राजापक्ष पथमा देउवा, छोरा जयविरसिंहले आयात गर्ने व्यापारमा कर छुट 



काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राजापक्ष शैलीलाई अगाडि बढाएका छन् । श्रीलंकामा महिन्द्रा राजापक्षले राजनीति तथा व्यवसायमा आफ्नो परिवारलाई स्थापित गरेका थिए । श्रीलंका आर्थिक संकटमा आउनुनमा राजापक्ष परिवारको प्रमुख योगदान छ । 

अहिले नेपाली अर्थतन्त्र विदेशी विनिमय सञ्चितिको कारण समस्यामा पर्न थालेको छ ।

अर्थतन्त्र समस्यामा पर्दा कुनै छलफल नगरेका प्रधानमन्त्री देउवाले श्रीमती आरजु राणालाई कांग्रेसको केन्द्रीय सदस्य जिताउन महाधिवेशनबाट सफल भइसके । आरजु देउवाकै कारण दुईपटक संविधानसभा सदस्य बनेकी थिइन् ।

५ वर्ष अगाडि भएको प्रतिनिधिसभा निर्वाचनमा भने उनी पराजित भएकी थिइन् । अहिले सरकारले गर्ने महत्वपूर्ण नियुक्तिहरुमा आरजु सहमति दिएपछि मात्र हुने गरेको चर्चा कांग्रेसभित्र छ ।

कोइराला परिवारको विरोध गरेर कांग्रेस राजनीतिमा स्थापित देउवाले कोइराला पथलाई निरन्तरता दिदैं आफूपछिको नेतृत्व आरजुमा लैजाने चर्चा कांग्रेसभित्र चल्छ । यो त भयो कांग्रेस राजनीति र अहिलेको नियुक्तिमा आरजुले गरिरहेको हस्तक्षेपको कुरा । 

गत जेठ १५ मा ल्याएको बजेटमा सरकारले प्रधानमन्त्री शेरबहादुर देउवाका एकमात्र छोरा जयविरसिंह देउवाको कम्पनीलाई छुट पुग्ने गरेर कर छुटको नीति लिएको देखिएको छ ।

जयविरसिंह देउवा ब्लुप्रिन्ट ट्रेडिङ कम्पनीले सेनिटरी प्याड तथा ड्राइपर आयातको काम गर्छ । बजेट बनाउने क्रममा अर्थमन्त्रालय बाहिरका व्यक्तिलाई संलग्न गराएको तथा मन्त्रालयको सीसीटिभी फुटेज हटाएपछि विवादमा परेका जनार्दन शर्माले ल्याएको बजेटमा सेनिटरी प्याडमा लाग्ने भन्सार शुल्कमा ९० प्रतिशतले कटौती गरेका थिए । सेनिटरी प्याडमा लाग्ने कच्चा पदार्थको आयात भने ३० प्रतिशत पुर्याएका थिए । 

राजीनामा घोषणा प्रतिनिधिसभाको बैठकमा गर्दै गर्दा शर्माले आफूले रातो कर हटाउने नीतिको कारण प्याड आयातमा लाग्ने भन्सार शुल्क घटाएको स्पष्टिकरण दिएका थिए । 

१ करोड चुक्ता पुँजी रहेको ब्लुप्रिन्ट ट्रेडिङमा जयविरको नाममा ७० प्रतिशत सेयर हिस्सा छ भने चितवनका हेमन्त बजगाइको नाममा ३० प्रतिशत सेयर स्वामित्व रहेको छ । कम्पनी रजिष्ट्रारको कार्यालयमा २०७७ पुस १२ गते प्रमाणित सेयर लगत अनुसार कम्पनीमा जयविरसिंह देउवा नै अध्यक्ष छन् ।

जयविरको नाममा सुरुमा शतप्रतिशत स्वामित्व हुने गरेर खोलिएको कम्पनीमा बजगाइ ३० प्रतिशत स्वामित्व सेयर लिएर २०७६ सालमा भित्रिएको देखिन्छ । कम्पनी आर्थिक वर्ष २०७४/७५ मा खोलिएको देखिन्छ ।

स्वदेशी प्याड तथा डाइपर उद्योगीका अनुसार बजगाइ आयातकर्ता व्यवसायी हुन् । जयविरले व्यवसायको दैनिक व्यवस्थापनको लागि बजगाइलाई भित्राएको देखिन्छ । नेपालका एउटा ठूलो व्यवसायिक घरानाको व्यक्तिले जयविरलाई स्पोन्सर गरेर पछिल्लो समय विदेश भ्रमण समेत गराएको चर्चा कर्पोरेट क्षेत्रमा रहेको छ ।

शेरबहादुर देउवाका छोरा जयविरको कम्पनीको सेयर लगत

बजेट अगाडि विदेशबाट स्यानिटरी प्याड आयात गर्दा १५ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको थियो । सरकारले ९० प्रतिशत छुट दिने भएपछि १.५ प्रतिशतमात्र शुल्क लाग्ने छ । 

स्वदेशी उद्योगको लागि चाहिने कच्चा पदार्थमा भने १२ प्रतिशत भन्सार शुल्क लाग्ने गरेको छ । ‘सरकारले दिएको छुटले अब विदेशी स्यानिटरी प्याड सस्तो हुन्छ,’ नेपाल स्यानिटरी प्याड उत्पादक संघका अध्यक्ष डोलराज अधिकारीले भने, ‘स्वदेशी उद्योगबाट उत्पादित प्याड बिक्री हुँदैनन् । अब हाम्रा उद्योग धराशायी भएर बन्द हुनेछन् ।’

बजेट मार्फत आयात हुने प्याडमा भन्सार घटाएपछि स्वदेशी उद्योग धरासायी हुने भन्दै प्याड उद्योगीले प्रधानमन्त्री देउवा तथा एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’लाई समेत भेटर नीति सच्चाउन माग गरेका थिए । बिराटनगरमा उद्योगीहरुले बजेटको विरोधमा आन्दोलन गर्दा आयात हुने प्याड उद्योगमा घटाएको भन्सार शुल्कको नीति परिवर्तन हुनुपर्ने माग राखेका थिए ।

उद्योगीसँगको छलफलमा जनार्दन शर्माले बजेट पास भएपछि नीति सच्याउने प्रतिबद्धता व्यक्त गरेका थिए । प्याड उद्योगमा सबैजनाको गरेर ६ अर्ब बढी लगानी रहेको छ । ठूला र साना गरेर ४० वटा स्वदेशी प्याड तथा डाइपर उद्योग सञ्चालनमा रहेका छन् । ६ हजारजनाले अहिले रोजगारी पाइरहेका छन् । 


क्लिकमान्डु