बीमालेख धितो राखी बीमितले लिए ६२ अर्ब कर्जा



काठमाडौं । जीवन बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितो राखी सम्बन्धित कम्पनीबाट कर्जा लिन सक्ने व्यवस्था छ ।

बीमितले बीमा कम्पनीमा बीमालेख बाहेक अन्य कुनै पनि प्रकारको चल, अचल सम्पत्ति धितो नराखीकनै ऋण प्राप्त गर्न सक्छन् ।

बीमालेख बाहेक अन्य कुनै पनि धितो राख्नु नपर्ने भएका कारणले गर्दा पनि बैंकको तुलनामा बीमालेख धितो राखी कर्जा लिने प्रक्रिया झन्झटमुक्त समेत मानिन्छ । जसकारणले गर्दा बीमालेख धितो राखी कर्जा लिने बीमितको संख्या बढ्दै गएको देखिन्छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अवधिसम्ममा बीमितले बीमालेख धितोमा राखी ६२ अर्ब रूपैयाँ भन्दा धेरै कर्जा लिएका छन् ।

चालु आवको चैत मसान्तसम्ममा बीमालेख खरिद गरेका बीमितले आफ्नो बीमालेख धितोमा राखी १९ जीवन बीमा कम्पनीबाट ६२ अर्ब ९० करोड १४ लाख रूपैयाँ कर्जा लिएका हुन् ।

जुन गत आवको यसै अवधिको तुलनमा २३.६५ प्रतिशतले धेरै हो । गत आवको चैत मसान्तसम्ममा बीमितहरूले ५० अर्ब ८७ करोड १९ लाख रूपैयाँ कर्जा लिएका थिए ।

सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्सका बीमितले आफ्नो बीमालेख धितोमा राखि २३ अर्ब २२ करोड ८६ लाख रूपैयाँ कर्जा लिएका छन् । गत आवको तुलनामा जुन २१.०८ प्रतिशतले बढी हो ।

गत आवको चैत मसान्तसम्मको अवधिमा कम्पनीले बीमालेख धितोमा राखि १९ अबर्् १८ करोड रूपैयाँ कर्जा दिएको थियो ।
नेपाल लाइफका बीमित पछि एलआईसी नेपालका बीमितले बीमालेख धितो राखी १७ अर्ब ७ करोड ६२ लाख रूपैयाँ कर्जा लिएका छन् ।

नेशनल लाइफका बीमितले बीमालेख धितो राखी ७ अर्ब ५० करोड ५५ लाख, एशियन लाइफका बीमितले ३ अर्ब ६५ करोड १८ लाख रूपैयाँ कर्जा लिएका छन् ।

प्राइम लाइफका बीमितले १ अर्ब ९१ करोड, राष्ट्रिय बीमा संस्थानका बीमितले १ अर्ब ७४ करोड, सूर्या लाइफका बीमितले १ अर्ब ७८ करोड र मेट लाइफका बीमितले १ अर्ब ७ करोड रूपैयाँ कर्जा लिएका छन् ।

अन्य कम्पनीले भने अर्ब भन्दा कम कर्जा प्रवाह गरेका छन् ।

जीवन बीमालेख सम्बन्धी निर्देशिका, २०७८ बमोजिम बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

समितिले नयाँ निर्देशिका जारी गर्दै बीमालेख धितो राखी प्रदान गर्ने कर्जामा कडाइ गरेको थियो । यसअघि बीमितिले दुई किस्ता प्रिमियम तिरेपछि बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था थियो ।

निर्देशिका अनुसार बीमितहरूले ३ किस्तासम्म प्रिमियम तिरेपछि प्रिमियमको ९० प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था छ ।
साथै, एकल बीमाशुल्क भुक्तानी गर्ने बीमालेखको हकमा समेत बीमा प्रारम्भ भएको मितिबाट तीन वर्ष पूरा भएपश्चात बीमालेख धितो राखी कर्जा लिन पाउने व्यवस्था छ ।

बीमा कम्पनीहरुले बीमालेख धितो राखी कर्जा प्रवाह गर्दा ब्याज लिन पाउने व्यवस्था बीमा समितिद्धारा जारी निर्देशिकाले व्यवस्था गरेको छ ।

ब्याजदरको निर्धारण गर्दा भने बजारमा प्रचलित वाणिज्य बैंकले तोकेको बयाजदर भन्दा बढी नहुने गरी बीमा कम्पनीको सञ्चालक समितिको स्वीकृति लिई निर्धारण गर्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

त्यसकारण ऋण दिँदा ब्याजदर भने बीमा कम्पनीअनुसार फरक फरक हुने गर्छ ।

यद्यपी अधिकांश जीवन बीमा कम्पनीहरूले बीमितलाई बीमालेख धितोमा राखी कर्जा दिँदा १० प्रतिशतसम्म ब्याज लिदै आएका छन् ।


क्लिकमान्डु