मौद्रिक नीति शुक्रबार ४ बजे सार्वजनिक हुने



काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार अपराहन्न ४ बजे मौद्रिक नीति सार्वजकि गर्ने भएको छ ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि मौद्रिक नीति फेसबुकमार्फत् लाइभ गरिने जानकारी समेत दिएको छ ।

राष्ट्र बैंकका गभर्नर अधिकारीले मौद्रिक नीतिको छलफल कार्यक्रममा सरकारले लिएको ८ प्रतिशतको आर्थिक बृद्धिदरको लक्ष्य अहिलेको कर्जा प्रवाहबाट नै पूरा गर्न सकिने बताएका थिए ।

राष्ट्र बैंकले २०७६ सालको चैतमा स्थगत गरेको काउन्टर साइक्लिकल बफरलाई कार्यान्वयन गर्ने तयारी गरेको छ । बैंकहरुको पुँजीकोष अनुपात ११ प्रतिशत हुनुपर्ने व्यवस्था छ ।

जसमा प्राथमिक पुँजीकोष अनुपात ९टायर १० साढे ८ प्रतिशत हुनुपर्छ । ऋणपत्र जोडेर ११ प्रतिशत न्यूनतम पुँजीकोष बैंकहरुले कायम गर्नुपर्छ ।

राष्ट्र बैंकले २०७७ साल असार मसान्तसम्म बैंकहरुले २ प्रतिशतले थप काउन्टर साइक्लिकल बफर राख्नुपर्ने व्यवस्था गरेको थियो । २०७६ साल चैतमा कोरोना भाइरसको कारण लकडान लागू भएपछि राष्ट्र बैंकले यसलाई स्थगित गरेका थियो ।

कोरोना भाइरस संक्रमणको अवस्था बैंकहरुको ऋण दिने क्षमताको विकास गराउने उद्देश्यले काउन्टर साइक्लिकल बफरको व्यवस्था स्थगित गरिएको हो ।

राष्ट्र बैंक स्रोतले ऋण प्रवाह कम गर्नको लागि यसअघि नै घोषणा भएर कार्यान्वयन नभएको काउन्टर साइक्लिकल बफर लागू हुने जानकारी दिएको छ ।

तीनवर्ष अगाडि राष्ट्र बैंकले २ प्रतिशतले काउन्टर साइक्लिकल बफर राख्नुपर्ने व्यवस्था गरेको थियो । यो पटक २ प्रतिशतले नै सो व्यवस्था लागू हुने सम्भावना रहेको छ । मौद्रिक नीतिलाई अन्तिम रुप दिने बेला यो व्यवस्था फरक हुनसक्छ ।

काउन्टर साइक्लिकल बफर लगाएपछि बैंकहरुले कर्जा दिनका लागि पुँजी बढाउनुपर्ने हुन्छ । अहिले राष्ट्र बैंकले पुँजी बढाउनका लागि हकप्रद सेयर रोकेको छ ।

काउन्टर साइक्लिकल बफर टायर १ क्यापिटलमा लाग्छ । यसको लागि बैंकहरुले अहिले निष्कासन गर्ने ऋणपत्र जोड्न पाइदैन ।

हकप्रद सेयर निष्कासन गर्न रोक लगाउने तथा अहिलेको ऋणपत्र यसमा जोड्न नपाइने हुँदा बैंकहरु कर्जा प्रवाहमा सुस्त हुने विश्लेषण राष्ट्र बैंकको छ ।


क्लिकमान्डु