नेताहरु घमण्डी हुँदा देश बनेनः मन्त्री चौधरी



काठमाडौं । नवनियुक्त शहरी विकास मन्त्री मेटमणि चौधरीले नेताहरु घमण्डी भएकाले देश अघिबढ्न नसकेको दाबी गरेका छन् ।

सोमवार पद तथा गोपनियताको शपथपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री चौधरीले यस्तो बताए । उनले मुलुक चलाउने मान्छे घमण्डी हुन्जेल देश अघिबढ्न नसक्ने जिकिर गरे ।

मन्त्री चौधरीले सबैले आफ्नो ठाउँबाट सकेजति देश विकास गर्न सहयोग गर्नुपर्ने बताए । उनले नेताहरुले नीति बनाउँदा आफू सुरक्षित हुने किसिमबाट नीति निर्माण गरेको भन्दै इमान्दारिताको खाडल भर्न अब लाग्ने बेला भएको बताए ।

उनको भनाइ जस्ताको त्यस्तै

मुलुक अघि जान नसक्नुको एउटामात्रै कारण के हो भने हामी सबै धेरै घमण्डी भयौँ । मुलुक चलाउने मान्छे पनि घमण्डी भयौँ । कर्मचारीको बारेमा त के भनौँ र ? तर हामीले आफ्नोतर्फबाट पनि जे गर्नुपर्ने हो त्यो गरिरहेका छैनौँ । आफ्नो बचावटको लागि हामी नेताहरु नै आफू बच्नको लागि सुरक्षित नीति नियम बनाउने । आफूलाई संरक्षण गर्ने किसिमका कानून बनाउन खोज्ने, मुलुकलाई इमान्दारीपूर्वक योगदान गरौँ । कुनैपनि व्यक्तिले स्ट्रङ कमिटमेण्ट नगर्दासम्म मुलुक बन्दैन । हामीलाई अफ्ठ्यारो त छ नि, घुस खान पाउँदा पैसा हुन्छ, अरु बद्मासी गर्दा अरु होला । यो तरिकाले त मुलुक बन्दैन रहेछ नि । देश बनाउनको लागि सबैले सामूहिक रुपमा प्रतिवद्धता जनाऔं ।


क्लिकमान्डु