क्यान इन्फोटेकमा १ रुपैयाँमै प्रवेश



काठमाडौं । वैशाख ७ देखि १२ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने आइएमई पे क्यान इन्फोटेक–२०२२ को तयारी अन्तिम चरणमा पुगेको छ ।

६ दिनसम्म संचालन हुने मेलाको मुख्य प्रायोजक आइएमई ग्रुपद्वारा सञ्चालित डिजिटल वालेट आइएमई पे रहेको छ ।
विगतमा सबै प्रदेशमा आयोजना हुने प्रदर्शनी यो पटक काठमाडौंमा मात्र हुने भएको हो । विगत वर्षहरूमा आयोजना हुन नसकेका कारण पनि यो पटक सम्बन्धित सरोकारवालाहरूमा प्रदर्शनीप्रति उत्साह देखिएको छ ।

आयोजनाले कोभिड–१९ का कारण प्रभावित सम्पूर्ण सूचना तथा सञ्चार प्रविधि व्यवसायी तथा सम्बन्धित पक्षहरूलाई राहत तथा सहयोग पुग्ने अपेक्षा क्यान महासंघले लिएको जनाएको छ ।

प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरूका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धि कम्पनी एवम् उत्पादनहरूको सहभागिता रहनेछ । फिन्टेक खण्डमा नेपालमा रहेका बैंक तथा वित्तीय एवम् सम्बन्धित संस्थाहरूको सुचना तथा संचार प्रविधिको प्रयोगले प्रवाह हुने सेवा तथा यस सम्बन्धि उत्पादनहरू रहने छन् ।

स्टार्टअप र इन्नोभेशन खण्डमा २६ वटा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रडक्टहरू र आइडियाको प्रदर्शनी गर्ने छन् ।

इन्नोभेशनका निम्ति क्यान महासंघ नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति क्यान महासंघले सार्वजनिक सुचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागि हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनौट गरिसकिएको जारी विज्ञप्तिमा उल्लेख छ ।

सुचना तथा संचार प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूको प्रवद्र्धन गर्ने आफ्नो योजनानुरुप क्यान महासंघले स्टार्टअप र इन्नोभेशनलाई बिशेष प्राथमिकतामा राखेको हो ।

क्यान इन्फोटेक २०२२ मा विभिन्न खण्डहरू जस्तैः ब्राण्डिङ, फिन्टेक, स्टार्टअप र इन्नोभेशन, आइसिटी एक्सेसरिज तथा प्रडक्ट लञ्चिङ र इ–गभर्नेन्स मुख्य हुनेछन् ।

अघिल्लो पटक करिब साढे ३ लाखले अवलोकन गरेको क्यान इन्फोटेकको यो संस्करणमा सो भन्दा बढी संख्यामा अवलोकनकर्ता आउने अपेक्षा आयोजकको रहेको छ । यस पटकको इन्फोटेक पेपरलेस एवम् क्यासलेस प्रवेश टिकटको व्यवस्था गरिने आयोजकले जनाएको छ । जसमा प्रवेश शुल्क जम्मा १ मात्र तोकिएको छ भने उक्त प्रवेश टिकटलाई आइएमई पेले व्यवस्थापन गर्ने भएको छ ।


क्लिकमान्डु