब्ध हुनेछ ।

बिराटनगरस्थित विमानस्थलबाट ४.२ किलोमिटर तथा भारत बिहारको जोगबनी नाकाबाट १५ मिनेटको दुरीमा अवस्थित होटलमा स्वदेशी, भारतीय र तेस्रो मुलुकका पर्यटक ल्याउने लक्ष्य राखिएको छ ।

‘बिराटनगरमा स्तरीय पाँच तारे होटल सञ्चालन र त्यसको व्यवस्थापन रेडिसनले गर्नेछ, पाहुनाहरुको स्वागत तथा सत्कारमा रेडिसनको दक्षता मन परेकै कारणले सहकार्य अघि बढाएको हुँ,’ दुगडले भने ।

होटलमा आउने पाहुनहरुले मलभित्रै सपिङ र मनोरञ्जनको सुविधा लिन सक्नेछन् । होटलमा १४० रुम हुनेछन् भने होटलमा स्वीमिङ पुल, जीम, स्पा, १० हजार स्वायर फिटको विशेष प्रकारको रेष्टुराँ तथा बेन्क्युटको सुविधा पनि उपलब्ध हुनेछ ।

होटलमा क्यासिनो समेत उपलब्ध् हुनेछ । जसले अन्तर्राष्ट्रिय पाहुना आकर्षित गर्न सकिने कम्पनीको विश्वास छ ।

रेडिसन होटल अन्तर्राष्ट्रिय चेन होटल हो । यस अन्तर्गत विभिन्न ९ प्रकारका होटल ब्राण्ड सञ्चालनमा छन् । रेडिसन अन्तर्गत संसारका १२० देशमा १७०० भन्दा बढी होटल सञ्चालनमा छन् ।

जसमा रेडिसन कलेक्सन, रेडिसन ब्लु, रेडिसन, रेडिसन रेड, रेडिसन इन्डिभिजुअल, पार्क प्लाजा, पार्क इन वाइ रेडिसन, कन्ट्री इन एण्ड स्वीट बाइ रेडिसनलगायतका ब्राण्ड सञ्चालनमा छन् ।


क्लिकमान्डु