तीन जीवन बीमा कम्पनीले पाए मर्जरमा जान सैद्दान्तिक सहमति



काठमाडौं । तीन जीवन बीमा कम्पनीले मर्जरको सैद्दान्तिक सहमति पाएका छन् ।

एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्त रूपमा बीमा समितिमा निवेदन दिएका तीन जीवन बीमा कम्पनीले मर्जरको सैद्दान्तिक सहमति पाएका हुन् ।

बीमा समितिले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ को दफा ६ बमोजिम प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सलाई एक आपसमा गाभ्ने र गाभिने सैद्दान्तिक सहमति दिएको हो ।

सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको समितिले जनाएको छ ।

ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्त रूपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा जेठ ३ गते(आज) सैद्दान्तिक सहमति प्रदान गरेको हो ।

यसअघि समितिले बैशाख २३ गते हिमालयन जनरल इन्स्योरेन्स र एभरेष्ट इन्स्योरेन्सलाई एक आपसमा गाभ्ने र गाभिने (मर्जर) को सैद्दान्तिक सहमति प्रदान गरेको थियो ।

ती दुई कम्पनीले आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्तरूपमा समितिमा निवेदन दिएका थिए ।


क्लिकमान्डु