सीसीटिभीबाट त्रसित अर्थमन्त्रीः ‘कसैले माग्दैमा फुटेज हेर्न दिइन्न’



काठमाडौं । गतसाता बजेट निर्माणको क्रममा अर्थमन्त्रालयमा पूर्वनासू र सीए संलग्न भएको समाचार सार्वजनिक भयो ।

अन्नपूर्ण पोस्टले सार्वजनिक गरेको समाचारमा बजेट सार्वजनिक गर्ने अघिल्लो दिन अर्थमन्त्री शर्माको कार्यकक्षमा नासू र सीए मिलेर बजेटमा करका दरहरु परिवर्तन गरेको उल्लेख गरिएको छ ।

उक्त समाचार प्रकाशित भएपछि राजनीतिक दलहरुले विशेष गरी प्रतिपक्षी दलका नेता तथा सामाजिक सञ्जालमा अर्थमन्त्रीको चर्को आलोचना मात्रै भएको छैन उनको राजीनामा समेत माग गरिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले त संसदमा अर्थमन्त्रीलाई बहिस्कार गर्दै आएको छ ।

तर अर्थमन्त्री शर्माले पनि यसलाई नकार्दै आएका छन् ।

अर्थमन्त्री शर्माले गम्भीर आर्थिक बिचलन हुने गरी काम गरेको आरोप लाग्दा समेत सामान्य नैतिकता देखाउन सकेका छैनन् ।

समाचार प्रकाशित भएपनि अर्थमन्त्रालयले प्रवक्ता भुपाल बरालको नाममा विज्ञप्ति जारी गरेर बजेटमा अर्थमन्त्रालयका बाहिरका व्यक्ति संलग्न नभएको दाबी गरिएको छ ।

अर्थमन्त्री शर्माले प्रतिनिधिसभाको बैठकमा बजेटमा अर्थमन्त्रालयका बाहेकका कर्मचारी संलग्न नभएको दाबी गरे ।
तर अर्थमन्त्रालयको विज्ञप्ति र अर्थमन्त्रीको स्पिष्टकरणबाट चित्त बुझ्दो जवाफ नपाएको एमालेले उक्त दिनको सीसीटीभी फुटेज सार्वजनिक गर्न माग गरेको छ ।

एमाले संसदीय दलका प्रमुख सचेतक बिशाल भट्टराईले प्रतिनिधिसभामा अर्थमन्त्रीले सीसीटीभी फुटेज सार्वजनिक गर्नुपर्ने र संसदीय छानबिन समिति गठन हुनुपर्ने भन्दै अर्थमन्त्री शर्मालाई सदनमा बहिष्कार गर्ने निर्णय गरेको छ ।

अर्थमन्त्रालय स्रोतका अनुसार अर्थमन्त्रीको सञ्चार हेर्ने टीमले विज्ञप्ति प्रकाशित गर्दा सीसीटीभी समेत हेर्न सकिने विषय राख्ने तयारी गरेको थियो । शुरुमा विज्ञप्तिमा के लेख्ने भनेर अर्थमन्त्रीको टीमले सल्लाह गर्दा सीसीटीभी हेर्न सकिने भन्ने विषय राख्ने तयारी गरेपनि अर्थमन्त्रीले त्यो वाक्य राख्न तयार भएनन् ।

‘अर्थमन्त्रीले सीसीटीभीको विषय विज्ञप्तिमा नराखेर जारी गर्न भन्नुभयो, सीसीटीभीको विषयमा उहाँ प्रवेश गर्न नै चाहनुभएन,’ अर्थमन्त्रालय स्रोतले भन्यो ।

अर्थमन्त्री शर्माले पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्तामा सीसी क्यामरा हेर्ने को हुन् भन्दै हेर्न नदिने बताए ।

‘एमालेले हेर्न चाहँदैमा हेर्न दिनुपर्छ भन्ने छैन, सीसी क्यामरा हेर्न दिनुपर्छ भन्ने छैन, को हुन् तिनीहरु’ ? उल्टै प्रश्न गर्दैै अर्थमन्त्री शर्माले भने ।

अर्थमन्त्री शर्माले बाहिरका व्यक्ति संलग्न हुने गरेर आर्थिक विधेयक नै बनेको देखिएको छ । अर्थ मन्त्रालयले आर्थिक विधेयकमार्फत् करका दर हेरफेर गर्दा गम्भीर त्रुटि गरेको पाइएको छ ।


क्लिकमान्डु