अर्थमन्त्रीमाथि छानबिन समितिः गृहमन्त्रालयसँग मागियो सिंहदरबार प्रवेश गर्ने २ गेटका सीसीटीभी फुटेज



काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न गठित संसदीय विशेष समितिले सिंहदरबारको पश्चिम र दक्षिण गेटका सीसीटीभी फुटेज माग गर्ने निर्णय गरेको छ ।

आइतबार बिहान संसद सचिवालयमा बसेको छानबिन समितिको बैठकले जेठ १४ र १५ गतेको सीसीटीभीे फुटेज उपलब्ध गराउन माग गर्दै गृह मन्त्रालयलाई पत्राचार गर्ने निर्णय गरेको समितिका सदस्य सचिव सुरेन्द्र अर्यालले जानकारी दिए ।

‘संसदले १ साताको समय थप गरेपछि शुक्रबार पनि समितिको बैठक बसेको थियो,’ अर्यालयले भने, ‘तर, शुक्रबार संसदको बैठक भएकाले कुनै निर्णय भएको थिएन् । आज समितिले सिंहदरबार प्रदेश गर्ने पश्चिम र दक्षिण गेटको सीसीटीभी फुटेज माग गर्ने निर्णय गरेको हो ।’

अर्यालयका अनुसार अबको छानबिन कसरी अगाडि बढाउने भन्ने विषयमा थप छलफल गर्न बिहान ८ बजे समितिको बैठक बस्न लागेको छ ।

अर्थ मन्त्रालयले उपलब्ध गराएको हाडड्राइभमा जेठ १४ र १५ गतेको सीसीटीभी फुटेज नभेटिएपछि समितिले साउन ४ गते नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग अन्तर्गत रहेको केन्द्रीय प्रहरी डिजिटल फोरेन्सिक विज्ञान प्रयोगशालालाई सीसीटीभी फुटेज रिकभर गरिदिन आग्रह गर्दै हार्डडिक्स दिएको छ ।

प्रहरीले अहिलेसम्म सीसीटीभी फुटेज रिकभर गर्न भने सकेको छैन ।


क्लिकमान्डु