गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय निरन्तर ओरालो यात्रामा, पछ्याउँदै एलआइसी



काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको व्यवसाय निरन्तर खस्किँदै गएको छ । चालु आर्थिक वर्षको शुरूको २ महिनामा कम्पनीको व्यवसाय बढेको थियो ।

असोज महिनादेखि भने कम्पनीको व्यवसाय निरन्तर घट्दै गएको हो । सञ्चालनमा रहेका १९ जीवन बीमा कम्पनीमध्ये १८ बीमा कम्पनीले व्यवसाय बढाउँदा गुँरासको भने खस्किँदै गएको हो ।

गत आवको तुलनामा कम्पनीको कुल बीमाशुल्क घट्दै गएको तथ्यांकले देखाउँछ । चालु आवको पहिलो महिना अर्थात साउन महिनामा कम्पनीको कुल बीमाशुल्क २१.२१ प्रतिशतले बढेको थियो ।

चालु आवको साउन महिनामा कम्पनीले ४० करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत आवको यसै अवधिमा कम्पनीको कुल व्यवसायको आकार ३३ करोड रूपैयाँको थियो ।

भदौ महिनामा कम्पनीले आफ्नो व्यवसायको आकार ९३.९४ प्रतिशतले बढाएको थियो । चालु आवको भदौ महिनामा गुँरासले ६४ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत आवको सोही अवधिमा कम्पनीले कुल ३३ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

कात्तिक महिनादेखि चैत महिनाको अवधिसम्ममा कम्पनीको व्यवसाय २४ प्रतिशतसम्मले घटेको बीमा समितिको तथ्यांक छ ।
असोज महिनामा सञ्चालनमा रहेका १८ वटा कम्पनीको व्यवसाय बढ्दा गुराँस लाइफ इन्स्योरेन्सको बीमाशुल्क भने १०.११ प्रतिशतले घटेर ८७ करोड रूपैयाँ सीमित भएको थियो ।

गत आर्थिक वर्षको असोज अन्त्यसम्ममा कम्पनीले ९७ करोड रूपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।

कात्तिक मसान्तसम्ममा आइपुग्दा कम्पनीको कुल बीमाशुल्क ६.३७ प्रतिशतले घटेर १ अर्ब ९ करोड ५५ लाख रूपैयाँमा सीमित भयो । गत आवको सोही अवधिमा कम्पनीले १ अर्ब २७ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । पुस महिनामा गुँरासको व्यवसाय २३.७४ प्रतिशतले घट्यो । माघ महिनामा आईपुग्दा २४.६९ प्रतिशतले घट्यो ।

पुस महिनामा कम्पनीले कुल १ अर्ब २९ करोड ८४ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गर्यो । गत आवको पुस महिनामा कम्पनीको कुल व्यवसायको आकार २ अर्ब १३ करोड रूपैयाँ थियो ।

माघ महिनामा कम्पनीले १ अर्ब ६२ करोड ४३ लाख रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । जुन गत आवको सोही अवधिको तुलनामा ६१ करोड २३ लाख रूपैयाँले कमी हो ।

फागुन महिनामा गुराँस लाइफको बीमाशुल्क २२.१० प्रतिशतले घटेर २ अर्ब ८ करोड ७७ लाख रूपैयाँमा सीमित भयो । गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले २ अर्ब ६८ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

चैत महिनामा गुराँस लाइफको बीमाशुल्क २३.५० प्रतिशतले घटर २ अर्ब ३३ करोड ३३ लाख रूपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यहि अवधिमा गुराँस लाइफले ३ अर्ब ५ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

चैत महिनासम्मको अवधिमा इन्स्योरेन्सको प्रथम बीमाशुल्क संकलन रकम ६४.६० प्रतिशतले घटेर ५० करोड २७ रूपैयाँमा सीमित भएको छ । गत आवको यसै अवधिमा इन्स्योरेन्सले प्रथम बीमाशुल्कबाट एक अर्ब ४२ करोड रूपैयाँ संकलन गरेको थियो ।

गुराँस कै बाटोमा एलआइसी
तथ्यांकअनुसार एलआइसी नेपालको पनि व्यवसाय घट्दै गएको छ ।

मंसिर महिनामा एलआइसी नेपालको कुल बीमाशुल्क ७.४७ प्रतिशतले घटेर ६ अर्ब ५८ रूपैयाँमा सीमित भएको थियो । गत आवको सोही अवधिमा कम्पनीले ७ अर्ब १२ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

पुस महिनामा एलआइसी नेपालको व्यवसाय १२.६७ प्रतिशतले घटेको थियो । चालु आवको फागुनमा इन्स्योरेन्सले ८ अर्ब ३९ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो । गत आवको सोही अवधिमा कम्पनीहरूले ९ अर्ब ६१ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

माघमा एलआइसी नेपालको कुल बीमाशुल्क ८.५० प्रतिशतले घटेर ९ अर्ब ७५ करोड रूपैयाँमा सीमित भएको थियो । गत आवको सोही अवधिमा कम्पनीले १० अर्ब ६६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।

चैतमा एलआईसी नेपालको बीमाशुल्क १२.६७ प्रतिशतले घटेर १२ अर्ब ४५ करोड रूपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको यसै अवधिमा १३ अर्ब ६६ करोड रूपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो ।


क्लिकमान्डु