नेपाल वायुसेवा निगमले तिर्यो १ अर्ब ३५ करोड ऋण



काठमाडौं । नेपाल वायुसेवा निगमले १ अर्ब ३५ करोड रुपैयाँ ऋण तिरेको छ ।

विमान खरिदका लागि कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई तिर्नुपर्ने दायित्व अन्तर्गत किस्ता वापतको उक्त रकम तिरेको हो ।

सञ्चय कोषको हकमा न्यारोवडी जहाज खरिद वापतको ४५ करोड र वाइडबडी जहाज खरिद वापतको ४५ करोड रुपैयाँ गरी जम्मा ९० करोड किस्ता वापतको रकम भुक्तानी गरिएको छ ।

त्यसैगरी, नागरिक लगानी कोषको हकमा पनि बाइडबडी जहाज खरिद गर्दाको ऋण दायित्वको किस्ता वापतको ४५ करोड रुपैयाँ भुक्तानी गरिएको छ ।

विगतमा विश्वव्यापी कोरोना महामारीका कारण विश्व उड्डयन बजार नै धराशायी हुँदै गर्दा निगम पनि अप्ठ्यारो समयबाट गुज्रिनु परेको यथार्थका बीच व्यवसायमा आएको तत्कालीन शिथिलताले आम्दानीको स्रोतमा समेत नकारात्मक असर पर्न गएको थियो ।

पछिल्लो समय कोरोनासम्बन्धी स्वास्थ्य मापदण्डमा आएको विश्वव्यापी खुलापनसँगै अन्तर्राष्ट्रिय उडानमा सहजता, सिट अकुपेन्सी दरमा सुधार, उडानमा भएको सामान्यीकरण तथा नियमिततासँगै आम्दानीमा समेत तुलनात्मक बढोत्तरी भएको कारण उक्त किस्ता तिर्न सहज भएको निगमको भनाइ छ ।


क्लिकमान्डु