विदेशी अस्पतालमा उपचाररत कामदारको सहजताका लागि कार्यदल गठन



काठमाडौं । वैदेशिक रोजगारीमा गम्भीर घाइते वा विरामीहरुको उपचार गर्न तथा उद्धार गर्नका लागि अध्ययन गर्न कार्यदल गठन गरिएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले मन्त्रीस्तरीय निर्णयबाट एक कार्यदल गठन गरिएको हो ।

तीन सदस्यीय उक्त कार्यदलको संयोजकमा मन्त्रालयका रोजगार व्यवस्थापन महाशाखाका प्रमुख र सदस्यमा परराष्ट्र मन्त्रालयका सहसचिव र वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक रहनेछन् ।

समितिले विशेष गरी वैदेशिक रोजगारीमा गई सघन उपचारमा रहेका श्रमिकहरुको एकीकृत तथ्याङ्क तयार गर्ने, तिनीहरुलाई उद्धार गरी स्वदेशमा फर्काउने उपायहरुको पहिचान गर्नेछ ।

साथै, स्वदेशमा ल्याए पश्चात सरल एंव प्रभावकारी उपचारको व्यवस्थापन गर्ने र यस कार्यका लागि आवश्यक श्रोत, साधन वैदेशिक रोजगार बोर्डको कल्याणकारी कृयाकलापबाट व्यहोर्ने काम गर्नेछ ।

साउदी अरबका विभिन्न अस्पतालमा गम्भीर अवस्थामा नेपाली विरामीका सम्बन्धमा परराष्ट्र मन्त्रालयले पटक–पटक लेखी पठाएको थियो । असार २८ गते परराष्ट्र मन्त्रालयको वैदेशिक रोजगार विभाग तथा वैदेशिक रोजगार बोर्डको सचिवालय प्रतिनिधिहरुको छलफल भएको थियो ।

उक्त बैठकले साउदी अरबसहितका रोजगारदाता मुलुकमा उपचार गराइरहँदा उपचार खर्च तिर्न नसकेका, भिसाको अवधि नाघिसकेका नेपालीहरुको समेत अवस्थालाई दृष्टिगत गर्दै उपचार, हेरचाह र व्यवस्थापनका लागि एक निर्देशिका तर्जुमा गरी सोहीअनुसार काम अगाडि बढाइने निर्णय गरेको थियो ।

त्यस्तै विदेशी अस्पतालहरुमा उपचाररत नेपाली नागरिकहरुको विवरण स्थायी ठेगाना, स्वास्थ्य अवस्था, रोगको प्रकृति, अस्पताल भर्ना मिति, भिषाको समयावधि लगायतका विषयमा अद्यावधिक गर्ने काम वैदेशिक रोजगार वोर्डको सचिवालयले गर्नेछ ।

सोही बैठकको छलफलको भावनाका आधारमा मन्त्रीले वैदेशिक रोजगार बोर्डको कल्याणकारी क्रियाकलापबाट आवश्यक स्रोत, साधनको व्यवस्थापन गर्ने गरी तीन सदस्यीय कार्यदल गठन गर्न सचिवलाई निर्देशन दिएका छन् ।

कामको सिलसिलामा विभिन्न गन्तव्य मुलुकमा पुगी काम गर्ने क्रममा विरामी भएर अस्पतालमा उपचाररत नेपालीको संख्या धेरै ठुलो रहेकाले उनीहरुलाई स्वदेशमा ल्याउन कुनै पनि समस्या भए मन्त्रालय र बोर्डले समाधान गर्न तयार रहेको मन्त्रीका निजी सचिव कृष्ण सुवेदीले बताए ।


क्लिकमान्डु