पर्यटन पुनरुत्थानका लागि ७३ बुँदे कार्यक्रमः एक दशक भ्रमण वर्ष



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पुनरुत्थानका लागि ७३ बुँदे कार्यक्रम सार्वजनिक गरेको छ ।

पर्यटनमन्त्री जीवनराम श्रेष्ठले पर्यटनसँग सम्बद्ध संघ संस्थाहरुको छलफल तथा पर्यटन क्षेत्रका प्रबुद्ध व्यक्तिहरुबाट प्राप्त सुझावका आधारमा गत साउन ८ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।

जसमा सन् २०२३–२०३३ सम्म नेपाल भ्रमण दशकका रुपमा मनाउने उल्लेख गरिएको छ । यसका लागि ३ महिनाभित्र कार्ययोजना तयार पारिने मन्त्रालयको भनाइ छ ।

साथै, लामो समयदेखि बन्द रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा ड्युटी फ्रि सप शुरु गर्ने र ती स्थानमा नेपाली मदिरा बिक्री गरिने समेत उल्लेख गरिएको छ ।

साथै, ६ महिनाभित्र नेपालमा यूएनडब्ल्युटीओ एसिया प्यासिफिक क्षेत्रको उच्चस्तरीय टुरिजम समिट आयोजना गर्ने र ४ महिनाभित्र अन्नपूर्ण आधार शिविरमा दक्षिण एशिया तथा प्रशान्त क्षेत्रका पर्यटनमन्त्रीहरुको अन्तर्राष्ट्रिय सम्मेलन आयोजनाका लागि पहल गरिने समेत कार्ययोजना छ ।

कार्ययोजनामा ‘क्लिन नेपालः ग्रीन नेपाल’को अवधारणामा प्रदेश, स्थानीय सरकार तथा नागरिक समाज एवम् निजी क्षेत्रको सहकार्यमा १ महिनाभित्र कार्यक्रम शुरु गरिने उल्लेख छ ।

काठमाडौं उपत्यकामा एतिहासिक तथा पुरातात्विक सम्पदा जोड्ने गरी सम्पदा निर्माण गर्ने, कोरोनापछि नेपाल मोस्ट ह्यापेनिङ डेस्टिनेसनको बजारीकरण अभियान शुरु गरिने उल्लेख छ ।

साथै, काठमाडौं उपत्यकाभित्र रात्रिकालिन पर्ययनको प्रारम्भ र प्रवर्द्धन गर्ने अवधारणा अनुरुप काठमाडौं, पाटन, भक्तपुर र र्कीतिपुरमा रात्रिकालिन सम्पदा यात्राको शुरुवान गरिने उल्लेख छ ।

कार्ययोजनामा पर्यटनको नेपाल बसाइलाई थप सुरक्षित बनाउन क्राइसिस म्यानेजमेन्ट युनिट स्थापना, विभिन्न क्षेत्रमा हिल स्टेसनको विकास र सम्भाव्यता अध्ययन, सगरमाथा संवाद कार्यक्रम सञ्चालन गरिने उल्लेख छ । त्यसैगरी प्रत्येक गैरआवासीय नेपाली संघको नेतृत्वमा एक नेपाली एक विदेशी साथी नेपाल पठाउ अभियान सञ्चालन गरिने उल्लेख छ ।

हिमाल आरोहणका लागि ५ हजार ८ सय मिटरदेखि ८ हजार मिटरसम्मका थप हिमचुलीहरुको आरोहण खुला गर्ने, भारतीय र बंगलादेशी नागरिकमा लोकप्रिय गन्तव्यका रुपमा रहेका चितवन, पोखरालगायतका गन्तव्यलाई वेडिङ र अन्य सेरेमोनियल डेस्टिनेसनका रुपमा विकास गर्ने उल्लेख छ ।

नेपालको पदयात्रा तथा पर्वतारोहणलाई थप सुरक्षित, भरपर्दो र व्यवस्थित बनाउन जीपीएस ट्रयाकिङ सिस्टम कार्यान्वयनमा ल्याउने, अन्तर प्रादेशिक हवाई सेवा बिस्तार गर्ने कार्ययोजनामा उल्लेख छ ।

त्यसैगरी नेपालको उड्डयन क्षेत्रका लागि आवश्यक जनशक्ति उत्पादन गर्न अन्तर्राष्ट्रिय स्तरको फ्लाइङ स्कुल सञ्चालन प्रक्रिया अगाडि बढाउने, भैरहवा र पोखरा विमास्थलमा ल्यान्डिङ, पार्किङ र नेभिगेसन शुल्कमा दिइएको छुटलाई निरन्तता दिने, ग्राउन्ड ह्यान्डलिङ चार्जमा निश्चित प्रतिशतसम्म छुट दिने तथा चार्टर्ड फ्लाइटलाई प्रोत्साहन गर्नका लागि ट्रान्जिट कार्गोका लागि आवश्यक कानूनी व्यवस्था गर्न पहल गरिने उल्लेख छ ।

काठमाडौं उपत्यकाका प्रमुख पर्र्यटकीय स्थलहरुमा निजी क्षेत्रको सहकार्यमा होप अन होप सिटी अफ सिटी बस सञ्चालन गरिने उल्लेख छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि उपत्यकाका महत्वपूर्ण स्थानमा पुग्ने गरी विद्युतीय यातायात सेवा सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख छ ।

प्रयोगमा नआएका विमानस्थललाई बैकल्पिक प्रयोगमा ल्याउने, दुर्गम क्षेत्रमा हवाई सेवा बिस्तार गर्ने उद्देश्यले विमान खरिद गर्ने हवाई सेवा कम्पनीलाई निश्चित समयका लागि कर छुट सुविधा प्रदान गर्ने साथै दुर्गम हवाई सेवा विकास कोषलाई कार्यान्वयनमा ल्याउने उल्लेख छ ।

विमानस्थलमा रहेका मनी एक्सचेञ्ज काउन्टर २४सै घण्टा कार्यान्वयनमा ल्याउने, त्यसका लागि विद्युतीय सूचना बोर्ड राख्ने, सबैभन्दा धेरै विदेशी यात्रु ल्याउने विमान कम्पनी, ट्राभल एजेन्सी, पर्यटन सम्बद्ध संघ संस्था तथा नियमित ट्राभलरहरुलाई मादण्ड बनाइ छुट, राहत तथा सम्मान गरिनेछ ।

विमानस्थलका ट्याक्सीहरुमा जीपीएस प्रणाली राखिने, पर्यृटक ट्याक्सी चालकलाई निर्धारित पोशाक र व्यवहारगत तालिम दिने कार्ययोजनामा उल्लेख छ ।

त्यसैगरी नेपाल वायुसेवा निगमले मार्केटिङ इन्फरमेशन डाटा टेप्स (एमआईडीटी) ल्याइने बजार व्यवस्थापनको रणनीति बनाउने, नेपाल एयरलाइन्सका सबै प्रकारका टिकटलाई अनलाइनबाट बिक्री गर्ने व्यवस्था मिलाउने पनि कार्ययोजनामा समेटिएको छ ।

एक महिनाभित्र नेशनल टुरिजम डिजिटल म्याम तयार पारी कार्यान्वयनमा ल्याउने, माइस टुरिजम प्रवर्द्धन गरिने, भारत, बंगलादेश, चीन तथा वन स्टप डेस्टिनेशन लक्षित पर्यटन स्रोत बजारमा प्रभावकारी बजारीकरण गरिनेछ ।


क्लिकमान्डु