एसपीपी सम्झौताको कुनै तयारी छैन, टुँडिखेलमा अन्य देशका सेनाले परेड खेल्ने सम्झौता हुँदैन: गृहमन्त्री



काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँडले प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट प्रतिनिधिसभामा जवाफ दिँदै अमेरिकी सरकारसँग एसपीपी (स्टेट पार्टनरसिप प्रोग्राम) सम्झौता गर्ने सरकारको कुनै तयारी नभएको बताएका छन् ।

‘सरकारले एसपीपी सम्झौता गर्ने कुनै तयारी गरेको छैन,’ खाँडले भने, ‘नेपालले कुनै पनि देशसँग सैन्य सम्झौता गर्दैन । नेपालको भूगोलमा अन्य देशको सेना आउने र टुँडिखेलमा आएर परेड खेल्न कुरा हुनैसक्दैन ।’

नेपाली सेनाले अमेरिकी राज्यसँग सयुक्त सैन्य अभ्यास गर्ने गरी सम्झौता गर्न लागेको भन्दै प्रतिनिधिसभामा सांसदहरुले सरकारको तर्फबाट जवाफ मागेका थिए ।

बिहीबार प्रतिनिधिसभाको बैठक शुरु भए लगत्तै नेकपा एमालेका सांसद तथा पूर्व रक्षामन्त्री ईश्वर पोखरलले पनि एसपीपी सम्झौताका विषयमा जानकारी दिन माग गरेका थिए ।

‘एसपीपी सम्झौताका विषयमा विवाद भएपछि वर्तमान सरकारले पूर्ववर्ती सरकारले एसपीपी सम्झौता गरेको आरोप लगाएको छ,’ पोखरेलले भने, ‘नेपाल कुनै पनि देशसँग सैन्य साझेदारीमा जाँदैन् भन्ने विषयमा हाम्रो सरकार प्रष्ट थियो । हामीले संयुक्त सैन्य साझेदारी गर्ने गरी कुनै सम्झौता गरेका थिएनौं । अहिलेको सरकारले के गरेको छ, संसदमा जानकारी दिनुपर्छ ।’

‘एसपीपीमा हामी संलग्न हुँदै हुँदैन् भन्नेमा प्रष्ट छौं,’ गृहमन्त्री खाँडले भने, ‘एसपीपीमा हामी संलग्न हुँदैन्, हुँदैन् हुँदैन् । अहिलेसम्म हामी एसपीपीमा संलग्न भएका छैनौं । हामी कुनै पनि मुलुकको सैन्य गठबन्धनमा सामेल हुदैनौं ।’

खाँडले एससीसी र एसपीपीलाई तुलना नगर्न समेत आग्रह गरे ।

‘एमसीसीले विकास परियोजना थियो त्यसैले हामीले सम्झौता गर्नुपर्छ भन्नेमा शुरुदेखि प्रष्ट थियौं ,’ खाँडले भने, ‘तर, एसपीपी सैन्य सम्झौता हो । मे फेरि जोड दिएर भन्छु, हामी एसपीपीमा संलग्न हुँदैनौं ।’


क्लिकमान्डु