डब्ल्यूएपीपीपीका प्रतिनिधिलाई प्रधानमन्त्रीले भने- लगानीका लागि नेपाल सुरक्षित गन्तव्यको हो



काठमाडौं । वर्ल्ड एसोसिएसन अफ पब्लिक प्राइभेट पार्टर्नरसिप इकाइ र प्रोफसनल्सहरुका प्रतिनिधिहरुले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

एसोसिएसनका अध्यक्ष जियाद अलेक्जेन्डर हायेकसहितको तीन जनाको टोलीले भेटमा पीपीपी मोडलमा पूर्वाधार तथा व्यवसायिक सम्भाव्यता भएका परियोजनामा कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए ।

यसका लागि वैदेशिक लगानी आकर्षित समेत गर्न सकिने उनीहरुको सुझाव थियो ।

पीपीपी तथा लगानीसम्बन्धी कानूनी र संस्थागत व्यवस्थामार्फत् नेपालको सार्वजनिक–निजी–साझेदारीमार्फत् स्रोतको खाडल पूर्ती गरी आर्थिक विकासको लाभ हासिल गर्न प्रयास राम्रो रहेको उनीहरुको भनाइ थियो ।

भेटमा लगानी बोर्डका सीइओ सुशील भट्टले संस्थागत र व्यवसायिक क्षमता विकासमा एसोसिएसनबाट प्राप्त सहयोगका लागि धन्यवाद दिएका थिए ।

भट्टले लगानी बोर्डले ३३ परियोजनाका लागि १० खर्ब ४० अर्ब लगानी स्वीकृत गरिसकेको बताएका थिए । बोर्डको रणनीतिक योजना अनुसार सन् २०२५–२६ सम्म १० अर्ब डलर बराबरको लगानी स्वीकृति गर्ने लक्ष्य रहेको समेत उनले बताएका थिए ।

प्रधानमन्त्री देउवाले पीपीपी अन्तर्गत स्वच्छ र नवीकरणीय उर्जा, दिगो एवम् उत्थानशिल पर्यटन, स्वास्थ्य, शिक्षा, सूचना–प्रविधि, सुरक्षित सहरी विकास, विद्युतीय यातायात, सुरुङमार्ग, औद्योगिक उत्पादन, कृषि प्रशोधनलगायतका कैयन सम्भावना रहेकोब ताएका थिए ।

उनले नेपाल लगानीका लागि उदयिमान गन्तव्य समेत भएको बताएका थिए ।


क्लिकमान्डु