असारभित्र मर्जरको प्रकृयामा जाने बीमा कम्पनीले मात्रै छुट सुविधा पाउने



काठमाडौं । बीमा समितिले असारभित्रै मर्जरको प्रक्रियामा जाने बीमा कम्पनीलाई मात्रै छुट दिने भएको छ ।

बीमा समितिले २०७९ असारभित्र मर्जरको प्रकृयामा जाने बीमा कम्पनीहरुलाई विभिन्न सेवा तथा सुविधामा छुट दिने भएको हो ।

समितिले मर्जरमा जान इच्छुक कम्पनीलाई पुँजीगत लाभकर, लाभांश कर र कर्मचारी अवकाश भुक्तानीमा कर छुट दिने जनाएको छ ।

समितिका अनुसार कम्पनीहरु गाभिएपश्चात बनेको नयाँ कम्पनीका सेयरधनीहरुले आफ्नो सेयर गाभिएको मितिले दुई वर्षभित्र बिक्री गर्दा बिक्री भएको सेयरमा पुँजीगत लाभकर नलाग्ने भएको छ ।

कम्पनीहरुमा मर्ज भएको मितिले दुई वर्षभित्र गाभिएको अवस्थामा कायम रहेको सेयरधनीलाई वितरण गरेको लाभांशमा समेत कर नलाग्ने समितिले बताएको छ ।

यस्तै, मर्जरको प्रकृयामा रहेका बीमा कम्पनीहरुले कर्मचारीहरुको अवकाश भुत्तानीमा ५० प्रतिशत कर छुट दिनुपर्ने छ ।

कम्पनीहरुले कर्मचारीहरुलाई सामूहिकरुपमा सेवाबाट अवकाश दिने प्रयोजनका लागि गरिने थप एकमुष्ट भुक्तानीमा एकमुष्ट अवकाश भुक्तानी कर कट्टी गर्नुपर्नेमा ५० प्रतिशत छुट हुने भएको हो ।

यो सुविधा आयकर ऐन, २०५८ अनुसार २०७९ असार मसान्तभित्र मर्जरमा जाने आशयपत्र आन्तरिक राजस्व विभागमा दिएका कम्पनीहरुले मात्रै पाउने छन् । र, उक्त आशयपत्र दिएका कम्पनीहरुले आगामी २०८० असार मसान्तभित्र मर्जरको प्रक्रिया सम्पन्न गरिसक्नुपर्ने समितिले जनाएको छ ।

समितिकाअनुसार चुक्ता पुँजी पुर्याउन मर्जरमा जाने कम्पनीहरुले आयकर ऐन २०५८ को दफा ४७ अनुसारको छुट तथा सुविधा समेत पाउने छन् ।

तर उक्त सुविधा पाउनका लागि कम्पनीहरुले २०७९ असारभित्र बीमा समितिमा आवेदन दिइसक्नुपर्ने समितिले जनाएको छ ।


क्लिकमान्डु