एयर बीएनबी आफ्नो प्लेटफर्म अन्तर्गत संसारभर पार्टी गर्न लगायो रोक



काठमाडौं । एयर बीएनबीले आफ्नो प्लेटफर्म अन्तर्गतका सबै घरमा पार्टी गर्न रोक लगाएको छ ।

संसारभरका घर तथा रुमहरु अनलाइनमार्फत्् वेवसाइट तथा एप प्रयोग भाडामा उपलब्ध गराउने आएको एयर बीएनबीले यस अन्तर्गत भाडामा लिने घरमा पार्टी नपाइने भएको हो ।

कम्पनीले सम्बन्धित घरका मालिकहरुबाट उजुरी परेपछि सन् २०२० अगस्टमै यस्तो नियम ल्याएको थियो । घर भाडामा लिएर पार्टी गर्नेहरुका कारण छिमेकमा होहल्ला भएपछि यस्तो नियम ल्याइएको हो ।

एयर बीएनबीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो नियम लागू भएसँगै ४४ प्रतिशतले उजुरी कम भएको छ ।’

साथै कम्पनीले घरमा एक साथ बस्ने मानिसको संख्याको सीमा समेत हटाएको बताएको छ । यसअघि एउटा घरमा १६ जनाभन्दा बढी बस्न नपाएने नियम लागू गरिएको थियो ।

ठूला घरहरुले एक साथ १६ जनाभन्दा बढीलाई सेवा दिन सक्ने र कोरोना महामारीको जोखिम पनि कम भएकाले नियम हटाइएको हो । कम्पनीले गत वर्षमात्रै नियम तोड्ने ६ हजार ६ सयभन्दा बढीलाई सदस्यबाट हटाएको थियो ।


क्लिकमान्डु