हैजाको आशंकामा ललितपुरभित्र एक सातासम्म पानीपुरी र चटपटे बिक्रीमा राेक



काठमाडौं । ललितपुर महानगरपालिकाले महानगरभित्र एक सातासम्मका लागि पानीपुरी र चटपटे बिक्रीमा रोक लगाइएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा हैजाका बिरामीहरु भेटिएको र हैजा दुषित पानीको कारणले भएको निष्कर्षपछि महानगरले पानीपुरी र चटपटे बिक्रीमा रोक लगाएको हो ।

महानगरका नगर प्रहरी प्रमुख सिताराम हाछेथुका अनुसार तत्कालका लागि एक सातासम्म ठेला र रिक्सामा पानीपुरी तथा चटपटे बिक्रीमा रोक लगाइएको हो ।

‘हैजाको कारण दुषित पानी देखियो र पानीपुरीमा धाराको पानी प्रयोग गरेको पाइयो,’ उनले क्लिकमाण्डूसँग भने, ‘अहिले कम्तीमा एक साता र हैजा नियन्त्रण नहुँदासम्म बिक्रीमा रोक लगाइएको हो ।’

उनका अनुसार पसलभित्र पनि कस्तो पानी प्रयोग भइरहेको छ सोका आधारमा बिक्रीमा रोक लगाइनेछ ।

‘हामीले कोरोना महामारीको समयमा लकडाउनमा संयमित जीवन बिताएका हौं, यसपटक पनि सोही अनुसार बिक्रीमा रोक लगाइएको हो,’ उनले भने ।

उनका अनुसार आइतबार माइकिङ गरी करिब ९ स्थानमा अनुगमन गरिएको छ र सोमबारदेखि बिक्री गरेको पाइएमा सामान नै जफत गरिनेछ ।

‘आइतबार महानगरभरी माइकिङ गर्दै बिक्री नगर्न र घर जान भनिरहेका छौं, तर सोमबार पनि कतै बिक्री गरेको भेटिए सामान जफत गर्नेछौं,’ उनले भने ।


क्लिकमान्डु