खगराज अधिकारीले अर्थमन्त्रीलाई सोधे- गभर्नर निलम्बन गरेर आचार्यले राजीनामा दिनुभाथ्यो, तपाईं यही हुनुहुन्छ ?



काठमाडौं । नेकपा एमालेका नेता खगराज अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई गभर्नर पुनरबहाली हुँदा पनि राजीनामा किन नगरेको भन्दै प्रश्न गरेका छन् ।

प्रतिनिधिसभामा बजेटका सिद्दान्त र प्राथमिकता विधेयकमाथि बोल्ने क्रममा अर्थमन्त्री शर्मालाई गभर्नर पुनरबाहाली हुँदा पनि किन राजीनामा नदिइ यही बस्ने भन्दै प्रश्न गरेका हुन् ।

‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निकाल्नु भयो, फेरि उहाँ पुनरबाहाली पनि हुनु भयो, ऊ बेलामा महेश आचार्यले त राजीनामा दिनु भएको थियो तर उहाँ त यही हुनुहुन्छ त ?,’ अर्थमन्त्री शर्मातर्फ इंकित गर्दै उनले भने, ‘यसरी सुशासन कायम हुन्छ ?’

उनले जलस्रोत, दातृ निकायलगायतका विषयमा राष्ट्रिय सहमति आवश्यक भए पनि अर्थमन्त्रीका रुपमा शर्माले नियम तोडिरहेको बताए ।

‘गठबन्धनका नाममा धावा बोलेर अर्थतन्त्रका नियम तोड्दै हुनुहुन्छ, कार्यकर्ताको भर्ती केन्द्र बनाउने अनि वित्तीय संस्था र संवैधानिक निकायमाथि धावा बोलेर ब्रम्हलुट गर्न खोज्ने ?’ उनले भने, ‘अर्थमन्त्री शर्माले वित्तीय अनुशासनका आधारभूत नियम तोडिरहनु भएको छ ।’

उनले अर्थमन्त्री शर्मा बदनाम भइरहेको समेत आरोप लगाए ।

‘तपाईंका अर्थतन्त्रका नियम बुझेर वा नबुझेर हो नियम तोड्दै हुनुहुन्छ र तपाईंका क्रियाकलापले तपाईं अन्तर्राष्ट्रिय स्तरमा बदनाम कमाउँदै हुनुहुन्छ,’ उनले भने ।


क्लिकमान्डु