अर्थतन्त्र खतरनाक मोडमा, जुनबेला पनि दुर्घटनाग्रस्त हुनसक्छ
२० वर्ष राष्ट्र बैंकमा जे भएको थियो । अहिलेपनि त्यही भएको छ । २० वर्षअघि म जुन मारमा परेको थिएँ र जुन अदालतले राहत दिएर पुनः राष्ट्र बैंकमा फर्काएको थियो ।
सोही अदालतले आज वर्तमान गभर्नर महाप्रसाद अधिकारी पुनः राष्ट्र बैंकमा फर्काएको छ । बधाई छ । र, आगामी दिनमा अरू जोस जाँगरसहित राष्ट्र र राष्ट्रिय अर्थतन्त्रको हितमा काम गर्न सक्नुहोला भन्ने शुभकामना र विश्वास पनि छ ।
विश्व अर्थतन्त्रमा विगतका वर्षहरूमा ठूलाठूला मार परिरहेका छन् । एउटा त चीन र अमेरिकाबीच व्यापार युद्ध चल्यो, त्यसले विश्व अर्थतन्त्र र आउटपुटमा नकारात्मक असर पार्यो । त्यसपछि विश्व अर्थतन्त्रलाई कोरोनाले तहसनहस पारेको छ ।
विश्व व्यापार र ग्लोबल इकोनोमीका आउटपुटका हिसाबले अरू राष्ट्रलाई ठूलो चोट पुग्यो । जस्तो कि अमेरिका चीन । तर, यसले नेपालको अर्थतन्त्रलाई ठूलो असर पार्न सकेको थिएन किन भने हाम्रो आयातमा निर्भर अर्थतन्त्र छ ।
यस्तो अवस्थामा सप्लाइ चेन हेर्नुपर्छ । ग्लोबल सप्लाइ चेनमा तलमाथि भयो भने त्यत्ति असर गर्दैन तर भारतीय सप्लाइ चेनमा असर गर्यो भने हामीलाई असाध्यै गाह्रो पर्छ । भारतीय सप्लाइ चेन त्यो बेला (अमेरिका–चीन व्यापार युद्ध)मा खासै बिग्रिएन ।
हामीलाई असर गरेन । तर, कोरोनाले हाम्रो अर्थतन्त्रलाई पनि असाध्यै असर गरेको छ । कोरोनाभन्दा अघि पनि हाम्रो अर्थतन्त्रको खासै राम्रो थिएन । दश वर्षमा हेर्ने हो भने हाम्रो अर्थतन्त्र ४.१ प्रतिशतले बढेको छ ।
२० वर्षको औसत आर्थिक वृद्धि दर हेर्ने हो भने त्यो भने ४ प्रतिशतमात्र छ । विगत तीन वर्षको आर्थिक वृद्धि दर औषतमा १ प्रतिशतमात्र छ । यसको जसअपजस कुन सरकार, कुन प्रधानमन्त्री, कुन अर्थमन्त्रीले लिने हो मलाई थाहा छैन ।मत एक कुनै प्रधानमन्त्री, पार्टीको सरकार, कुनै एक अर्थमन्त्रीलाई दिनेवाला छैन । बाँडिचुँडी गरेर सबैले विचार गर्नुपर्ने होला ।
यस्तो परिस्थितिमा, सरकारले जुन गर्नु पर्ने हो त्यो गर्ने । जुन आशा उद्यमी, कृषक, आम जनताको थियो । सरकारले बजेटमार्फत केही ल्याउला भन्ने थियो । त्यो आउन सकेन । यो मेरोमात्र भनाइ होइन, सबैको भनाइ हो । विश्वका अरू देशले बजेट वा अन्य व्यवस्था गरेर स्टिमुलसन प्याकेज ल्याए ।
तर, यहाँ त्यो हुन सकेन । त्यसले गर्दा गतवर्ष अलिकति निरुत्साहित भएकै हुन् । त्यस्तो बेलामा नेपाल राष्ट्र बैंकले अलि लचिलो मौद्रिक नीति ल्याएर उद्यमी, व्यापारी, कृषक, वित्तीय क्षेत्र सबैलाई अलिकति राहत पुर्याउने काम गर्यो ।
यो निकै राम्रो कुरा हो । यो सबैले भनेको कुरा हो । यो वर्षको कुरा गर्ने हो भने पनि मौद्रिक नीतिले आफ्नो सीमा र परिधिभित्र बसेर केही गर्न खोजेको जस्तो मलाई लागेको छ । बजेटले केही गर्न नसकेको अवस्थामा शिथिल बनेको अर्थतन्त्रमा मौद्रिक नीतिले केही गर्न खोज्यो भनेर सबैले भने । राम्रो काम गरेको थियो र राम्रै काम गरिराखेको छ नेपाल राष्ट्र बैंकले ।
त्यो बेला मौद्रिक नीतिलाई अलिकति लचकता बनाउने काममा मुद्रा स्फीति दरले पनि साथ दिएको जस्तो लाग्छ मलाई । अहिले मुद्रा स्फीति बढ्दो छ । बजेटमा उल्लेख गरेको ६.५ प्रतिशतको हाराहारीमा राख्ने भनेको मुद्रा स्फीति नाघिसकेको छ । ७.४ प्रतिशतमा पुगिसकेको छ ।त्यसैले यी कुरालाई विचार गरेर के गर्न सकिन्छ नेपाल राष्ट्र बैंकका मित्रहरूले सोच्नुहुने नै छ । तर, नेपाल राष्ट्र बैंकले केही गर्न सकेन भन्ने कुरा गलत हो । विवादमा नजाऊँ, धेरै नउचालौँ ।
शिथिल अर्थतन्त्र छ । बढो खतरनाक मोड लिइसकेको छ र दुर्घटनाग्रस्त हुनसक्छ भन्ने मलाई लाग्छ । त्यसले मिलेर समन्वय गरेर काम गर्ने बेला हो । राष्ट्र बैंकलाई पनि नेपाल सरकारको नीति हुन्छ, बजेटमा रहेका नीतिलाई आफ्नो सीमा परिधिमा रहेर सहयोग गर्नुपर्ने हुन्छ । अर्थतन्त्रको २० वर्षको अवस्थामात्र होइन, अहिले पनि लक्षण राम्रो छैन ।
हिजोभन्दा आज नराम्रो छ । एक दुईवटा उदाहरण हेरौं न । जस्तो कि सबै अन्तर्राष्ट्रिय संघसंस्थाले आर्थिक वृद्धि दर ४ प्रतिशतभन्दा माथि हुँदैन भनेका छन् । हामीले पनि ४ प्रतिशतभन्दा कमै हुन्छ भनेर उहिल्यै भनेका थियौं । अरू सूचकाङ्क हेर्ने हो भने पनि राम्रो देखिँदैन । हिजो पनि राम्रो थिएन । युवराज खतिवडासँग पनि कुरा गरेँ। उहाँको बेलामा पनि राम्रो थिएन । ओरालो लाग्दै थियो । तर, आज दुखलाग्दो कुरा त्योभन्दा नराम्रो स्थितिमा अर्थतन्त्र छ ।
बाह्य क्षेत्र नराम्रो स्थितिमा लाग्यो भन्ने कुरा उहिले संविधान सभाको बेलामै भनिदिएको थिएँ । अहिले कुन स्थितिमा छ त ? एक वर्षको बजेटभन्दा धेरै व्यापार घाटा हुने स्थितिमा पुगेका छौँ हामी । पोहोर साल १३ सय ८९ अर्ब व्यापार घाटा थियो । बजेट खुद खर्च कति भयो होला हिसाब गर्नुस् त । यो साल चैतसम्म १३ सय अर्बको व्यापार घाटा भइसकेको छ । १६ सय ३२ अर्बको जुन प्रतिस्थापन बजेट आयो, त्यसलाई सजिलै नाघ्छ । भुक्तानी सन्तुलनको स्थिति हेर्नुहुन्छ भने पनि विगतको भन्दा अझ खस्किँदो र नकारात्मक छ । चालु खाताको स्थिति पनि त्यस्तै छ । यस्तो अवस्थामा कुन तथ्याङ्क हेरेर सन्तोषको सास लिने ।
यसलाई पनि ढाकछोप किन गर्ने ? कुनै व्यक्ति, कुनै एक अर्थमन्त्री, कुनै एक सरकारले सृजना गरेको समस्या होइन । मत भन्छु, सबै पार्टी एउटा बैठक गर्नै पर्छ र गम्भीर दुर्घटना होला भन्ने अवस्थामा रहेको राष्ट्रिय अर्थतन्त्रलाई सबै मिलेर बचाउनु पर्छ । अब के निर्यात गर्ने ? हामीसँग के छ त ? ६/७ महिनाको तथ्याङ्क हेर्ने हो भने ५०/६० अर्बको खाद्यान्न नै किनिसक्यौँ ।
११ अर्ब ५० करोडको आलु गोलभेँडा र व्याज आएको छ । के छ हामीसँग ? त्यसैले उत्पादनमा जोड नदिँदासम्म केही हुनेवाला छैन । हाम्रा सरकारी निकायका कति रोपनी जग्गा होलान् ? त्यहाँ एक रोपनीमा खेती गरौँ न । किन नगर्ने ? सोभियत युनियन हुँदा चीन सानो थियो । सोभियत युनियनले हेप्यो । चीनले महिनौँ महिनौँसम्म सुगरको मासु खान छोडेर सबै ऋण चुक्ता गरिदिए ।
३० वर्ष अगाडि चीन र सोभियत युनियन र रुसको बराबर थियो । आज रुसको भन्दा चीनको अर्थतन्त्र १० गुणा ठूलो छ । हामी भने ढाकछोपमै लाग्ने ? म गभर्नर सावलाई अनुरोध गर्न चाहन्छु । यहाँ सरकारी निकायका प्रमुख हुन्छुहुन्छ । हामीले आफ्नो कार्यालयको जग्गामा थोरै भए पनि सागसब्जी उमारौं न । हाम्रा शाखामा १० रोपनी जग्गा छन् । त्यहाँ किन नउमार्ने ।
गहुँ, धान मकै उत्पादन गर्न सकिँदैन । यो कृषिप्रधान देश । यहाँ ६५ प्रतिशत नेपाली कृषिमै अलमलिएका छन् । यहाँबाट सुरुवात गरौँ न । गफ गरेर हुँदैन ।अर्को कुरा, गभर्नर साव तपाईंको त प्रधानमन्त्री, अर्थमन्त्री ठूलाबढासँग भेट भइरहन्छ होला उहाँहरुलाई भन्दिनु होला । गफ गरेर हुन्छ । आयातको सबैभन्दा मुख्य प्रेट्रोलियम पदार्थ छ ।
त्यसलाई प्रतिस्थापन गर्ने नीति ल्याउनुस् त । मुखले भनेर, भाषण गरेर प्रधानमन्त्री, मन्त्री हुने हो । ६ महिनादेखि एक वर्षमा यो काम गर्छौ भनेर टाइमलाइन बनाएर काम गर्नुपर्छ । एलपीजी ग्यास मुक्त बनाउने योजना बनाएर आउनु पर्यो । अहिले महंगी कहाँ पुगिसक्यो । त्यसको असर त तल्लो वर्ग, गाँडा चलाउने, तरकारी बेच्नेलाई हुन्छ । २५ हजार तलब थापेर परिवार पाल्ने कर्मचारीलाई यो मार पर्छ । बुझेर मात्र नीति ल्याउनु पर्छ ।
पूर्व गभर्नर रावलले राष्ट्र बैंकको वार्षिकोत्सवको अवसरमा दिएको मन्तव्य