पेट्रोलमा २० र डिजलमा २९ रुपैयाँ घट्यो



काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ ।

सरकारले पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ र डिजलमा प्रतिलिटर २९ रुपैयाँले घटाएको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले मूल्य घटाएको हो ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ र डिजल प्रतिलिटर १६३ रुपैयाँ भएको छ ।

यसअघि शनिबार विहान बालुवाटारमा कर कटौती गर्ने सहमति भएको थियो ।

उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति अन्तर्गत गठन भएको प्रकाश रसायली नेतृत्वको उपसमितिले दक्षिण एसियाली देशमध्ये नेपालमा पेट्रोलियम पदार्थको मूल्य धेरै भएको भन्दै पेट्रोलियम पदार्थको कर ५० प्रतिशत घटाउन निर्देशन दिएको थियो ।

उपसमिति निर्दशन शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको सत्तारुढ दलको बैठकले पेट्रालियम पदार्थको कर समायोजन गर्ने निर्णय गरेको थियो ।

स्रोतका अनुसार उद्योगमन्त्री बडूले विगतदेखि नै पेट्रोलियम पदार्थको कर समायोजन गर्नुपर्ने प्रस्ताव राखे पनि लक्ष्यअनुसार राजस्व संकलन नहुने भन्दै अर्थमन्त्री जनार्दन शर्माले बडूको प्रस्तावमा सहमति जनाएका थिएनन् ।

कतिसम्म भने, गत जेठ १० गते मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थमा पूर्वाधार कर घटाउने सैद्दान्तिक निर्णय गरेपनि अर्थमन्त्रालयले करका दर घटाएको थिएन ।


क्लिकमान्डु