निजगढ विमानस्थल नबनाउनू भन्ने आदेश दिन कतैबाट प्रभावित त भएका छैनौं ?: माधव नेपाल



काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्नु सबै हिसाबले उपयुक्त भएको बताएका छन् ।

शुक्रबार प्रतिनिधि सभामा भएको नीति तथा कार्यक्रमको छलफलमा पूर्वप्रधानमन्त्री नेपालले काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको विकल्प निजगढ अन्तर्राष्ट्रिय विमानस्थल भएको बताएका हुन् ।

‘भैरहवाको विमानस्थल काठमाडौँको विकल्प बन्न सक्दैन, निजगढमा विमानस्थल बनाउन रोक लगाउनु भनेको सुने, यो कस्तो देश भएछ ?’ पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भने, ‘सन् १९९५ मा १० ठाउँमा गरियो । धेरै पटक छलफल गरियो । त्यसपछि अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सबैभन्दा उपयुक्त स्थानको रुपमा निजगढलाई छनोट गरिएको थियो । ८ हजार हेक्टर जमिनमा विमानस्थल बनाउँदा वनको नगर्ने गरी गुरुयोजना समेत तयार भएको छ । वाताबरणिय प्रभाव मुल्यांकन भइसकेको छ । जग्गा अधिग्रहण गरिएको छ । यस्तो अवस्थामा आयोजना निर्माण नगर्न आदेश आएको छ ।’

सर्वाेच्च अदालतका ५ जना न्यायाधीशको बृहत इजलासले बिहिबार निजगढ विमानस्थल निर्माण नगर्न सरकारका नाममा परमादेश जारी गरेको थियो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले निजगढ विमानस्थलमा ३ अर्ब रुपैयाँभन्दा बढी खर्च गरिसकेको र निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई सहयोग गर्ने गरी दु्रत मार्ग निर्माणमा २ अर्ब रुपैयाँ खर्च भएको अवस्थमा विमानस्थल निर्माण गर्न बाट रोक्नु दुखःद् भएको उनको भनाइ छ ।

‘१ हजार ९ सय हेक्टर क्षेत्रफलमा ४ हजार मिटरको धावनमार्ग निर्माण गर्दै विमानस्थल निर्माण गर्न सकिने अवस्था थियो’, नेपालले भने, ‘क्षेत्रीय हकको रुपमा विकास गर्न सकिने विमानस्थल निर्माणमा सबै निकाय लाग्नु पर्नेमा विकासमा रोक लगाउने निर्णय दुःखद छ । यो देशको हितमा छैन ।’

निजगढमा विमानस्थल बनाउने निर्णय कयौँ पटकको अध्ययनबाट गरिएकाले त्यसको विकल्प नखोजी रोक लगाउने निर्णय उपयुक्त नभएको नेपालको भनाई छ ।

‘शुरुमा निजगढ जाँदा त्यहाँ जंगल थियो । म कयौं पटक निजगढ पुगेको छ । अहिले त्यहाँ जंगल नै छैन् । जंगल नै नभएको ठाउँमा विमानस्थल नबनाउने भनेर रोक लगाउनुको कारण के हो ?’ नेपालले भने, ‘कतै हामी अरु अरु चिजबाट प्रभावित त भएका छैनौँ । त्यसका बारेमा गठन चिन्तन हुनुपर्छ । निजगढमा विमानस्थल बनाउनबाट रोक लगाउने निर्णयमा नेपाल सरकार, राजनीतिक दल गम्भिरताका साथ कुनै निष्कर्ष निकाल्नु पर्छ । र, निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त छ ।’

निजगढमा विमानस्थल बन्दा वन विनास नहुने र वन विनाशलाई असर नगर्ने नेपालले दाबी गरे ।


क्लिकमान्डु