वर्तमान सरकार जति समयसम्म रहन्छ देश बर्बादीको बाटोमा जान्छः योगेश भट्टराई



काठमाडौं । नेकपा एमालेका नेता योगेश भट्टराईले वर्तमान सरकार परिवर्तन हुनुपर्ने बताएका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठक बिनियोजन विधेयकको सिद्दान्त र प्राथमिकतामाथिको छलफलका क्रममा बोल्दै उनले पुँजीगत खर्च समेत गर्न नसक्नु क्षमता अभाव भएको बताए ।

‘यो सरकारले काम नै गर्न सकेको छैन, त्यसैले जति समय यो सरकार रहन्छ त्यो घातक हुनेछ,’ उनले भने ।

उनले पुँजीगत खर्च गर्न नसक्नुमा सरकारसँग क्षमता र इच्छाशक्ति नै नभएको र राज्यसंयन्त्रले नै सरकारलाई नपत्याएको बताए ।

‘अर्थमन्त्रीज्यू आफैले प्रत्येक महिना १० प्रतिशतका दरले पुँजीगत खर्च गर्छु भन्नु भएको थियो तर अहिलेसम्म ३० प्रतिशत पनि खर्च हुन सकेको छैन,’ उनले भने ।

उनले सरकारले एमसीसीको विषयलाई अनावश्यक गिजोलेर दातृ निकायको विश्वास गुमाउने काम गरेको आरोप लगाएका छन् ।

उनले बजेट निर्माण अघिको विधेयकमा अर्थमन्त्रीको कुनै सिद्दान्त नभएको आरोप लगाए । कुनै सिद्दान्त र दर्शनका आधार विधेयकमा नदेखिएको उनले बताए ।

उनले केपी ओली नेतृत्वको सरकारले ३९६ वटा अस्पताल निर्माणका लागि बजेट छुट्याए पनि अर्थमन्त्रीले त्यस विषयमा कुनै सम्बोधन नगरेको बताए । बढ्दै गइरहेको व्यापारघाटाको समस्यालाई समाधान गर्न अर्थमन्त्रीले कुनै पनि पहल नगरेको उनको आरोप छ ।

उनले बैदेशिक मुद्राको सञ्चिति घट्दै गइरहेको, मुद्रास्फिती अत्यधिक रुपमा बढिरहेको भन्दै भोलि आर्थिक हिसाबले डरलाग्दो बाटोमा जान सक्ने संकेत गरे ।

‘इन्धनमा भएको अत्यधिक मूल्यवृद्धिले दैनिक उपभोग्य सामग्रीमा मूल्यवृद्धि भएको र यसको वैकल्पिक उपाय सरकारले नअपनाएका कारण मानिसहरुको जीवन कष्टकर बन्दै गएको छ’ उनले भने ।

उनले यो सरकार बनेपछि मुलुकको औपचारिक आर्थिक प्रणाली ध्वस्त भएको भन्दै अनौपाचारिक आर्थिक प्रणाली मौलाएको आरोप समेत लगाए । उनले यसले दलालीकरण र माफियाकरण बढेको बताए ।

उनले बैंकिङ प्रणालीमा तरलता अभावका कारण लगानीयोग्य रकम आयोजनाहरुले पैसा नपाएको भन्दै आर्थिक क्रियाकलापमा सुस्त भए पनि अर्थमन्त्रीले त्यसलाई सम्बोधन गर्न नसकेको बताए ।

‘अहिले ठूला आयोजनाहरुको प्रगति निकै सुस्त भएको भन्दै पर्याप्त ध्यान नदिन नसक्दा देशभित्रै रोजगारीको अभाव भएकाले मानिसहरु विदेशिन बाध्य भएका छन्,’ उनले भने ।

उनले वर्षेनी ५ लाख जनशक्ति रोजगारीको बजारमा आउने भए पनि नेताहरुले ५/७ जनालाई विदेश पठाउँछु भन्दै निर्वाचनमा भाषणा गरिरहेको बताए । उनले प्राविधिक तथा सीपमुलुक शिक्षामा जोड दिनुपर्नेमा सरकारले यसमा कुनै पनि चासो नदेखाएको बताए ।

उनले जनसांख्यीय लाभ १० वर्षमा मुलुकले लिन नसक्ने हो भने विकास गर्न नसकिने बताए ।

उनले अघिल्लो सरकारले कोरोना महामारीबाट शिथिल भएको अर्थतन्त्र पुनरुत्थानका लागि कार्यक्रम ल्याएको, पर्यटन क्षेत्रको पुनरुत्यानका कार्यक्रम ल्याएको तर यो सरकारसँग कुनै प्राथमिकतामा नरहेको बताए ।

उनले विद्युत् प्राधिकरणले भारतबाट महंगोमा विजुली किनेर सस्तोमा बेच्दा प्राधिकरण टाट पल्टिने अवस्थामा पुगेको बताए । साथै, सरकारले २ दिन सार्वजनिक विदा दिनुको कुनै औचित्य नभएको समेत बताए ।


क्लिकमान्डु