कोभिडमा दिएको सुविधा सधैँ दिन सकिदैन: गभर्नर अधिकारी 



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोभिडमा दिएको सुविधा सधैँ दिन नसकिने बताएका छन् । 

निजी क्षेत्रका व्यवसायीहरूले २०७७ सालमका ल्याएको जस्तो मौद्रिक नीतिको अपेक्षा गरेको बेला गभर्नर अधिकारीले सुविधा कटौती हुने घोषणा गरेका हुन् । 

नेपाल व्यवस्थापन संघ(म्यान)ले आयोजना गरेको मौद्रिक नीतिको छलफलमा गभर्नर अधिकारीले राष्ट्र बैंकले कोभिडको समयमा दिएको सुविधाले अर्थतन्त्र ‘भी’आकारमा फर्केको बताए । 

‘कोभिडको समयमा व्यवसाय चलाउनको लागि हामीले ऋण संरचनादेखि लिएर पुनरकर्जाको सुविधा दिएका थियौं,क्रमशः सुविधाहरु हटाउदै लैजाने हो,’अधिकारीले भने । उनले सुविधा कटौती अन्तर्गत नै चालु आर्थिक वर्षको मौद्रिक नीतिको मध्यावधि समीक्षा मार्फत पुनरकर्जाको ब्याजदर बढाएको तथा आकार घटाउदै लैजाने बताए । 

गभर्नरले अनिवार्य नगद मौज्जात(सीआरआर) ३ प्रतिशतमा राखेको तथा काउन्टर साइकल बफरलाई समेत कोभिडको समयमा स्थगित गरिएको जानकारी दिए । 

अहिले बैंक तथा वित्तीय संस्थामा ५० खर्बभन्दा बढी निक्षेप रहेको तथा सो अनुसारको लगानी भएको भन्दै यसको प्रभाव अर्थतन्त्रमा देखिनुपर्ने बताए । 

‘जीडीपीको आकारभन्दा बढीको लगानी वित्तीय क्षेत्रले गरेको छ,यही आधारमा राज्यले ८ प्रतिशतको बृद्धिदरको लक्ष्य लिएको छ,हामीले स्रोतको अधित्तम प्रयोग गर्नुपर्छ,’गभर्नर अधिकारीले भने । 

अर्थतन्त्रमा अहिले विदेशी मुद्राको सञ्चिति घट्दा समस्या भएको भन्दै आन्तरिक उत्पादन बढाउने नीति राष्ट्र बैंकले लिने जानकारी दिए । अर्थतन्त्र कोभिडपछि पुनरुत्थान हुँदै गर्दा रुस र युक्रेन युद्धले मूल्यमा समस्या पारेको तथा अमेरिकामा भएको मूल्यवृद्धिको असर समेत नेपालमा परेको जानकारी गभर्नरले दिए । 

कार्यक्रममा व्यवसायीहरूले २०७७ सालको मौद्रिक नीतिले अर्थतन्त्र जोगाउन मद्दत गरेको भन्दै अहिले समस्या भएको बेला सहज खाले मौद्रिक नीति ल्याउनुपर्ने माग गरेका थिए । 


क्लिकमान्डु