चोरी गरेर अमेरिका पुर्याइएको टुँडाल नेपाल फर्काइयो



प्रतिकात्मक तस्बिर

काठमाडौं । नेपालबाट चोरी गरी अमेरिका पुर्याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काइ पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ ।

पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौंस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र ११०.२ किलोग्राम तौलका दुई टुँडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गरे ।

काठमाडौं महानगरपालिका–१२ ह्युमत टोलमा रहेको दुईछाने नारायण मन्दिरको पहिलो छानो अड्याउन १३औं र १४औं शताब्दीमा बनेका दुई टुँडाल १९८० को दशकमा चोरी भएको थियो ।

उक्त टुँडालहरु एक अमेरिकी नागरिकले जम्मा गरी सन् २००३ मा आर्ट इन्ष्टिच्युट अफ सिकागोमा प्रदर्शनीमा राखेका थिए ।

उनले पुरातात्विक महत्वका उक्त टुँडाल नेपाल फर्काउन चाहेपछि नेपाली महावाणिज्यदूतावाससँग समन्वय गरी बीमा र ढुवानी खर्चसमेत बेहोरी युएस आर्ट कम्पनीको सहकार्यमा नेपाल फर्काएका हुन् ।

हालसम्म बेलायतबाट १९ थान, अष्ट्रेलियाबाट एक थान, अमेरिकाबाट २३ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ र जर्मनीबाट एक थान मूर्ति तथा कलावस्तुहरु नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ ।- रासस


क्लिकमान्डु