विदेशी बीमा कम्पनीले माल्दिभ्समा शाखा खोल्न सक्छन्ः माल्दिभ्स प्राधिकरणका अध्यक्ष हासिम



काठमाडौं । माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिमले माल्दिभ्समा विदेशी बीमा कम्पनीहरूले सहज रूपमा शाखा खोल्न सक्ने बताएका छन् ।

बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल नेतृत्वको प्रतिनिधिमण्डल र माल्दिभ्सको वित्तीय क्षेत्रको नियमनकारी निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अलि हासिम नेतृत्वको प्रतिनिधिमण्डलबीच माल्दिभ्सको राजधानी मालेमा भेटवार्ता सम्पन्न भएको छ ।

भेटवार्तामा अध्यक्ष सिलवालले नेपाली बीमा कम्पनीहरूलाई माल्दिभ्समा शाखा कार्यालय खोल्न के कस्तो व्यवस्था छ भनी राखेको प्रश्नलाई सम्बोधन गर्दै हासिमले विदेशी बीमा कम्पनीहरूले माल्दिभ्समा सजिलै शाखा कार्यालय वा संयुक्त लगानीमा कम्पनी खोल्न सक्ने व्यवस्था रहेको बताएका हुन् ।

अध्यक्ष सिलवालले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) स्तरीय बीमा नियमनकारी निकायहरूको सङ्गठन सार्क इन्स्योरेन्स रेगुलेटर्स फोरमलाई पुनः सक्रिय बनाउने प्रस्ताव राखे ।

सिलवालको उक्त प्रस्तावलाई माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष हासिमले सकारात्मकरूपमा लिँदै उक्त फोरमलाई सक्रिय बनाउन सक्दो भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्ष हासिमले आगामी दिनमा दुई देशका नियमनकारी निकायहरूबीचको सम्बन्धलाई अझै प्रगाढ बनाउने प्रतिवद्धता समेत व्यक्त गरे ।

बीमा समिति र माल्दिभ्स मौद्रिक प्राधिकरणबीच आगामी दिनमा नियमनकारी अनुभव, सूचना, विवरण तथा तथ्याङ्क आदि आदान प्रदान गर्ने र बीमा क्षेत्रमा विद्यमान चुनौतीहरूको मिलेर सामना गर्ने सहमति समेत भएको छ ।

माल्दिभ्सको बैङ्क, धितोपत्र बजारसहित बीमा क्षेत्रको समेत नियमन गर्ने निकाय माल्दिभ्स मौद्रिक प्राधिकरणको मालेस्थित कार्यालयमा द्विपक्षीय भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपालका तर्फबाट बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल, कार्यकारी निर्देशक राजुरमण पौडेल र निर्देशक सुशीलदेव सुवेदी तथा नेपाल पुनर्बीमा कम्पनीका अध्यक्ष डा. रवीन्द्र घिमिरे र सहायक प्रमुख कार्यकारी अधिकृत दामोदर भण्डारी सहभागी थिए ।

माल्दिभ्सकातर्फबाट माल्दिभ्स मौद्रिक प्राधिकरणका अध्यक्ष अली हासिम, डेपुटी गभर्नर अहमद इमाद र बीमा विभागका कार्यकारी निर्देशक हसन फियाजको सहभागीता थियो ।


क्लिकमान्डु