चैतको तुलनामा वैशाखमा निर्जीवन बीमा कम्पनीको व्यवसाय २५% ले घट्यो



काठमाडौं । चालु आर्थिक वर्षको वैशाख महिनामा निर्जीवन बीमा कम्पनीहरूले २ अर्ब ५२ करोड ४५ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

कम्पनीहरूले १ लाख ६१ हजार ८३० वटा बीमालेख जारी गरी सो रकम संकलन गरेका हुन् ।

चैत महिनाको तुलनामा कम्पनीहरूको व्यवसाय २५.७८ प्रतिशतले घटेको हो । चैत महिनामा कम्पनीहरूले ३ अर्ब ४० करोड १२ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका थिए । चैत महिनामा कम्पनीहरूमा २ लाख ५६ हजार ९५८ वटा बीमालेख जारी भएका थिए ।

चैत तुलनामा वैशाख महिनामा १८ वटा कम्पनीको बीमाशुल्क घटेको हो । २ वटा कम्पनीको भने व्यवसाय बढेको छ । एभरेष्ट इन्स्योरेन्स र सानिमा जनरलको बीमाशुल्क बढेको हो ।

एभरेष्ट इन्स्योरेन्सको बीमाशुल्क ६.४५ प्रतिशतले बढेर ११ करोड ४६ लाख रूपैयाँ पुगेको छ । चैत महिनामा कम्पनीले १० करोड ७७ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

सानिमा जनरलको बीमाशुल्क संकलन ६.१२ प्रतिशतले बढेको छ । चैत महिनामा ८ करोड ३५ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो । वैशाखमा कम्पनीले ८ करोड ८६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

चैतको तुलनामा जनरल इन्स्योरेन्स कम्पनीको बीमाशुल्क सबैभन्दा धेरै प्रतिशतले घटेको छ । कम्पनीको बीमाशुल्क ६६.१३ प्रतिशतले घटेर ३ करोड ७४ लाख रूपैयाँमा झरेको हो । चैत महिनामा कम्पनीले १५ करोड ८० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

राष्ट्रिय बीमा कम्पनीको व्यवसाय ६२.२० प्रतिशतले घटेर ५ करोड २१ लाख रूपैयाँमा सीमित भएको हो । चैत महिनामा कम्पनीले १३ कोड ८० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

हिमालयन जनरको व्यवसाय ५२.०२ प्रतिशतले घटेको छ । वैशाख महिनामा कम्पनीले २५ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको छ । चैतमा कम्पनीले १६ करोड ४४ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

शिखर इन्स्योरेन्सको बीमाशुल्क पनि ३०.९५ प्रतिशतले घटेको छ । बैशाखमा कम्पनीले ४२ करोड २ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको छ । चैत महिनामा कम्पनीले ६० करोड ८६ लाख रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

नेपाल इन्स्योरेन्सको बीमाशुल्क २६.८१ प्रतिशत, दि ओरियण्टलको ११.८५ प्रतिशत, नेशनल इन्स्योरेन्सको ३२.९५ प्रतिशत, हिमालयन जनरल इन्स्योरेन्सको ५२.०४ प्रतिशत, यूनाइटेड इन्स्योरेन्सको ३५.०८ प्रतिशत, प्रिमयर इन्स्योरेन्सको ४९.०१ प्रतिशत, नेको इन्स्योरेन्सको २७.११ प्रतिशत, सगरमाथा इन्स्योरेन्सको १८.९९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ३०.९९ प्रतिशतले घटेको छ ।

आईएमई जनरल, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, सिद्धार्थ इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको पनि बीमाशुल्क घटेको छ ।

बैशाख महिनामा कम्पनीहरूले ७६ करोड ३० लाख रूपैयाँ बीममशुल्क संकलन गरेका छन् । कुल बीमाशुल्कको ३०.२२ प्रतिशत हो ।

इन्जिनियरिङ्ग बीमाबाट कम्पनीहरूले ५० करोड ९० लाख रूपैयाँ बराबरको बीमाशुल्क संकलन गरेका छन् । कुल बीमाशुल्कको २०.१६ प्रतिशत हो ।

कम्पनीहरूले सम्पत्ति बीमाबाट ४९ करोड ७० लाख रूपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

कुल निर्जीवन बीमा व्यवसायमा विविध बीमाको हिस्सा १४.०८ प्रतिशत, कृषि तथा पशुपन्छी बीमाको हिस्सा ६.८० प्रतिशत, समुन्द्रिक बीमाको हिस्सा ६.८० प्रतिशत र हवाई बीमाको हिस्सा २.५३ प्रतिशत छ ।

निर्जीवन बीमा कम्पनीहरूको कुल व्यवसायमा लघुबीमाको हिस्सा ०.१४ प्रतिशत छ ।

निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, मोटर बीमा, इञ्जिनियरिङ तथा सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघुबीमालेख जारी गर्दै आएका छन् ।


क्लिकमान्डु