पुनः शुरु भयाे इजरायल रोजगारी, साउन ८ र ९ गते सय जना उड्दै



काठमाडौं । वैदेशिक रोजगार विभागले दीर्घकालीन स्याहार केन्द्रमा सहयोगी कामदार (केयरगिभर) क्षेत्रमा इजरायल जान रोकिएका कामदार पुनः पठाउन शुरु गरेको छ ।

इजरायलको परराष्ट्र मन्त्रालयसम्बद्ध कर्मचारीहरूको श्रम विवाद कारणले गर्दा परीक्षा दिई छनौट भई ५ महिनादेखि रोकिएका कामदार आगामी साउन ८ र ९ गते १ सय जनालाई पठाउने तयारी गरेको हो ।

विभागले बुधबार सूचना जारी गर्दै इजरायल रोजगारीमा जान रोकिएको श्रमिकलाई आगामी ८ र ९ गते पठाउने तयारी गरेको जनाएको छ ।

‘आफ्नो राहदानी बुझ्न, उडानअनुसार बनाइने भाइबर ग्रुपमा आफ्नो नाम समावेश गराउन र आफूले लगाएको कोभिड–१९ विरुद्ध खोपहरू सम्बन्धी विस्तृत उल्लेख गर्न व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान भैसेपाटी, ललितपुरमा साउन ६ गते (शुक्रबार) ११ बजे सम्पर्क गनुपर्नेछ,’ जारी सूचनामा उल्लेख छ ।

त्यसैगरी, उक्त दिनमा इजरायलको लागि हवाई उडान हुने भएकाले टिकट बुकिङ्का लागि आफ्नो राहदानी लिई सिलिङ्क होलिडे प्रालि नागपोखरी नक्सालमा सम्पर्क गर्न आग्रह गरेको छ । विभागले ५९ हजार ९९० रुपैयाँ हवाई भाडा तोकेको छ ।

सरकारले इजरायलसँग जीटुजीमार्फत् केयरगिभर पठाउने गरी श्रम सम्झौता गरेको छ । जसमा इजरायल सरकारले दक्ष कामदार लैजानका लागि इच्छुक देखाएको थियो । सोहीअनुसार इजरायल सरकारले पहिलो चरणमा केयरगिभर लैजान इच्छुक देखाएको थियो ।

इजरायल सरकारले केयरगिभर लैजाने सम्झौता गरेसँगै नेपाल सरकारले इजरायल रोजगारीका लागि परीक्षा लिएका थिए । जसमा परीक्षा दिएका ११ सय ७५ जना छनौट भएको विभागले जनाएको छ ।

विभागका अनुसार उक्त परीक्षाबाट छनौट भई गत माघ ५ गतेबाट इजरायलले कामदार लैजान शुरु गरेको थियो । छनौट भएकामध्ये २ सय ९७ जना नेपाली इजरायल पुगिसकेका छन् ।

विभागले गत असार १७ गते नै इजरायल जानका लागि छनौट भई जान नपाएका कामदारका लागि पुनः स्वास्थ्य परीक्षण गर्न सुचना प्रकाशित गरिसकेको थियो ।


क्लिकमान्डु