सरकारलाई निगमको १० बुँदे सुझावः तेल खपत कम गर्न एकपटकमा मोटरसाइकललाई ५ लिटरमात्रै इन्धन



काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खपत घटाउनका लागि सरकारलाई १० बुँदे सुझाव दिएको छ ।

पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय रुपमा अत्यधिक रुपमा बढेपछि आयातमा ठूलो खर्च हुन थालेसँगै निगमले सोमबार सरकारलाई सुझाव दिएको हो ।

जसमा मोटरसाइकललाई एक पटकमा ५ लिटर र कार तथा जीपलगायतका साना सवारी साधनलाई २० लिटर मात्रै इन्धन बिक्री गर्नुपर्ने सुझाव दिएको छ ।

जसमा निगमले सार्वजनिक तथा अत्यावश्यक सेवा सवारी साधन बाहेक सरकारी तथा निजी सवारी साधन जोर–बिजोर प्रणालीमा सञ्चालन गर्नुपर्ने सुझाव दिएको छ ।

साथै, प्रमुख सहरहरुमा प्रत्येक शनिबार रहित सार्वजजिक विदा घोषण गर्ने सुझाव दिएको छ । जसअनुसार शनिबार गाडी चलाउने दिन नहुने निगमको सुझाव छ ।

साथै खाना पकाउने एलपी ग्याँस खपत कम गर्न विद्युतीय चुल्हो सहुलियत दरमा बिक्री गरी विद्युतको शुल्क घटाउने, राजमार्गमा निःशुल्क चार्जिङ स्टेसन निर्माण गर्ने, सार्वजनिक÷निजी पार्किङ स्थलमा विद्युतीय सवारीका लािग निःशुल्क पार्किङ स्थल तोक्नुपर्ने सुझाव दिएको छ ।

पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन लगायतका उपकरणको आयात बन्द गर्ने र ठूला उद्योग, परियोजना, होटलआदिले डिजल र एलपी ग्याँसको खपत कम गर्न विद्युतको खपत बढाउनुपर्ने निगमको सुझाव छ ।


क्लिकमान्डु