बोनस र हकप्रद सेयरबाट पुँजी बढाउने बीमा कम्पनीको योजना, समितिको प्राथमिकतामा मर्जर



काठमाडौं । बीमा कम्पनीहरूले बोनस सेयर र हकप्रद सेयरबाटै पुँजीवृद्धि गर्ने योजना बनाएका छन् ।

सञ्चालनमा रहेका ३९ बीमा कम्पनीमध्ये २५ कम्पनीले पुँजी वृद्धिको योजना पेश गरेका छन् । ती कम्पनीहरूले बोनस र हकप्रद सेयरबाटै चुक्ता पुँजी बढाउने योजना पेश गरेका हुन् ।

कम्पनीहरूले अन्तिम विकल्पका रुपमा मात्रै मर्जरको बाटो रोज्ने भएका छन् ।

समितिका अनुसार बोनस सेयर र हकप्रद सेयरबाट तोकिएको समयमा तोकिएको पुँजी पुग्ने अवस्था नआए मात्रै उपयुक्त कम्पनी छानेर मर्जरमा जाने गरी कम्पनीहरूले पुँजी वृद्धिको योजना पेश गरेका हुन् ।

तर, समितिले बीमा कम्पनीहरूलाई भने हकप्रद सेयर जारी गर्न रोक लगाएको छ ।

हकप्रद सेयर जारी गर्न रोक लगाए पनि अधिकांश बीमा कम्पनीहरूले बोनससँगै हकप्रद जारी गर्ने योजना अघि सारेको समितिका अधिकारीहरू बताउँछन् ।

एक वर्षको अवधिमा दोब्बरभन्दा बढीले पुँजी बढाउनका लागि बोनस सेयर र हकप्रद नै उत्तम विकल्प भएको बीमकहरूको भनाइ छ । चुक्ता पुँजी बढाउन दिइएको समय कम भएको कम्पनीका सीइओहरूको भनाइ छ ।

तोकिएको समयमा साढे दुई गुणाले पुँजी वृद्धिका लागि कम्पनीहरूसँग बोनस सेयर र हकप्रद बाहेक अन्य विकल्प नभएको बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूको भनाइ छ ।

‘कुनै पनि कम्पनीहरूले बोनसबाट मात्रै तोकिएको समयमा पुँजी पु्र्याउन सक्दैनन्,’ जीवन बीमा कम्पनीका एक सीईओले क्लिमाण्डूसँग भने, ‘कम्पनीहरुलाई पुँजी वृद्धिका लागि बोनस बाहेक अर्को विकल्प हकप्रद नै हो ।’

बीमा समितिले गत चैत १० गते बीमा कम्पनीहरूलाई चुक्ता पुँजी बढाउन निर्देशन दिएको थियो । हाल जीवन बीमा कम्पनीको चुक्ता पुँजी न्यूनतम २ अर्ब र निर्जीवन बीमा कम्पनीको १ अर्ब रुपैयाँ हुनुपर्ने प्रावधान छ ।

समितिको नयाँ निर्देशनबमोजिम आगामी चैत मसान्तभित्र जीवन बीमा कम्पनीको ५ अर्ब र निर्जीवन बीमा कम्पनीको २ अर्ब ५० करोड रुपैयाँ चुक्ता पुँजी हुनुपर्छ ।

समितिले सो बमोजिमको चुक्ता पुँजी कायम गर्न ३० दिनभित्र पुँजी वृद्धिको योजना पेश गर्न निर्देशन दिएको थियो ।

पुँजी वृद्धिको योजना बुझाउने अन्तिम दिन आइतबारसम्ममा २४ कम्पनीले योजना पेश गरेको समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बताए ।

जसअनुसार सञ्चालनमा रहेका ३९ बीमा कम्पनीमध्ये २४ कम्पनीले चुक्ता पुँजी वृद्धिको योजना बुझाएका छन् ।

१२ जीवन बीमा कम्पनी र १३ निर्जीवन बीमा कम्पनीले नियामक निकायमा पुँजी वृद्धिको योजना पेश गरेका हुन् ।

समितिको प्राथमिकता मर्जर
बीमा समितिले बीमा बजारमा जोखिम बढ्दै गएको तर जोखिम अनुसार कम्पनीहरूको जोखिम बहन क्षमता भने कम भएको भन्दै पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो ।

बीमा कम्पनीहरूको चुक्ता पुँजी वृद्धि गरी समग्रमा नेटवर्थ बढाई सोहीअनुरूप कम्पनीहरूको जोखिम बहन क्षमता बढाउन, कम्पनीहरूलाई एक अर्कामा गाभ्ने, गाभिने अनुकुल वातावरण सिर्जना गर्ने समितिको उद्देश्य छ ।

कम्पनीहरूको ठूलो पुँजी भएमा सेवाको लागत कम भई बीमाको पहुँच विस्तार गर्न र पुँजी कायम गरी कम्पनीहरूबीच स्वस्थ्य प्रतिस्पर्धाको वातावरण तयार गर्ने समितिले निर्णय गरेको थियो ।

पुँजी वृद्धि गरेर बीमा कम्पनीहरूको संख्या घटाउने रणनीति समितिले लिएको छ ।

बीमा कम्पनीको संख्या घटाउन समितिले मर्जरको बाटो रोजिने बताएको छ ।

समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजुरमण पौडेलले समिति बीमा कम्पनीहरूको संख्या घटाउने पक्षमा समिति रहेको बताए ।

समितिले बीमा कम्पनीहरूलाई एक महिनाको समय दिएर पुँजी वृद्धिको योजना पेश गर्न भनेको थियो । समितिको उद्देश्य बीमा कम्पनीहरूको संख्या घटाउनु रहेको पौडेलको भनाइ छ ।

‘हाम्रो प्राथमिकता भनेको कम्पनीहरू जोखिमसँगै सक्षम हुनुपर्छ भन्ने हो । जसका लागि कम्पनीहरूको पुँजी वृद्धि गर्न आवश्यक छ,’ पौडेलले थपे,‘ हाम्रो पहिलो प्राथमिकता भनेको बीमा कम्पनीको संख्या घटाउने हो र कम्पनीहरूको पुँजी वृद्धि गर्ने हो ।’

समितिले कम्पनीहरूलाई हकप्रद सेयर जारी गर्न रोक लगाएको छ । सो बमोजिम कम्पनीहरूले बोनस सेयरबाटै पुँजी पुर्याउनु पर्छ । बोनस सेयरबाट पुँजी नपुग्ने कम्पनीलाई भने मर्जरमा लगिने उनको भनाइ छ ।

तर, बीमा समितिले सबै कम्पनीहरुको पुँजी वृद्धि योजनालाई अध्ययन गरेपछि नीति बनाईने र त्यसपछि मात्रै पुँजी वृद्धिको विषयमा आधिकारीक निर्णय गरिने उनको भनाइ छ ।

‘सबै कम्पनीको पुँजी वृद्धि योजना हेरेपछि मात्रै कुन मोडलबाट अगाडि बढ्ने भन्ने निर्ण हुने छ,’ उनले भने ।

मर्जर नै गराउने भए अध्ययन पश्चात मात्रै कसरी गराउने भन्ने निर्णयमा पुगिने उनले बताए ।

तोकिएको समयमा निर्धारित पुँजी पुर्याउन नसके कम्पनीहरुले ‘बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६’ बमोजिम हुनेगरी पुँजी कायम गर्नुपर्ने समितिको भनाइ छ ।

स्वैच्छिक रूपमा मर्जरका लागि कुनै पनि कम्पनी अगाडि नबढेपछि समितिले बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६ लाई संशोधन गर्दै विभिन्न खालका छुट तथा सुविधा समेत थप गरेको छ ।

विभिन्न खालका छुट तथा सुविधा थप गर्दा पनि बीमा कम्पनीहरू मर्जरका लागि इच्छुक नदेखिए पछि समितिले कम्पनीहरूलाई मर्जरमा जान अप्रत्यक्ष दबाब दिन पुँजी वृद्धिको योजना अघि बढाएको देखिन्छ ।

मर्जरका लागि कुनै पनि कम्पनी अगाडि नबढेपछि समितिले नयाँ विकल्पका रूपमा पुँजी वृद्धि योजना ल्याएको बुझिन्छ ।

हकप्रद सेयर जारी नगरी एक वर्षभित्र दुई गुणाभन्दा बढीले पुँजी बढाउन नसकिने बीमकहरूको भनाइ छ ।

बोनस सेयर दिएर मात्रै सबै बीमा कम्पनीहरूले तोकिएको पुँजी पु्रयाउन सक्ने अवस्था देखिदैन । जसअनुसार बोनस सेयरबाट पुँजी पुर्याउन नसक्ने कम्पनीहरु मर्जरमा जान बाध्य हुनेछन् ।

समितिले बीमा कम्पनीहरूलाई एक वर्षभित्र पुँजी वृद्धि गर्न निर्देशन दिएको छ । मर्जरको बाटो रोजेर कम्पनीहरूको पुँजी वृद्धि गर्ने रणनीति लिएपनि पनि एक वर्षमा मर्जर सम्भव नहुने बीमकहरू बताउँछन् ।

समितिले मर्जरको बाटो रोज्ने हो भने समय थप गर्नुपर्ने देखिन्छ । एक वर्षको अवधिमा बीमा कम्पनीहरूले सैद्धान्तिक समझदारी मात्रै गर्न सक्नेछन् । सो बमोजिम मर्जरमा जानका लागि समितिले एक वर्षको लागि समय थप गर्नुपर्ने देखिन्छ ।

समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको निर्णय बमोजिम बीमा कम्पनीहरूले स्वस्फूर्त रूपमा मर्जरमा गएर भए पनि चुक्ता पुँजी वृद्धि गर्नुपर्ने बताउँदै आएका छन् ।

पुँजी वृद्धि गर्न नसके एक वर्षपछि फोर्स मर्जरमा जानुपर्ने अवस्था आउने उनको भनाइ छ ।

योजना पेश नगरेका १३ कम्पनी कारबाहीमा
३९ बीमा कम्पनीमध्ये २५ कम्पनीले मात्रै तोकिएको समयमा पुँजी वृद्धिको योजना पेश गरेका छन् । जीवन बीमा कम्पनीतर्फ नेपाल लाइफको भने नियामकको नयाँ निर्देशनअनुसार चुक्ता पुँजी पुगेको छ ।

तोकिएको समयमा पुँजी वृद्धिको योजना नबुझाउने १३ कम्पनीलाई ऐन बमोजिम कारबाही गरिने समितिले बताएको छ ।

६ जीवन बीमा कम्पनी र ८ निर्जीवन बीमा कम्पनीले तोकिएको समयमा पुँजी वृद्धिको योजना बुझाउन नसकेका हुन् ।

१९ जीवन बीमा कम्पनीमध्ये १२ र २० निर्जीवन बीमा कम्पनीमध्ये १३ वटा कम्पनीले पुँजी वृद्धिको योजना पेश गरेका हुन् ।

समितिका अनुसार जीवन बीमा कम्पनीतर्फ सूर्या लाइफ इन्स्योरेन्स, एशियन लाइफ, नेशनल लाइफ, महालक्ष्मी लाइफ, गुराँस लाइफ, मेट लाइफ, लाइफ इन्स्योरेन्स कर्पोरेसन, सानिमा लाइफ, सिटिजन्स लाइफ, रिलायन्स लाइफ, सन नेपाल लाइफ र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धि योजना बुझाएका छन् ।

निर्जीवन बीमा कम्पनीतर्फ सानिमा जनरल इन्स्योरेन्स, आइएमई जनरल, एभरेष्ट इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, नेको इन्स्योेरेन्स, लुम्बिनी जनरल, शिखर इन्स्योरेन्स, नेपाल इन्स्योरेन्स, सगरमाथा इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, जनरल इन्स्योेरेन्स र यूनाइटेड इन्स्योरेन्स कम्पनीले पुँजी वृद्धिको योजना पेश गरेको समितिले बताएको छ ।

जीवन बीमा कम्पनीतर्फ राष्ट्रिय बीमा संस्थान, प्राइम लाइफ, यूनियन लाइफ, ज्योति लाइफ, रिलायबल नेपाल लाइफ र प्रभु लाइफले भने पुँजी वृद्धिको योजना पेश गरेका छैनन् ।

यस्तै, निर्जिीवन बीमा कम्पनीतर्फ दि ओरियण्टल, नेशनल, हिमालयन जनरल, प्रिमियर इन्स्योरेन्स, एनएलजी, सिद्धार्थ इन्स्योरेन्स र राष्ट्रिय बीमा कम्पनीले पुँजी वृद्धिको योजना पेश गरेका छैनन् ।


क्लिकमान्डु