दाबी भुक्तानी छिटो गराउन समितिको बीमा कम्पनीलाई निर्देशन



काठमाडौं । बीमा समितिले जीवन बीमा कम्पनीहरूका दाबी विभागका प्रमुखहरूसँग बीमा दाबी भुक्तानी सम्बन्धी समस्या र समाधानसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

जीवन बीमा कम्पनीहरूबाट विना झन्झट, छिटोभन्दा छिटो एवम् सरल तरिकाले बीमा दाबी भुक्तानी हुनसकोस् भन्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रममा बीमा समितिका निर्देशक सुशीलदेव सुवेदीले बीमा कम्पनीहरूका दाबी विभागमा कार्यरत कर्मचारीहरूले आफ्नो काम गर्ने शैलीलाई परिस्कृत गरी दाबी भुक्तानीको प्रक्रियालाई छिटोछरितो रूपमा अगाडि बढाउनुपर्ने र भुक्तानीका लागि पहल पनि गर्नुपर्ने बताए ।

समितिका कानून तथा नियमन महाशाखाका प्रमुख एवम् निर्देशक दिनेश कुमार लालले समितिले बीमा दाबी भुक्तानीको अवस्थालाई समेत हेरेर बीमा कम्पनीहरूको मूल्याङ्कन गर्ने बताउँदै मूल्याङ्कनमा न्यून अङ्क प्राप्त गर्ने कम्पनीहरूले समितिबाट पाउने सुविधाहरूमा समस्या पर्ने अवगत गराए ।

निर्देशक लालले समितिले बीमा दाबी भुक्तानीमा देखिएका समस्याहरूका सम्बन्धमा कम्पनीहरूसँग निरन्तररूपमा छलफल गरी दाबी भुक्तानीमा जोड दिए पनि सोचे जस्तो परिणाम दिन नसकेको बताए ।

कम्पनीले बीमाशुल्क लिएर बीमालेख बिक्री गरेपछि विना झन्झट ढिलाई नगरिकन दाबी भुक्तानी दिनैपर्नेमा जोड दिए ।
समितिका उपनिर्देशक (कानून) विरोध भट्टले जीवन बीमा कम्पनीहरूको दावीसँग सम्बन्धित समस्या र समाधान विषयक कार्यपत्र प्रस्तुत गरे ।
उनले बीमितले बीमा दावी सम्बन्धी लगायत जुनसुकै किसिमका उजूरीहरू इमेल, फोन वा पत्र मार्फत मौखिक वा लिखितरूपमा समितिमा गर्न सक्ने र त्यसलाई समितिले उजूरीका रूपमा स्वीकार गर्ने बताए ।


क्लिकमान्डु