सुरक्षित र व्यवस्थितरुपमा महिलालाई वैदेशिक रोजगारीमा पठाउन सकिन्छः सरोकारवाला



काठमाडौं । सरोकारवालाहरुले सुरक्षित र व्यवस्थित तरिकाले वैदेशिक रोजगारीमा घरलु महिला कामदार पठाउन सकिने बताएका छन् ।

श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको वैदेशिक रोजगारीमा जाने घरेलु महिला कामदारको विषयमा सरोकारवालाहरूसँग छलफल तथा अन्तक्रिया कार्यक्रमा सुरक्षित र व्यवस्थित तवरबाट घरेलु महिला कामदार पठाउन सकिने निष्कर्ष निकालेका हुन् ।

सरकारले विगत लामो समयदेखि महिला घरेलु कामदारका लागि रोजगारीमा जानको लागि प्रतिबन्ध लगाएको छ । तर, प्रतिबन्ध लगाए पनि अवैध रुपमा विभिन्न बाटो अपनाएर रोजगारीमा जाने गर्छन् ।

अवैधरुपमा जाँदा धेरै समस्या निम्तिने भएकाले अबका दिनमा व्यवस्थित तरिकाले पठाउन सकिने सरोकारवालाहरूको भनाइ छ ।

मन्त्रालयका सचिव एकनारायण अर्यालले घरेलु महिला कामदारको विषयमा कहिले खोल्ने कहिले नखोल्ने अन्यौलताले गर्दा सरकारलाई गिजोलिएको हुनाले प्राथमिकतामा राखेर व्यवस्थापन गर्नुपर्ने बताए ।

मलेसियालगायत खाडी मुलुकमा घरेलु महिलालाई ज्ञानको अभाव र प्रलोभन देखाएर अवैध रुपमा रोजगारीमा लगेको देखिन्छ । जसले गर्दा विभिन्न समस्या निम्तिएको छ । त्यसैले, सरकारले घरेलु महिला कामदारको क्षेत्रमा विशेष अध्ययन गर्न आवश्यक रहेको उनले बताए ।

‘घरेलु महिला कामदारको विषयमा विभिन्न कार्यक्रम तथा छलफल हुँदै आएको छ । त्यसमा सरकारले गम्भिर अध्ययन गरेर गन्तव्य मुलुकमा महिलामैत्री छ वा छैन्् भन्ने विषयमा सहकार्य गरी अगाडि बढ्नेछौं,’ उनले भने ।

त्यसैगरी, सरकारले कि त पूर्णरुपमा बन्देज गर्नुपर्छ । नभए यसलाई व्यवस्थापनको बाटोबाट अगाडि बढ्नुपर्ने उनले उल्लेख गरे । साथै, सरकारले विभिन्न निकायसँग छलफल गरेर अगाडि बढ्न सक्ने बताए । तर, वैदेशिक रोजगारीमा पठाउँदा नेपालले क्षमतावान र कामअनुसारको तालिम दिई पठाउन सक्ने उनको भनाइ छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शेष नारायण पौडेलले विभिन्न देशमा घरेलु महिला कामदारको उच्च माग भएको अवस्थामा नेपाल सरकारले सुरक्षित र व्यवस्थित तरिकाले पठाउनेमा जोड दिनपर्ने बताए ।

‘अहिले मलेसियालगायत खाडी मुलुकमा घरेलु महिला कामदारको माग उच्च छ । तर, नेपालबाट विदेश जान प्रतिबन्ध रहेको अवस्थामा सहज, सुरक्षित र व्यवस्थित तरिकाले कामदार पठाउन सके सरकारले अवसरको रुपमा लिन सकिन्छ,’ उनले भने ।

उनकाअनुसार घरेलु कामदारका लागि बढी कसरी सुरक्षितको दायरा बनाएर पठाउन सक्ने भन्ने विषयमा बढी जोड दिन आवश्यक छ । साथै, घरेलु कामदारमा महिला कामदार पठाउँदा दक्ष र सीप दिएर पठाउन सके समस्या कम हुने उनल बताए ।

मन्त्रालयका सहसचिव राजीव पोखरेलले नेपालले घरेलु कामदारमा सुरक्षित मापदण्ड तोकेर पठाउन सक्ने बताए ।

विभिन्न देशहरूले घरेलु महिला कामदारलाई पठाउँदै आएका छन् । सो देशहरूले कसरी सुरक्षित र व्यवस्थित गरेर पठाइरहेको छ । उक्त मोडललाई उदाहरणमा राखेर नेपालबाट पनि सोही आधारमा रोजगारीमा पठाउन सक्ने उनले उल्लेख गरे ।


क्लिकमान्डु